बर्दिया/ खेलकुद क्षेत्रमा महिलाको सहभागिता बढाउनु पर्नेमा सरोकारवालहरुले जोड दिएका छन् ।
महिला हिंसा बिरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प भन्ने मुल नाराका साथ जिल्लाको भुरीगाउँमा आयोजना गरिएको राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रम सरोकारवालाहरुले महिला हिंसा न्युनिकरण गर्न र स्वस्थ जीवनयापन गर्न महिला तथा किशोरीहरु खेलकुदमा सहभागी हुनु पर्नेमा जोड दिएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद आयोजना तथा जिल्ला खेलकुद विकास समितिको संयोजनमा मंगलबार भएको कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले पढाई सँगसँगै खेलकुदमा पनि महिलाहरु सक्रिय रुपमा लाग्नु पर्ने बताए । नगरप्रमुख श्रेष्ठले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भएकाले खेल क्षेत्र सबै कार्यका लागि महत्वपूर्ण रहेको बताए ।
खेलकुद विकास समिति बर्दियाकाअध्यक्ष खगेन्द्रप्रसाद खनालले खेलकुदमा सहभागी भएर धेरै महिलाहरुले नेपाललाई पदक दिलाएको स्मरण गर्दै खेल क्षेत्रमा धेरै भन्दा धेरै महिलालाई सहभागीता गराउनु अपरिहार्य रहेको बताए ।
महिला हिंसालाई खेलकुदसँग जोडने काम राष्ट्रिय स्तरबाट जोडिएको यो पहिलो पटक रहेको अध्यक्ष खनालले बताए । महिला हिंसा अन्त्य गर्न र सम्वृद्ध नेपाल निमार्ण गर्न खेलकुद क्षेत्रमा महिलाको सहभागिता अनिवार्य रहेको अध्यक्ष खनालले बताए ।
बग्नाहा स्रोतकेन्द्रका स्रोतव्यक्ति नन्दराम खनालले महिला हिंसा न्युनिकरण गर्न स्वस्थ जीवनयापन गर्न विद्यालय उमेरका किशोरीहरु खेलकुदमा सहभागी हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका ७ वटा विद्यालयका कक्षा ८ देखि १० कक्षासम्म अध्ययनरत् १ सय १५ किशोरीहरुलाई खेलकुदमा सहभागिताका लागि प्रशिक्षण दिइएको थियो ।
समाजमा महिला हिंसाका घटनाहरु बढ्दो क्रममा रहेकाले विद्यालय तहमा अध्ययनरत छात्राहरुलाई आत्म सुरक्षाका लागी अपनाउनु पर्ने उपायहरुका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए ।
कार्यक्रममा छात्राहरुको निकै उत्साहपूर्ण सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रम अत्यन्तै उपलब्धीमूलक हुनका साथै यसबाट आफनो आत्मबल समेत बढेको कार्यक्रममा सहभागी छात्रा इन्द्रा जैशीले बताइन् ।









प्रतिक्रिया दिनुहोस्