कोहलपुर/ कोहलपुर नगरपालिकालाई परदर्शी बनाउन छिटो भन्दा छिटो सार्वजनिक लेखा समिती गठन गर्न काँग्रेसबाट निर्वाचित जन प्रतिनिधिहरुले माग गरेका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी थारुसहित, वडा नं. ७ का वडा अध्यक्ष दिपक जंग शाह, १० का अध्यक्ष निम बहादुर चलाउने, १४ का अध्यक्ष टेकचन हरिजन लगायत नेपाली काँग्रेसबाट प्रनिनिधित्व गर्ने जन प्रतिनिधीहरुले यस्तो माग गरेका हुन् ।
उपप्रमुख थारुले नगरपालिका भित्र थुप्रै कार्यहरु अपारदर्शी भएको आरोप समेत लगाएकी छन् । त्यसको विरोध स्वरुप आफूहरुले शुक्रवारको कार्यपालिका बैठक बहिस्कार गर्दै नोट अफ डिसेन्ट लेखेको बताइन् । साथै सार्वजनिक लेखा समिती गठन नहुँदासम्म आफुहरु नगर कार्यपालिकाका कुनै पनि बैठकमा सहभागी नहुने बताइन् ।
यस्तै वडा नं. १० का अध्यक्ष चलाउनेले नगर प्रमुखले अंश र वंशका आधारमा कोहलपुर नगरपालिकालाई चलाउन खोजेको आरोप लगाए । त्यसका विरुद्ध आफुहरु सशक्त प्रतिपक्षको भुमिकामा उभिने चेतावनी समेत दिए । साथै अध्यक्ष चलाउनेले आगामी दिनमा आफुहरुले आफ्नै श्रोतबाट प्रेस सल्लाहकार र कानुनी सल्लाहकार चयन गर्ने पनि बताए । नेपाली काँग्रेसलाई बाहिर राखेर कोहलपुरको विकास र समृद्धिको सपना पुरा नहुने उनको भनाइ थियो ।
वडा नंं. ७ का अध्यक्ष दिपक जंग शाहले पनि नगरपालिको भित्र हदैसम्म आर्थिक अनियमितता रहेको दाबि गरे । उता कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले निर्देशिका नबनेकाले लेखा समिती गठन हुन नसकेको बताउँदै छिट्टै सार्वजनिक लेखा समिती गठन गरिने बताए ।









प्रतिक्रिया दिनुहोस्