डुडुवा गाउँपालिकाका वडाअध्यक्षद्धारा गाउँसभा बहिष्कार



नेपालगन्ज/  गाउँपालिका प्रमुखले मनोमानी बजेट खर्च, योजना छनोट, उपभोक्ता समिति गठन र सवारी साधनको प्रयोग गरेको भन्दै डुडुवा गाउँपालिकाका वडा अध्यक्षले तेस्रो गाउँ सभा बहिष्कार गरेका छन् । गाउँपालिकाको ६ वडामध्ये वडा नम्बर ३, ४ र ६ वडाका अध्यक्ष तथा सदस्यहरुले गाउँसभा बहिष्कार गरेका हुन् ।

आर्थिक खर्च विवरण पारदर्शीता नभएको, ईन्धनको अनियमित खर्च, पार्टी निकटका व्यक्ति उपभोक्ता समिति निर्माण, आफूखुशी करार कर्मचारी नियुक्ती, गाउँपालिकाका मोटरसाईकलदेखि स्काभेटेर, ट्याक्टर, टिप्परको दुरुपयोग भएको आवाज उठाउँदा सुनुवाई नगरि एक्लौटी रुपमा काम गरेको भन्दै उनीहरुले बहिष्कार गरेको जनाएका छन् ।

वडा नम्बर ३ का अध्यक्ष भण्डारीलाल यादवले चालू बर्षको २८ करोड बजेटको योजना र खर्च वडाअध्यक्षलाई जानकारी गाउँसभा अगाडी मागेपनि उपलब्ध नगराएर विना पत्रचार गाउँसभा आयोजना गरिएकोले बहिष्कार गरिएको बताए । आफूहरुले गाउँपालिका अध्यक्षको कार्यशैलीको विरोध गर्दा एक्लौटी रुपमा काम गर्ने शैलीको विरोध स्वरुप बहिष्कार गरिएको भने ।

आफूहरुले २८ करोडको खर्च विवरण, ईन्धनको दुरुपयोग, लक्षित वर्गको बजेटको दुरुपयोग, वडास्तरका योजना काटेर मनपरी आफूले योजना बनाएर खर्च गरेको र मोटरसाईकल दुरुपयोग नरोक्दासम्म गाउँपालिकाका सबै कार्यक्रम बहिष्कार गर्ने जानकारी दिए ।

सोमबार गाउँ सभा हुँदै गर्दा ३ वडाका अध्यक्ष र सदस्य भने बहिष्कार गरेर बाहिर बसेका थिए । आफूहरुले उठाएका जायज माग पूरा नभए कानुनी सल्लाह गरि जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, प्रदेश र संघमा कानुनी उपचारमा जाने वडा नम्बर ६ का अध्यक्ष मोहनलाल मिश्रले बताए । असारभित्र वडा अध्यक्षका माग पूरा नभए साउन महिनादेखि कानुनी उपचार । कडा आन्दोलनका उत्रिने भने ।

यसैबीच सोमबार तेस्रो गाउँसभाले आर्थिक वर्ष ०७५÷०७६ को रु २४ करोड ५ लाख ७८ हजारको बजेट पारित गरेको छ । गाउँसभाले चालु, ससर्त, वित्तिय सामानीकरण र प्रदेश सरकारबाट प्राप्त कुल बजेट पारित गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विषयगत शिर्षकको बजेट प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत बजेटमाथी छलफल गरि सर्वसम्मत रुपमा बजेट पारित गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २६ गते मंगलबार