बर्दिया/ मदिरा सेवन, लागु पदार्थ दुव्यसनी र महिला हिंसा न्युनिकरणका लागि बढैयाताल गाँउपालिका सक्रिय रुपमा लागेको छ । बढैयाताल गाँउपालिका भित्र हुने मदिरा सेवन, लागुपदार्थ दुव्र्यसनी र महिला हिंसा लगायतका सामाजिक विकृति न्युनिकरणका लागि गाँउपालिकाले सरोकार निकाय, राजनितिक दल, सचेत नागरिक, स्थानीयहरुसँग अन्तक्रिया, अभिमुखीकरण, सचेतना मुलक कार्यक्रम तथा छलफललाई तिव्र पारिएको छ ।
सोही कार्यक्रम अनुसार बुधबार वडा नम्बर ४ मा अन्तरक्रिया गरिएको छ । बढैयाताल गाँउपालिका वडा नं. ४ को आयोजना तथा इलाका प्रहरी कार्यालय मैनापोखरको समन्वयमा भएको कार्यक्रममा बोल्दै वडा नं. ४ का वडा अध्यक्ष कर्ण बहादुर थापाले जाँड राक्सी जुवा तास तथा बालबालिका सम्बन्धी हुने जघन्य अपराध बढिरहेको भन्दै यसलाई रोक्न सबै लाग्नु पर्नेमा जोड दिए ।
त्यस्तै इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले मदिरा सेवन, महिला हिंसा, सुर्तिजन्य पदार्थ, मादक पदार्थ बढैयाताल गाँउपालिकाबाट निषेध गर्नको लागि तिहार र छठ पर्वसम्म व्यापक प्रचार प्रसार गर्ने बताए ।
प्रचार प्रसारबाट सचेत गराएपछि पनि नरोकिए कानुनी कारबाहीको दायरामा ल्याउने प्रहरी निरीक्षक वलीको भनाइ थियो । समाजमा एक जना महिलाले रक्सी बेचेर जिवीकोपार्जन गरिरहे पनि मदिरा सेवनबाट १० जना महिलाको घरबार बिग्रिरहेकोले मदिरा बेचबिखन भन्दा अन्य व्यापार व्यवसायतर्फ लाग्नु पर्ने प्रहरी निरीक्षक वलीले बताए ।
कार्यक्रममा म महिला हिंसा गर्दिन, म महिला हिंसा अरुलाई पनि गर्न दिन्न, म महिला हिंसासम्बन्धी १० जनालाई सिकाउँछु भनी सहभागीहरुले प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा वडा अध्यक्ष कर्ण बहादुर थापा, ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण वली, साहायक प्रहरी निरीक्षक बसन्त कुमार बस्नेत, वडा सदस्यहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक, युवा, महिला, बालबालिका पत्रकार लगायतको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्