डुडुवा (बाँके)/ कानून तथा न्यायिक प्रक्रियाका बारेमा उच्च अदालत नेपालगन्ज इजलासका विभिन्न सेवा सुविधाका बारेमा जानकारी गराइएको छ । डुडुवा गाउँपालिकामा न्यायमा बाह्य पहुँच कार्यक्रम अन्र्तगत शुक्रबार न्यायिक संवाद कार्यक्रम गरिएको हो ।
न्याययिक टोलीले अदालतको सेवा सुविधा, प्रक्रियाबारे जानकारी गराउँदै न्यायप्रति जनताका गुनासा संकलन गरेको छ । कार्यक्रममा अदालतले दिने सेवा सुविधा, प्रक्रिया, नागरिक पहुँच, उपलब्ध सेवा सुविधाप्रतिको सन्तुष्टि–असन्तुष्टी, नागरिक वडापत्र अनुसार काम भए नभएको, सेवा प्रवाह लगायतका विषयमा स्थानीय नागरिकसँग अन्तरक्रिया गरिएको थियो ।
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशका वरिष्टतम न्यायाधीश बिष्णुदेव पौडेलले अदालतमा न्याय सम्पादन गर्दा विभिन्न जटिलता आएको भन्दै झगडिया पक्षहरु विभिन्न प्रकृतिका हुने भएकाले न्यायिक फैसलामा बाधा पुरयाउने काम पनि हुने गरेको बताए ।
उनले न्यायधिसलाई कार्यसम्पादन गर्न सबैको भुमिका महत्वपुर्ण भएकाले मुद्दाको मिसिल तयार गर्दा घटना विवरण उल्लेख गर्नुपर्नेमा जोड दिए । अदालतका न्यायधिस प्रेमराज कार्कीले अदालतले निष्पक्ष सेवा दिने भन्दै उनले दलालबाट बचेर काम गर्न आग्रह गर्दै सार्वजनिक सवाललाई अदालतीकरण गरेर सामाजिक हितका लागि अग्रसर हुन नागरिकलाई अनुरोध गरे ।
गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले गाउँमै आएर अदालती सेवा सुविधा र न्यायिक प्रक्रियाबारे स्थानीयलाई जानकारी गराउनु प्रशंसनीय कार्य भएको बताउदै अदालतसम्म स्थानीयको पहुँच बढाउन चेतनास्तर बढ्नुपर्ने र त्यसका लागि शिक्षा आवश्यक रहेकोमा जोड दिए ।
त्यस अवसरमा त्यहाका स्थानीयहरुले न्यायधिससमक्ष अदालतमा अनावश्यक दुःख पाउने गरेको, कानून व्यवसायीहरु महँगा भएको, सहज पहुँच नभएको, विचौलिया वा दलालहरुले सताउने गरेको, समयमै न्याय निसाफ नहुने गरेको, आदेश पालना वा कार्यान्वयनमा समस्या हुने गरेको गुनासो गरेका थिए ।
सो कार्यक्रममा अदालतका निमित्त रजिस्टार हिरण्य प्रसाद भण्डारी, गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक साहिदा बानो, उच्च अदालत बार एशोसिएसन नेपालगञ्जका अध्यक्ष विकास आचार्य, कानून पत्रकार समाज बाँकेका सचिव वसन्त गौतम, प्रमुख प्रशासकिय अधिकृत लोकेन्द्र ज्ञवाली लगायतले न्यायिक प्रक्रियाबारे आफ्नो धारणा राखेका थिए ।









प्रतिक्रिया दिनुहोस्