सुदूरमा पूरक बजेट ल्याउने सम्भावना न्यून



कैलाली ।

सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३–०८४ का लागि पूरक बजेट ल्याउने सम्भावना कमजोर बन्दै गएको छ । बजेट पारित गर्ने क्रममा पूरक बजेट ल्याउने प्रतिबद्धता जनाएको सरकारले राजनीतिक तथा आन्तरिक विवाद समाधान हुन नसकेपछि पारित बजेट नै कार्यान्वयनलाई प्राथमिकता दिएको छ । प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाशबहादुर रावलले बजेट अध्ययनका लागि संसदीय समिति गठन गर्ने विषयमा सहमति जुट्न नसकेपछि सरकारले मौजुदा बजेट कार्यान्वयन अघि बढाएको बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समितिमा बस्न तयार नभएको भन्दै उनले सरकार पक्षबाट मात्रै अध्ययन समिति बनाउनु उपयुक्त नहुने धारणा राखे । ‘पूरक बजेट ल्याउने विषयमा अब सभामुखले के गर्नुहुन्छ भन्ने कुरामा भर पर्छ,’ उनले भने, ‘अध्ययन समिति बनाउने काम सरकारले गर्ने होइन, सभामुखले संसदीय समिति बनाउने हो । प्रमुख प्रतिपक्षी दल समितिमा बस्न नमानेको भन्ने सुनिएको छ ।’

प्रदेशसभाबाट असोज २८ गते पारित ३७ अर्ब ७० करोड रूपैयाँँको बजेट कार्यान्वयन गर्ने वा पूरक बजेट ल्याउने भन्ने विषयमा सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेभित्रै मतभेद रहँदै आएको छ । बजेट पारित गर्नुअघि मन्त्रीपरिषद्बाटै पूरक बजेट ल्याउने निर्णय गराएर सत्तारुढ दलका प्रदेशसभा सदस्यलाई सहमत गराइएको थियो । तर, बजेट पारित भएको झन्डै डेढ महिना बितिसक्दा पनि पूरक बजेट ल्याउने प्रक्रिया अघि बढ्न सकेको छैन ।

सभामुख भीमबहादुर भण्डारीले बजेट अध्ययन समिति गठनमा प्रमुख प्रतिपक्षी काँग्रेसभन्दा पनि नेकपाभित्रकै विवाद मुख्य बाधक बनेको बताए । नेकपाभित्र सहमति जुटे काँग्रेसलाई समेत समितिमा सहभागी गराउन सकिने उनको भनाइ छ । उनले समिति गठनका विषयमा मंसिर ७ र ८ गते छलफल गर्ने तयारी रहेको जानकारी दिए।
संसदीय समिति गठन र प्रतिवेदन तयार पार्न समय लाग्ने भएकाले पनि सरकारले मौजुदा बजेट कार्यान्वयनलाई अघि बढाएको सभामुख भण्डारीले बताए ।

तत्काल कार्यान्वयन गर्ने गरी बजेट पारित भएकाले सरकारले अर्को दिनदेखि नै कार्यान्वयन प्रक्रिया थालेको उनको भनाइ छ । अध्ययन समिति गठनमा अझै सहमति नजुटे सरकारले सबै आयोजना कार्यान्वयनमा लगिसक्ने र कार्यान्वयन हुन नसक्ने आयोजनाबाट मात्रै रकमान्तरका लागि बजेट बाँकी रहने उनले बताए । बजेटबारे अध्ययन गर्न सात सदस्यीय संसदीय समिति गठन गर्ने र समितिको प्रतिवेदनका आधारमा पूरक बजेट ल्याउने समझदारी भएको थियो ।

समिति गठनका लागि कात्तिक २१ र २२ गते प्रदेशसभा बैठकसमेत बोलाइएको थियो । तर, काँग्रेसको विरोध र नेकपाभित्रको विवादका कारण बैठकमा यस विषयले प्रवेश नै पाएन । बजेट पारित गर्ने क्रममा समितिलाई कात्तिक २० गतेभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिए पनि समिति नै गठन हुन नसक्दा प्रक्रिया अलपत्र परेको छ । पूरक बजेटको प्रक्रिया अघि नबढेपछि आर्थिक मामिला मन्त्रालयले मौजुदा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने तयारी थालेको छ ।

मन्त्रालयले सबै विषयगत मन्त्रालयका सचिव तथा आर्थिक मामिला मन्त्रालयका अधिकारीसँग अन्तक्र्रिया गर्दै बजेट खर्चमा देखिएका समस्या समाधान र विकास बजेट कार्यान्वयनलाई गति दिने विषयमा छलफल गरेको छ । आर्थिक मामिला मन्त्रालयका सचिव बलराम रिज्यालले राजनीतिक तथा नीतिगत जटिलताका कारण बजेट कार्यान्वयनको समय छोटिएकाले उपलब्ध समयको अधिकतम सदुपयोग गर्नुपर्ने बताए । बजेट कार्यान्वयनमा देखिएका प्रक्रियागत तथा प्रशासनिक समस्या समाधान गर्दै विकास निर्माण र सार्वजनिक सेवा प्रवाहलाई गति दिनुपर्ने उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ८ गते सोमबार