सिक्किमलाई हराउँदै धरान आहा ! रारा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा



पोखरा,१० माघ/  धरान फुटबल क्लब पोखरामा जारी १६औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा भारतको सिक्किम युनाइटेडलाई ३–० को स्पस्ट अन्तरले हराउँदै धरानले अन्तिम आठमा ठाउँ पक्का गरेको हो ।

धरानले तीनओटै गोल मध्यान्तरपछि गरेको थियो । पोखरा रंगशालामा धरानलाई जिताउन रोमन लिम्बू, सुजन लिम्बू र धिरेन लिम्बूले एक/एक गोल गरे ।

रोमनले खेलको ६१औं, सुजनले ६३औं र धिरेनले ७३औं मिनेटमा गोल गरेका हुन् । खेलको ‘म्यान अफ द म्याच’ धरानका निशान लिम्बू घोषित भए ।

सिक्किमले पहिलो हाफमै गोल गर्ने तीनओटा अवसर खेरफालेको थियो । धरान नियन्त्रित दोस्रो हाफको खेलमा सिक्किमे खेलाडी थकित देखिएका थिए ।

प्रतियोगिताअन्तर्गत् बिहीबार संकटा फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफबीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लबले जनाएको छ ।

१२ टोली सहभागी प्रतियोगिताको विजेताले सात लाख एक हजार र उपविजेताले तीन लाख ५१ हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १० गते बुधबार