खजुराको गुरुयोजना बन्दै



खजुरा, (बाँके)/   खजुरा गाउँपालिकाले भिलेज प्रोफाइल र गुरुयोजनाका लागि तयारी अगाडि बढाएको छ । विकास सूचकका लागि पाश्र्वचित्र र गुरुयोजना बनाउन लागिएको हो । चालू आर्थिक वर्षमै यी दुबै काम सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइएको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले बताए ।

भिलेज प्रोफाइल र गुरुयोजनाका लागिसोमबार परामर्शदाता तथा विज्ञ समूह र गाउँपालिका टीम बीच बृहत छलफल भएको छ । परामर्शदाता डा. सुनिल आचार्य, डा. गोकर्ण ज्ञावली, शहरी विकास विद् दीपक श्रेष्ठ, अर्थविद् हुमलाल भण्डारीले भिलेज प्रोफाइल र गुरुयोजनाका लागि आधारपत्र प्रस्ततु गरे ।

वडामा गणक छनौट गरेर तालिम पश्चात एकैसाथ ८ वटा वडामै पाश्र्व चित्रको काम अगाडि बढाइने खजुरा गाउँपालिका योजना प्रमुख दिलबहादुर पौडेलले जानकारी दिए । यस्तै सोमबार नै बसेको गाउँ कार्यपालिकाको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।

गाउँपालिका प्रमुख कक्षपतिको अध्यक्षतामा बसेको बैठकले वडा नं. ५,६,७ र ८ लाई लक्षित गरी प्राविधिक शिक्षालय स्थापना गर्ने, उक्त कार्यका लागि गाउँपालिकाले विनियोजन गरेको १० लाख र वडाहरुमा सवारी साधन खरिद गर्न छुट्याइएको ३० लाख रुपैयाँ सवारी साधन खरिद नगरेर शिक्षालय निर्माणमा खर्चिने निर्णय गरेको छ । प्राविधिक शिक्षालय वडा नं. ५ मा रहने निर्णय गरिएको छ ।

त्यस्तै शीत भण्डारका लागि प्रदेशले छुट्याएको ५ करोड र थप ५ करोडको लागि पहल गर्ने गरी वडा नं. ५ मै शीतभण्डारको काम अगाडि बढाइने, छाडा चौपाया नियन्त्रणका लागि कार्यविधि बनाएर पेश गर्ने, तराई मधेश समृद्धि योजना तयार गर्ने, प्रदेश तथा केन्द्रबाट संचालित कार्यक्रमका लागि योजना बनाउने, सडक बोर्डबाट विनियोजित रकमको कार्यक्रम बनाउने र २ वटा नमूना मावि जनता र ज्ञनोदयको गुरुयोजना स्वीकृत लगायतका निर्णय गरिएको अध्यक्ष कक्षपतिले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर ५ गते बुधबार