कर्णाली प्रदेश रंगशालाको आज उद्घाटन



नन्दराम जैशी । सुर्खेत ।

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन तथा प्रमुख खेल सञ्चालनको केन्द्रका रूपमा तयार गरिएको कर्णाली प्रदेश रंगशाला उद्घाटन गरिँदैछ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सोमबार रंगशाला उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । रंगशाला उद्घाटनसँगै कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको तयारीले अन्तिम रूप लिएको छ ।

२०८१ जेठमै निर्माण सम्पन्न हुनुपर्ने रंगशालाको अन्तिम चरणको करिब एक प्रतिशत काम बाँकी रहँदा हस्तान्तरण प्रक्रिया रोकिएको थियो । निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि ठेकेदार कम्पनीबाट प्रदेश सरकारलाई रंगशाला औपचारिक रूपमा हस्तान्तरण हुन सकेको थिएन । निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी रकम, प्राविधिक प्रतिवेदन तथा हस्तान्तरणसम्बन्धी प्रक्रिया टुंगिएपछि अहिले उद्घाटनको तयारी अघि बढाइएको हो ।

काठमाडौँको कान्तिपथस्थित एमएसीजी कम्पनीले निर्माण गरेको रंगशालामा करिब एक अर्ब ५९ करोड ४७ लाख रूपैयाँँ खर्च भएको छ । करिब १० हजार दर्शक क्षमताको रंगशालामा फुटबल मैदान, एथलेटिक्स ट्र्याक, पौडी पोखरी, मार्सल आट्र्स हल, भलिबल तथा बहुउद्देश्यीय कभर्डहललगायतका संरचना निर्माण गरिएका छन् । रंगशालालाई दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोह तथा प्रमुख खेल सञ्चालनको केन्द्र बनाइएको छ ।

लामो समयदेखि प्रतीक्षामा रहेको रंगशालाको उद्घाटन र प्रतियोगिताको तयारी एकैसाथ अघि बढ्दा कर्णालीमा राष्ट्रिय खेलकुदको माहोलसमेत तातेको छ । प्रतियोगिता सफल बनाउन प्रदेश सरकार, प्रदेश खेलकुद विकास परिषद् तथा सम्बन्धित निकायहरू खेलस्थल, आवास, यातायात, स्वास्थ्य र सुरक्षाको व्यवस्थापनमा जुटेका छन् । प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, अफिसियल तथा पाहुनाको व्यवस्थापनका लागि पाँच हजार नौ सय बेड सुनिश्चित गरिएको छ ।

आवास व्यवस्थापन समितिका संयोजक तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालका अनुसार मंसिर ८ देखि १४ गतेसम्म करिब तीन हजार दुई सय खेलाडी कर्णाली आइपुग्ने अनुमान गरिएको छ । खेलाडी तथा अफिसियलको बसोबासका लागि सुर्खेतसहित प्रतियोगिता सञ्चालन हुने अन्य जिल्लाका होटल तथा आवासस्थलको विवरण संकलन गरी क्षमता, सेवा र शुल्कका आधारमा व्यवस्थापन मिलाइएको छ ।

विशिष्ट पाहुनाका लागि वीरेन्द्रनगरका शुभा र सिद्धार्थ होटलमा करिब एक सय ५० बेड छुट्याइएको छ । आवास व्यवस्थापनलाई प्रभावकारी बनाउन होटलहरूको स्थलगत अनुगमनसमेत गरिएको हमालले बताए । उनका अनुसार प्रदेश खेलकुद परिषद्का अध्यक्षसहितको टोलीले होटलमा उपलब्ध सुविधा र बसोबासको अवस्थाबारे निरीक्षण गरेको छ ।

४५ करोड बजेट, दुई हजार सुरक्षाकर्मी परिचालन

कर्णाली प्रदेश खेलकुुद परिषद्का सदस्यसचिव रविन्द्र चन्दका अनुसार प्रतियोगिता सञ्चालनका लागि संघीय सरकारले ४५ करोड रूपैयाँँ बजेट व्यवस्थापन गरेको छ । राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिता सञ्चालनका लागि ७२ करोड रूपैयाँँसम्म खर्च गर्ने सीमा निर्धारण गरेको उनले बताए । ‘यो खर्चको अधिकतम सीमा हो । संघीय सरकारले व्यवस्थापन गरेको ४५ करोड रूपैयाँँमा थपिने छुट्टै बजेट भने होइन,’ उनले भने, ‘यसबाहेक कर्णाली प्रदेश सरकारले पनि प्रतियोगिताका लागि छुट्टै बजेट विनियोजन गरेको छ ।’

प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ । खेलस्थल, खेलाडी तथा अफिसियल बस्ने होटल, उद्घाटन तथा समापन समारोह, विशिष्ट पाहुनाको आवागमन र दर्शक व्यवस्थापनलाई समेटेर सुरक्षा योजना बनाइएको छ । प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाका अनुसार प्रतियोगिताका लागि प्रहरीतर्फ छुट्टाछुट्टै जिम्मेवारी निर्धारण गरी सुरक्षा परिचालनको तयारी गरिएको छ । नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल र आवश्यकताअनुसार नेपाली सेनाको सहयोगसमेत लिइनेछ । खेलस्थलमा सीसीटीभी निगरानी, ट्राफिक व्यवस्थापन, मोबाइल गस्ती, प्रवेश तथा निकासद्वारको सुरक्षा र आकस्मिक अवस्थाका लागि रिजर्भ टोली परिचालन गर्ने योजना छ ।

पूर्वाधार र आतिथ्य क्षमता देखाउने अवसर

दसौँ राष्ट्रिय खेलकुद कर्णालीका लागि खेल प्रतियोगिता आयोजना गर्ने ऐतिहासिक अवसर पाएको छ । यसले प्रदेशको पूर्वाधार, व्यवस्थापकीय क्षमता र आतिथ्य सत्कार देखाउने महत्वपूूर्ण अवसर समेत पाएको हो । हजारौं खेलाडी तथा पाहुनाको आवागमन, सात जिल्लामा खेल सञ्चालन र ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालनको तयारीले प्रतियोगिताको व्यवस्थापकीय चुनौती पनि उत्तिकै ठूलो बनाएको छ ।

तर, प्रतियोगितापछि रंगशालालगायतका खेल पूर्वाधारलाई नियमित प्रशिक्षण, स्थानीय खेलकुद गतिविधि र राष्ट्रियस्तरका प्रतियोगितामा उपयोग गर्न सके कर्णालीको खेलकुद विकासमा दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ । राष्ट्रिय खेलकुदमार्फत कर्णालीले आफ्नो खेल प्रतिभा प्रदर्शनसँगै पर्यटन र स्थानीय आर्थिक गतिविधि विस्तारको सम्भावनासमेत खोजिरहेको छ ।

आठ जिल्लामा खेल हुुने 

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका पाँच र लुम्बिनीका दुई गरी सात जिल्लामा सञ्चालन गर्ने तयारी छ । कर्णालीका जुुम्ला, सुर्खेत, दैलेख, सल्यान, कालीकोट र पश्चिम रूकुम तथा लुम्बिनी प्रदेशका बाँके र बर्दियामा खेलस्थल तोकिएका छन् । कूल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा सञ्चालन हुनेछन् । सल्यान, बाँके र बर्दियामा दुई–दुई तथा दैलेख, कालीकोट र पश्चिम रूकुममा एक–एक खेल आयोजना गरिनेछ ।

सुर्खेत प्रतियोगिताको मुख्य केन्द्र हुनेछ भने अन्य जिल्लामा खेल सञ्चालन गरेर प्रतियोगितालाई प्रदेशका विभिन्न क्षेत्रमा विस्तार गर्ने रणनीति लिइएको छ । सुर्खेतमा एथलेटिक्स, फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी र साइक्लिङलगायतका खेल सञ्चालन हुनेछन् ।

बाँकेको नेपालगन्जमा पौडी र सुटिङ तथा बर्दियामा टेनिस र खोखो आयोजना गरिनेछ । सल्यानमा जुडो र कुस्ती, दैलेखमा आईटीएफ तेक्वान्दो, कालीकोटमा बुद्धिचाल र पश्चिम रूकुममा शारीरिक सुगठन प्रतियोगिता सञ्चालन गर्ने तयारी छ । विभिन्न जिल्लामा खेल सञ्चालन हुँदा स्थानीयस्तरमा खेलकुद गतिविधि बढ्नुका साथै खेलाडी तथा पाहुनामार्फत कर्णालीका पर्यटकीय क्षेत्र चिनाउने अवसरसमेत प्राप्त हुने अपेक्षा गरिएको छ ।

१३ सयभन्दा बढी पदकका लागि प्रतिस्पर्धा

राष्ट्रिय खेलकुद परिषद्ले तयार पारेको प्रस्तावित खेलतालिकाअनुसार प्रतियोगितामा कूल ३८४ इभेन्ट्स समावेश छन् । जसमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन् । मंसिर १६ गते औपचारिक उद्घाटन हुने प्रतियोगिता मंसिर २७ गते समापन हुनेछ ।

तर, केही खेल भने उद्घाटन समारोहअघि नै सुरु हुनेछन् । खेलतालिकाअनुसार मंसिर ८ गतेदेखि १० खेल सञ्चालन गर्ने तयारी छ । प्रतियोगितामा व्यक्तिगततर्फ स्वर्ण पदक विजेतालाई २० हजार, रजत विजेतालाई १५ हजार र कांस्य विजेतालाई आठ हजार रूपैयाँँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, टिमतर्फ स्वर्ण विजेतालाई १५ हजार, रजत विजेतालाई १० हजार र कांस्य विजेतालाई आठ हजार रूपैयाँँ उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

आयोजक कर्णालीको लक्ष्य चार स्वर्ण

आफ्नै भूमिमा हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजक कर्णालीले कम्तीमा चार स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ । एथलेटिक्स, वुशु, कराते, ह्यान्डबल र रग्बीलाई कर्णालीले पदकको सम्भावना भएका खेलका रूपमा लिएको छ । खेलाडीको विगतको प्रदर्शन र पछिल्ला प्रतियोगिताका नतिजाका आधारमा पदकको अपेक्षा गरिएको हो ।

विशेषगरी रग्बीमा पछिल्ला राष्ट्रिय प्रतियोगितामा देखिएको प्रदर्शनलाई कर्णालीले पदकको सम्भावनाका रूपमा हेरेको छ । आफ्नै प्रदेशमा प्रतियोगिता आयोजना हुँदा खेलाडीलाई घरेलु मैदानको फाइदा पुग्ने र दर्शकको समर्थनले प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । तर, पदकको लक्ष्य पूरा गर्न खेलाडीको तयारी, व्यवस्थापन र प्रतियोगिताका दिनको प्रदर्शन निर्णायक हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ८ गते सोमबार