सम्पादकीयः मधुमेह नियन्त्रणमा जीवनशैली परिवर्तनको खाँचो



मधुमेह अर्थात् चिनीरोग पछिल्लो समय विश्वव्यापी जनस्वास्थ्य चुनौतीका रूपमा देखिएको छ । कुनै समय उमेर ढल्किएपछि लाग्ने रोगका रूपमा बुझिने मधुमेह अहिले युवा तथा वयस्क उमेर समूहमा समेत तीव्र रूपमा बढिरहेको छ । बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, मोटोपना र मानसिक तनावजस्ता कारणले यसको जोखिम बढाएको छ । अझ चिन्ताजनक पक्ष के छ भने धेरै मानिसमा मधुमेह भएको लामो समयसम्म थाहा हुँदैन । रोगको लक्षण देखिएपछि मात्र स्वास्थ्य परीक्षण गराउने प्रवृत्तिले यसबाट हुने जटिलता थप बढाउने गरेको छ । त्यसैले मधुमेहलाई व्यक्तिगत स्वास्थ्य समस्याका रूपमा मात्र नभई गम्भीर सामाजिक तथा सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा लिन आवश्यक छ । मधुमेह शरीरमा इन्सुलिन हर्मोन पर्याप्त उत्पादन नहुनु वा उत्पादित इन्सुलिनले प्रभावकारी रूपमा काम गर्न नसक्दा रगतमा चिनीको मात्रा बढ्ने अवस्था हो । टाइप–१, टाइप–२ र गर्भावस्थामा देखिने मधुमेह यसका प्रमुख प्रकार हुन् । विशेषगरी टाइप–२ मधुमेह अस्वस्थ जीवनशैलीसँग जोडिएको पाइन्छ । अत्यधिक गुलियो तथा चिल्लो पदार्थको सेवन, प्रशोधित खाद्यवस्तुमा निर्भरता, शारीरिक व्यायामको कमी र अनियमित दिनचर्याले यसको जोखिम बढाउँछन् । पारिवारिक इतिहास तथा उमेर पनि मधुमेहका जोखिम कारक हुन् । यसर्थ सबै मधुमेह खानपानकै कारण लाग्छ भन्ने बुझाइ पनि सही होइन । तर जीवनशैलीमा सुधार गरेर टाइप–२ मधुमेहको जोखिम घटाउन सकिन्छ ।

मधुमेहलाई सामान्य रोग ठानेर बेवास्ता गर्नु घातक हुन सक्छ । समयमै नियन्त्रण गर्न नसक्दा यसले मुटु तथा रक्तनलीसम्बन्धी रोग, मिर्गौला खराब हुने, आँखाको दृष्टि गुम्ने, स्नायु प्रणालीमा क्षति पुग्ने र खुट्टामा घाउ भएर अंग नै गुमाउनुपर्ने अवस्थासम्म निम्त्याउन सक्छ । यसले बिरामीको जीवनको गुणस्तर मात्र घटाउँदैन, परिवारको आर्थिक अवस्था र देशको स्वास्थ्य प्रणालीमा समेत थप भार सिर्जना गर्छ । नियमित औषधि सेवन, परीक्षण र उपचारमा लाग्ने खर्चले न्यून तथा मध्यम आय भएका परिवारलाई झनै प्रभावित बनाउँछ । त्यसैले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनेतर्फ ध्यान दिनु बढी प्रभावकारी हुन्छ । मधुमेह नियन्त्रणको पहिलो आधार स्वस्थ जीवनशैली हो । सन्तुलित भोजन, नियमित शारीरिक व्यायाम, पर्याप्त निद्रा र तनाव व्यवस्थापनले यसको जोखिम घटाउन तथा रोग नियन्त्रणमा राख्न सहयोग पु¥याउँछन् । दैनिक खानपानमा हरियो सागसब्जी, फलफूल, दाल, गेडागुडी र रेसादार खाद्यवस्तुलाई प्राथमिकता दिनुपर्छ । अत्यधिक चिनी, नुन, चिल्लो पदार्थ, गुलिया पेय पदार्थ र प्रशोधित खानाको सेवन घटाउनुपर्छ । नियमित हिँडडुल तथा शारीरिक गतिविधिलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्छ । धूमपान र मद्यपानबाट टाढा रहनु पनि उत्तिकै आवश्यक छ । मधुमेह भइसकेका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार औषधि सेवन, रगतमा चिनीको मात्रा परीक्षण र नियमित स्वास्थ्य जाँच गर्नुपर्छ । औषधि सेवन गरिरहेका व्यक्तिले आफूखुसी औषधि बन्द गर्ने वा मात्रा परिवर्तन गर्ने गर्नु हुँदैन ।

यसका लागि नागरिकमा जनचेतना अभिवृद्धि गर्नु राज्यको पनि दायित्व हो । मधुमेहसम्बन्धी जानकारीलाई सहरी क्षेत्रका अस्पताल र स्वास्थ्य संस्थामा मात्र सीमित नराखी गाउँगाउँसम्म पु¥याउनुपर्छ । स्थानीय तहका स्वास्थ्य संस्थाबाट नियमित परीक्षण, परामर्श र प्रारम्भिक पहिचानको व्यवस्था प्रभावकारी बनाउनुपर्छ । विद्यालय तहदेखि नै स्वस्थ खानपान र शारीरिक व्यायामको संस्कार विकास गर्न सके भावी पुस्तालाई मधुमेहको जोखिमबाट जोगाउन सकिन्छ । बजारमा बिक्री हुने गुलिया पेय पदार्थ तथा अत्यधिक चिनी र नुन भएका खाद्यवस्तुबारे उपभोक्तालाई सचेत बनाउनुका साथै खाद्य गुणस्तर नियमनमा पनि कडाइ आवश्यक छ । हरेक वर्ष नोभेम्बर १४ मा मनाइने विश्व मधुमेह दिवसले पनि यस रोगबारे जनचेतना फैलाउने अवसर प्रदान गर्छ । दिवस मनाउने औपचारिकताभन्दा यसको सन्देशलाई व्यवहारमा उतार्नु महत्वपूर्ण हुन्छ । मधुमेह लाग्दैमा जीवन समाप्त हुँदैन, न त यसलाई पूर्णतः बेवास्ता गरेर सामान्य जीवन बिताउन सकिन्छ । समयमै पहिचान, नियमित उपचार र अनुशासित जीवनशैलीबाट यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ । यसका लागि व्यक्ति, परिवार, समुदाय र राज्य सबैको साझा प्रयास आवश्यक छ । स्वस्थ जीवनशैलीलाई बाध्यता होइन, संस्कार बनाउने हो भने मधुमेहको बढ्दो जोखिम न्यूनीकरण गर्न सकिन्छ । रोगको उपचारमा मात्र होइन, रोग लाग्न नदिने वातावरण निर्माणमा राज्यले प्राथमिकता दिनु आजको आवश्यकता हो ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक २८ गते शुक्रबार