मेलमिलापकर्तालाई तालीम



खजुरा, बाँके/  बाँकेको खजुरा गाउँपालिका क्षेत्रभित्र रहेका मेलमिलापकर्तालाई लामो अवधिको आधारभूत प्रशिक्षणका लागि छनोट गरिएको छ । छनोटमा परेका २७ जना मेलमिलापकर्ताका लागि न्यायिक समितिलाई सहयोग पुग्ने गरी तालीम सञ्चालन गरिएको छ ।

अधिवक्ता भानुभक्त रिजाल र राधेश्याम थारुले उनीहरुलाई प्रशिक्षण दिइरहनुभएको छ । फौज्दारी मुद्दाबाहेक अन्य मुद्दा गाउँमै समाधान गर्ने उद्देश्यले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले व्यवस्था गरेअनुरुप नै मेलमिलापकर्तालाई तालीम दिन लागिएको न्यायिक समिति संयोजक उपप्रमुख एकमाया विकले बताउनुभयो ।

तालीममा सहभागीले दैनिक नौ घण्टा अनिवार्यरुपमा तालीम लिनुपर्ने र उनीहरुलाई विवाद समाधानका लागि अवलम्बन गर्नुपर्ने सबै किसिमको प्रक्रिया सिकाइने उपप्रमुख विकले जानकारी दिनुभयो ।

तालीमपछि खजुरा गाउँपालिकामा मेलमिलाप केन्द्र स्थापना गरेर मेलमिलापकर्तामार्फत ११ प्रकारका विवाद समाधानको प्रयत्न गरिने बताइएको छ ।

तालीम शुभारम्भका अवसरमा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले स्थानीय सरकार सञ्चालन ऐनले नै मेलमिलापकर्तालाई स्वायत्तता दिएको भन्दै वडाको न्यायाधीशका रुपमा कुनै पूर्वाग्रह नराखेर निष्पक्ष ढङ्गबाट विवाद समाधान गर्ने विश्वास व्यक्त गरे ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक २८ गते बुधबार