दाङ/ प्रदेश नं ५ मा दशैँ तिहारको समयमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिनुभएको जानकारीअनुसार ती सवारी दुर्घटनामा परी ६६२ घाइते भएका छन् ।
घाइतेमध्ये केही उपचारपछि घर फर्किसकेका र केही भने विभिन्न अस्पतालमा उपचाररत् छन् । दशैँ तथा तिहारलाई लक्षित गरेर प्रदेश न. ५ का १२ वटै जिल्लामा प्रहरीले उच्च सुरक्षा सतर्कतासमेत अपनाएको थियो ।
यसरी सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा २६४ मोटरसाइकल, ५२ जीपकार, २१ बस, १७ ट्र्याक्टर, १२ ट्रक, ट्र्याङ्कर, पाँच माइक्रो, चार टिपर, चार टेम्पो, ३१ रिक्सा र अन्य गरी ४५४ छन् । सबैभन्दा बढी सवारी दुर्घटना बाँके जिल्लामा भएको थियो । त्यसैगरी दोस्रोमा रुपन्देही र तेस्रोमा दाङ रहेको छ ।
सो अवधिमा नियम विपरित सवारी साधन चलाउने १७ हजार ३६२ चालकलाई कारवाही गर्दा रु एक करोड १० लाख सात हजार राजश्व सङ्कलन भएको पनि प्रवक्ता मल्लले जानकारी दिए ।
त्यसैगरी सो अवधिमा ५ न. प्रदेशमा भन्सार छली गरी अवैध सामान ओसारपसार गर्ने १७ मानिस र चारवटा सवारी साधनलाई पक्राउ गरी रु ३१ लाख ६० हजार १८१ भन्सारमा दाखिला गरेको पनि मल्लले जानकारी दिए । -सरारा









प्रतिक्रिया दिनुहोस्