नेपालगन्ज/ बाँके जिल्लामा संचालन भई रहेका एम्बुलेन्सका चालकहरुलाई ४ दिने प्राथमिक उपचार तालिम दिएको छ ।
नेपाल रेडक्रस सोसाइटीद्वारा बाँके जिल्लामा संचालित हब हस्पीटल कार्यक्रमको आयोजनामा उक्त तालिम आज शुक्रवार नेपालगन्जमा सम्पन्न भएको छ ।
तालिमको समापन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले चालकहरुले यस्तो तालिम लिनु अनिवार्य भएको बताउदै रेडक्रसको मानवीय कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले एम्बुलेन्स संचालन नीतिगत व्यवस्थाको बारेमा चर्चा गरेका थिए । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले जिल्लामा संचालित सबै एम्बुलेन्स चालकहरुलाई तालिम दिने योजना रहेको जानकारी गराए ।
तालिममा प्राथमिक उपचारका सिद्धान्त, घाइतेको जाँच, बेहोसी, रक्तश्राव, हाड भँचाइ, घाउचोट पटक, पट्टीको प्रयोग, ट्रियाज, घाइतेको ओसार पसार लगायत विषयमा सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यास गराइएको थियो ।
तालिममा एम्बुलेन्स चालक, ट्राफिक प्रहरी, गाउँपालिकाका प्रतिनिधि, बरुण यन्त्रका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख प्रेम के.सी., नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, राप्तीसोनारी गाँउपालिका ६ नं. वडाका वडा अध्यक्ष जनकबहादुर थारु लगायतले विचार राखेका थिए ।
तालिमको संयोजकमा रेडक्रस बाँकेका कार्यालय प्रमुख निरञ्जना मल्ल, सहजकर्ताहरुमा सरिता सिंह, झवीलाल शर्मा, प्रहलाद विश्वकर्मा र गौरीलाल बुढाथोकी रहेका थिए । कार्यक्रमको व्यवस्थापन तथा संचालन कार्यक्रम अधिकृत तारा बुढाथोकीले गरेकी थिइन् ।









प्रतिक्रिया दिनुहोस्