नेपालगन्जलाई आर्थिक राजधानीका रुपमा विकसित गरिने : पोखरेल



नेपालगञ्ज,२२ माघ/   नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश नं. ५ का सम्भावित मुख्यमन्त्री शंकर पोखरेलले नेपालगन्जलाई आर्थिक राजधानीका रुपमा विकसित गरिने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसको अवसरमा नेपालगन्जमा आयोजित कार्यक्रममा प्रदेश नं. ५ प्रदेशसभा संसदीय दलका नेतासमेत रहुनभएका पोखरेलले प्रदेश राजधानीका विषयमा भन्दा आर्थिक राजधानीका लागि अघि बढ्न सबैलाई आग्रह पनी गर्नुभयो ।

उहाँले नेपालगन्ज पश्चिम नेपालको केन्द्रविन्दु भएपनी प्रदेश राजधानी सम्भव नभएमा यहाँका राजनीतिक दल, उद्योगी व्यवसायी सबैले आर्थिक राजधानीका लागि आवाज उठाउन जरुरी रहेको बताउनुभयो ।

त्यसका लागि आफनो तर्फबाट पूर्ण सहयोग र समर्थन रहने समेत उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो । प्रदेशसभा सदस्य पोखरेलले आर्थिक समृद्धिका लागि परियोजनामा आधारित बहस जरुरी रहेको बताउँदै नेपालगन्जलाई मानसरोवरको ट्रान्जिटका रुपमा विकसित गरिनुपर्ने उल्लेख गर्नुभयो ।

नेपालगन्जले आर्थिक समृद्धिको यात्रालाई जोड्न सक्ने उल्लेख गर्दै उहाँले नेपालगन्जको विकास र योजनालाई जनतासँग जोड्नुपर्ने बताउनुभयो ।

उहाँले साँस्कृतिक र ऐतिहासिक विविधता रहेको प्रदेश ५ लाई आर्थिक समृद्धिको नमूना प्रदेशका रुपमा विकास गर्न नयाँ बन्ने प्रदेश सरकारले प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

हिमालदेखि तराईसम्म जोडिएको प्रदेशलाई आर्थिकरुपमा सम्पन्न बनाउनुपर्ने दायित्व हामीसँग आएको बताउँदै प्रदेशसभा सदस्य पोखरेलले जनताको दैनिकीलाई सहज बनाउन आर्थिक समृद्धि आफुहरुको पहीलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २२ गते सोमबार