कोहलपुरमा दुःख निवारण यज्ञको शुभारम्भ



कोहलपुर,२ माघ/  कोहलपुरको गोलपार्कमा सोमबारदेखि ‘घर परिवारमा धन सम्पत्ति प्राप्तिका लागि’ दुःख निवारण महालक्ष्मी यज्ञ शुभारम्भ भएको छ । यज्ञको शुभारम्भमा यज्ञ स्थल गोलपार्कबाट शान्ति कलश सहितको शोभायात्राले कोहलपुर नगरको परिक्रम गरी पूनः गोलपार्क स्थित यज्ञ स्थलमा पुगी औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

दुःख निवारण महालक्ष्मी यज्ञको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि बाँके निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (ख) की सभाषद आरती पौडेलले गरेकी थिइन् । यज्ञको उद्घाटन गर्दै पौडेलले भनिन् ,–‘यस क्षेत्रको दुःख निवारण गर्ने पवित्र उद्देश्य राखेर गुरु गोविन्द शरण महाराजले यज्ञ लगाउन गर्नु भएको संकल्प प्रति नमन गर्दै यस यज्ञलाई पूर्णरुपमा सफल बनाउन आफ्नो र यस क्षेत्रका जनताको पैतिनिधिको तर्फबाट सधै सहयोग हुने प्रतिवद्धता व्यक्त गर्दछु ।’

यस्तै कार्यक्रमका विशिष्ठ अतिथि कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले यस यज्ञ प्रति विश्वास गर्दै आफ्नो जीवनका दुःख कष्ट निवारण गर्न यज्ञमा आई यज्ञ प्रतिको अनुष्ठा गर्न सबै नगरवासीहरुलाई आग्रह गरे ।

रावतले सनातन हिन्दु धर्म र मान्यताको आस्था र अनुष्ठाले मानिसलाई जीवनमा सत्मार्ग तिर नै डो¥याउने विश्वास व्यक्त गरे । उनले यस दुःख निवारण महालक्ष्मी यज्ञलाई सफल बनाउन सहयोग गरिरहेको र अझै पनि आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता समेत व्यक्त गरे ।

महालक्ष्मी यज्ञलाई सफल बनाउन कोहलपुर नगरपालिका–१२ चपरगौडीमा स्थापना गरिएको गुरुकुल विद्याश्रमका प्रमुख स्थापनाकर्ता गुरु हरि प्रसाद अर्याल , कोहलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्मा लगायतले दुःख निवारण महालक्ष्मी यज्ञको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कोहलपुरमा पहिलो पटक सञ्चालन भइरहेको यस दुःख निवारण महालक्ष्मी यज्ञका संकल्प कर्ता गुरु गोविन्द शरण महाराजले यस यज्ञले कोहलपुर क्षेत्रमा सवोबास गर्ने सम्पूर्ण मानव जातिको दुःख निवारण होस् भन्ने महालक्ष्मी मातासँग प्राथना गर्दै यज्ञ सञ्चालनको अवधिभर हुने विभन्न पूजा ,पाठ, आराधना , भक्ती आरती , पितृ पूजा , हमन, महालक्ष्मीको पूजा आदि कसरी र कुन कुन समयमा गरिने छ भन्ने बारेमा भक्तजनहरुलाई जानकारी पनि गराएका थिए ।

यज्ञ स्थलमा ,हवन कुण्ड,यज्ञ मण्डप,पाठ परायण मण्डप,पितृ मुक्ति मण्डप, गौशाला,लक्ष्यबत्ती,धनधान्याञ्चल पर्व लगायतका संरचना तयार भइसकेका छन । यज्ञ यही माघ ८ गते सम्म सञ्चालन हुने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २ गते मंगलबार