भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै, यस्तो छ तयारी



काठमाडाैं,२८ वैशाख/   प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ । मोदी नयाँ दिल्लीबाट विहारको राजधानी पटना हुँदै भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट बिहान सवा १० बजे जनकपुर आइपुग्ने कार्यक्रम छ ।

जनकपुरमा उहाँले जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नुहुनेछ भने ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा उहाँको अभिनन्दन एवं सम्बोधनको कार्यक्रम रहेको छ । विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत लगायत प्रदेशका मन्त्रीहरुले मोदीको स्वागत गर्नु हुनेछ ।

त्यसपछि त्यहाँबाट मोदी जानकी मन्दिर पुगेर विशेष पूजाअर्चना गर्नुहुने छ । पूजाअर्चनाको बेला एकसय एक साधुले एकैपटक शंखनाद गर्नेछन् । झण्डै ४५ मिनेट जानकी मन्दिरमा बिताउनु हुने मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गनेु हुनेछ भने दुवै प्रधानमन्त्रीको भेटवार्ता समेत हुने छ । त्यसक्रममा दुवै प्रधानमन्त्रीले रामायण सर्किटको संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम छ । सेनाको हेलिकप्टरबाट काठमाडौबाट जनकपुर पुग्ने प्रधानमन्त्री ओली जनकपुर चुरोट कारखानामा ओर्लेर समकक्षीलाई स्वागत गर्न त्यही समयमा पुग्नु हुनेछ ।

जानकी मन्दिरमा पूजापछि मोदी ऐतिहासिक रंगभूमि मैदानमा पुग्नु हुनेछ । त्यहाँ जनकपुर उपमहानगरपलिकाका मेयर लालकिशोर साहले नागरिक अभिनन्दन गर्नुहुने छ । नेपाली भाषामा तयार अभिनन्दन पत्र मेयर साहले मैथिली भाषामा पढेर मैथिली भाषामा अभिनन्दन गर्ने जनकपुर उपमहानगरपालिकाको तयारी छ । स्वागत एवं अभिनन्दन समारोहमा मोदीलाई १ सय २१ किलोको फूलको माला पनि पहिराएर स्वागत गर्ने योजना छ । नागरिक अभिनन्दनपछि मोदीले समारोहलाई सम्बोधन गर्नु हुनेछ । मोदीको भ्रमणका कारण आज प्रदेश नं. २ मा सार्वजनिक बिदा दिइएको छ ।

भारतीय प्रधानमन्त्री मोदी आजै काठमाडौं आउनुहुनेछ । काठमाडौं आएपछि उहाँलाई टुंडिखेलमा गार्डअफ अनर प्रदान गर्ने तयारी छ । उहाँले आजै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । काठमाडौंमा ओलीर मोदीले स्वीच थिचेर ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना शिलान्यास गर्नुहुनेछ ।

मोदी भोलि काठमाडौंबाट मुक्तिनाथ जाने कार्यक्रम छ । मुक्तिनाथमा पूजा गरेपछि उहाँले काठमाडौं फर्केर पशुपतिनाको मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । भोलि नै उहाँले राजनीतिक भेटवार्ता गर्नुहुनेछ भने काठमाडौं महानगरपालिकाको तर्फबाट उहाँलाई नागरिक अभिनन्दन गर्ने तयारी छ । भोलि दिउँसो ४ बजे मोदी भारतीय सेनाको विशेष विमानबाट नयाँ दिल्ली फर्कनुहुनेछ ।

भारतका कार्यकारी सरकार प्रमुखका रुपमा तेस्रो पटक हुन लागेको यो भ्रमणले आपसी आत्मीयता, मैत्री र शताब्दीऔँ पुरानो दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ । -ujuaaloonline

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २८ गते शुक्रबार