एनपिएलमा बेटिङ खेलाएको आरोपमा भारतीय नागरिक पक्राउ



काठमाडौँ ।

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा अनलाइनमार्फत सट्टेबाजी (बेटिङ) गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य भोजपुर जिल्ला टाउन थाना घर भई हाल काठमाडौँ महानगरपालिका–१७ ठमेल बस्ने ३२ वर्षीय सोनुकुमार सिन्हा छन् । काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएलमा केही व्यक्तिले अनलाइनमार्फत सट्टेबाजी गरिरहेको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार सिन्हाको साथबाट दुई थान मोबाइल बरामद गरिएको थियो । उक्त मोबाइल जाँच गर्दा उनले विभिन्न चारवटा अनलाइन बेटिङ साइटमा लगइन गरी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले विभिन्न साइटमार्फत नेपाली रूपैयाँँ ८९ लाख ८१ हजार ७२९ बराबरको कारोबार गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । सिन्हालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक २० गते बिहीबार