
काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाले तिहारमा फूल तथा फूलका माला बिक्री वितरणका लागि महानगरभित्रका विभिन्न स्थान तोकेको छ । महानगर प्रहरी बलले सूचना जारी गर्दै नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्री वितरणलाई प्राथमिकता दिन आग्रह गरेको हो । महानगरले प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री वितरण नगर्न पनि व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई अनुरोध गरेको छ । प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने सूचनामा उल्लेख छ ।
महानगर प्रहरी बलले नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाहरू सरोकारवाला निकायसँगको समन्वयमा बिक्री वितरणका लागि विभिन्न स्थान तोकेको जनाएको छ । महानगरले नयाँ बानेश्वर, शंखमुल, मध्य बानेश्वर, तिनकुने, सिफल, चाबहिल, कालिमाटी, कलंकी, नयाँ बजार र माछापोखरीलगायत क्षेत्रमा बिक्रीस्थल तोकेको छ । त्यस्तै हाँडीगाउँ, सामाखुसी, महाराजगञ्ज, गोंगबु, चप्पल कारखाना, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा, न्यूप्लाजा, लगन, जैसीदेवल र भूतखेलिमण्डप क्षेत्रमा पनि फूल बिक्री गर्न सकिनेछ । महानगर प्रहरी बलले तोकिएका स्थानमा फूल बिक्री वितरणका लागि आवश्यक सहजीकरण गर्ने जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्