‘कोलाई’को ‘कान्छी छोरी’सरह हैसियत



वीरेन्द्र जैसी । नेपालगन्ज ।

‘यो (कुकुर) मेरो लागि औषधि हो,’ नेपालगन्जमा सर्जिकल सामानहरूको पसल सञ्चालन गरिरहेका जनकराज शर्माले आफ्नो ‘कोलाई’ नाम गरेको जर्मन शेफर्ड जातको कुकुरलाई इंगित गर्दै भने । उनले कुकुरलाई औषधि भन्नुको धेरै कारणमध्ये एक रहेछ, उनको मदिराको लत छुटाउने क्रममा कुकुरले पु¥याएको भावनात्मक साथ । ‘पिउने बानी छुटाउने क्रममा मलाई यसले धेरै ठूलो साथ दियो । पिउन नपाएपछि जुन छटपटी हुन्थ्यो त्यो छटपटी यो नभएको भए सम्हाल्न सकिन्थेन जस्तो लाग्छ । यसले जसरी मलाई टाइमपास गर्न सघायो त्यसले मलाई त्यस अवस्थाबाट बाहिर आउन निकै सजिलो भयो,’ जनकले भने ।

हुन पनि कोलाई यति चञ्चल छ कि जनकले उसलाई प्रेमले ‘बाँदर’को संज्ञा दिन्छन् । उसले आफूलाई ध्यान दिएनन् भन्ने ठानेर मोबाइलसमेत चलाउन दिँदैन । ऊ चञ्चल मात्रै छैन, ऊ जनक र उनकी जीवनसंगिनी रेखासँग यति नजिक छ कि उनीहरूलाई एकछिन पनि छोड्न मान्दैन । धेरैले जर्मन शेफर्ड जातका कुकुरलाई खोरमा हुलेर शौखका रूपमा पाल्ने गरे पनि उनीहरूले ‘कोलाई’लाई ‘कान्छी छोरी’कै रूपमा परिवारको सदस्यको हैसियत दिएका छन् ।

उनीहरूले कोलाईलाई दिएको हैसियत त्यसैबाट पनि थाहा हुन्छ कि उनीहरूले कोलाईकै लागि भनेर करिब एक वर्षभित्र दुई ठाउँमा घर सारिसके । किनकी घरबेटीले कोलाईको चञ्चलता सहन सकेनन् । ‘घरबेटीका लागि एउटा जनावर मात्रै थियो होला । उनीहरूले यसको चञ्चलता सहन सकेनन् वा यसलाई हामीले सदस्यसरह दिएको हैसियत उनीहरूलाई चित्त बुझेन । कचकच सहन सकिएन । हामीसँग कि यसलाई छाड्ने कि घर छाड्ने विकल्प थिए । हामीले घर बदल्ने निर्णय ग¥यौँ । दुईपटक घर बदलिसक्यौँ,’ जनकले भने ।

कोलाई बिहान घरबाट निस्कनुअघि नै निस्केर स्कुटीमा बसिसकेको हुन्छ । दिनभरी उनीहरूसँगै पसलमा बस्छ । साँझ उनीहरूसँगै स्कुटीमा दुई जनाको बीचमा बसेर घर फर्किन्छ । ‘उसको इच्छाको हकमा ऊ हाम्रो मालिक हो । उसले जे भन्यो त्यो हामीले मान्ने हो । अरु कुनै विकल्प छैन,’ जनक भन्छन्, ‘म यसको ड्राइभर हुँ । रेखा यसको खाना दिने र पालन गर्ने मान्छे हो । हामीले उसले भनेको मान्नुपर्छ ।’ घरमा मिठो मसिनो पाक्दा कोलाईको खुसी देखेर आफूहरूलाई मिल्ने सन्तुष्टि बयान गर्न नसकिने जनक बताउँछन् ।

कोलाईको अर्काे शौख छ, त्यो हो साँझ खाना खाइसकेपछि स्कुटीमा बसेर सहरको सयरमा निस्कनु । जसका लागि उसले जनकलाई खाना खाएर हात धुनसमेत समय दिन्न । त्यसपछि स्कुटीमा बसेर उनीहरू रातिको समयमा हावा खाँदै सहरको दर्शनमा निस्कन्छन् । कोलाई दुई वर्षको भयो । रेखाले कोलाईलाई हुर्काउँदाको समय सम्झिँदै भनिन्, ‘यसलाई हुर्काउँदा आफ्नै बच्चाहरू हुर्काएभन्दा बढी मिहिनेत गरियो । हामीले अहिले यसलाई जनावरको रूपमा हेर्न सकेका छैनौँ । सायद कहिल्यै सक्दैनौँ होला ।’

कोलाईलाई जनावरभन्दा रेखाले चित्त दुःखाउने गरेको बताउँदै जनकले एउटा किस्सा सुनाए । ‘एकपल्ट ससुरालीमा जाँदा यसलाई पनि लिएर गएका थियौँ । मैले ससुराबुवालाई भनेँ, बुवा कोलाईले केही गल्ती ग¥यो भने मलाई गाली गर्नुहोला, रेखालाई गाली गर्नुहोला । कोलाईलाई गाली गर्नुभयो भने तपाईँको छोरी तपाईँको घरमा फर्केर नआउली फेरि ।’ आफूले कोलाईलाई माया गरेको देखेर छोरीले डाह गर्ने गरेको रेखा बताउँछिन् ।

‘केटाकेटीमा एकअर्कालाई अलि बढी अटेन्सन दियो भने अर्काे रिसाउने हुन्छ । अहिले छोरीले आफूभन्दा बढी माया यसलाई गर्नुहुन्छ भनेर जेलस फिल गर्छे,’ उनले भनिन् । जनकको कुकुरप्रतिको लगाव सानै उमेरदेखिको हो । उनको बर्दियास्थित घरमा कुकुर कहिल्यै खाली भएन । अहिले पनि एउटा कुकुर घरमा छ । दुई वटाको भेट हुँदा कसले बढी अटेन्सन पाउने भनेर दुई वटाबीच प्रतिस्पर्धा हुने गरे उनी बताउँछन् ।

कुकुर र मानिसको सम्बन्ध मानव सभ्यताको सुरुवातदेखि भएको जनकको बुझाइ छ । कुकुरले मानिसलाई धेरै रूपले सघाउने गरेको भन्दै उनी कुकुर साथमा छ भने मेडिटेशनको जरुरत नहुने बताउँछन् । ‘यसले तपाईँलाई यसरी साथ दिन्छ कि त्यसका लागि तपाईँले मात्र प्रेम दिए पुग्छ । यसले खाली हुँदा दिमागमा आउने नकारात्मक धारणाहरू नै आउन दिँदैन । अनेक हर्कत गरेर तपाईँलाई खुसी राख्न खोज्छ । तपाईँको भावना तपाईँले नभनेर बुझ्छ,’ जनकले भने । कोलाई कहिलेकाहीँ रिसाउँछ पनि । उसलाई छोडेर गएर फर्किएपछि ढिलो भयो भने वा उसप्रति प्रयाप्त समय दिइएन भने उसले आफूतिरै ध्यान तान्न अनेक हर्कत गर्छ । ‘जसरी भए पनि यसले सकारात्मक माहौल बनाउँछ,’ जनकले भने ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक २३ गते आइतबार