नेपालगन्ज,२३ चैत/ खजुरा गाउँपालिकाले लक्षितवर्ग कार्यक्रमको बजेट समानुपातिक ढंगले वितरण गरेको जनाएको छ ।
८ वटा वडा रहेको उक्त गाउँपालिकामा सबै वडामा एकरुपले लक्षित वर्गका लागि बजेट छुट्याइएको गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी दिए ।
गाउँपालिकाले विनियोजन गरेको लक्षितवर्ग कार्यक्रमको बजेट कार्यान्वयन समेत सुरु भएको छ । यसै क्रममा खजुरा गाउँपालिकाको सहयोगमा खजुरामा बिहीबारदेखि तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको छ । वडा नंं. ३ मा कालिका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा सिलाई कटाई प्रशिक्षण सुरु गरिएको हो ।
लक्षित वर्गका महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष कक्षपतिले तालिमबाट प्रतिफल र उपलव्धी हासिल हुनुपर्ने बताए ।
उनले हिजोका दिनमा गरिएका यस्ता खालका कार्यक्रमबाट उपलव्धी भयो, भएन समीक्षा हुँदै आएको छ, भन्दै अब लक्षित वर्गका नाममा सञ्चालित कार्यक्रम परिणाममुखी हुनु पर्नेमा जोड दिए ।
१० जना प्रशिक्षार्थी रहेको उक्त तीन महिने प्रशिक्षणमा अस्मिता शर्माले सहभागीलाई सिलाई कटाईका विविध पक्षको बारेमा प्रशिक्षण दिनेछिन् ।









प्रतिक्रिया दिनुहोस्