होटल म्याक्सबाट पक्राउ परेकालाई एक महिना कैद



नेपालगन्ज ।

बाँकेको कोहलपुरस्थित साविकको होटल म्याक्सबाट पक्राउ परेका सट्टेबाजहरूलाई अदालतले एक महिना कैद र १० हजार रूपैयाँँ जरिबानाको फैसला गरेको छ । बाँके प्रहरीले असोज ६ गते राति छापा मारेर उक्त होटलबाट ४६ जना भारतीय नागरिक र २ जना नेपाली नागरिकहरूसहित पक्राउ परेका ४८ जना पक्राउ गरेको थियो ।

प्रहरीले बाँके जिल्ला अदालतमा असोज १९ गते अनलाइन सट्टेबाजीको मुद्दा दायर गरेकोमा अदालतले असोज २१ गते उक्त फैसला गरेको अदालतका प्रवक्ता तिर्थराज आचार्यले जानकारी दिए । यद्यपि फैसलाको पूर्णपाठ तयार हुन बाँकी रहेकोले अहिले विस्तृत विवरण उपलब्ध नरहेको उनले जानकारी दिएका छन् ।

म्याक्स होटलमा अनलाइन जुवा भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । सहरको नाम चलेको होटलमा लामो समयदेखि ठूलो सङ्ख्यामा मानिसहरू जम्मा भएर अनलाइन सट्टेबाजी गरिरहेकोमा नजिकै रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी नपाएको विषयमा भने जनस्तबाट प्रश्न उठेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १५ गते शनिबार