
मुगु ।
जिल्ला सदरमुकाम गमगढीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । छायाँनाथ रारा नगरपालिकाको आयोजनामा बुधबारदेखि अभियान सञ्चालन गरिएको हो । नगरपालिकाका कार्यवाहक नगरप्रमुख जुनबहादुर खड्काले अभियानको उद्घाटन गरेका हुुन् । अभियानमार्फत महिला तथा बालबालिकामाथि हुने विभिन्न प्रकारका हिंसा, विभेद र दुव्र्यवहार अन्त्य गर्न समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने तयारी छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पौडेलका अनुसार मंसिर ९ देखि २६ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका रहेको छ ।
अभियान अन्तर्गत नगरपालिकाका १४ वटै वडामा विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम आयोजना गरिने उनले बताए । जसमा विद्यालयस्तरमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिने छ भने वडास्तरमा देउडा कार्यक्रममार्फत लैङ्गिक हिंसाविरुद्धका सन्देश प्रवाह गरिने छ । स्थानीय कला, संस्कृति र परम्परालाई समेत जनचेतनाको माध्यम बनाउँदै महिला हिंसा न्यूनीकरणका लागि समुदायको सहभागिता बढाउने उद्देश्य राखिएको छ । लैङ्गिक हिंसा सामाजिक समस्या भएकाले यसको अन्त्यका लागि सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज तथा सर्वसाधारण सबैको साझा प्रयास आवश्यक रहेको नगरपालिकाले जनाएको छ ।
महिलामाथि हुने शारीरिक, मानसिक, यौनजन्य तथा सामाजिक हिंसाविरुद्ध आवाज उठाउन र पीडितलाई न्यायको पहुँचमा पु¥याउनसमेत अभियानले सहयोग गर्ने अपेक्षा गरिएको छ । अभियानको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, छायाँनाथ रारा नगरपालिकाका कर्मचारी तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ । यस अवधिमा महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य, समान अधिकार, सम्मान र सुरक्षित समाज निर्माणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।









प्रतिक्रिया दिनुहोस्