नेपालगन्ज ।
आज शनिबारबाट नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप प्रतियोगिता सुरु हुँदैछ । भोली कात्तिक १५ गते आइतबारसम्म सञ्चालन हुने प्रतियोगितामा भारतको लखनउ, दिल्ली र पञ्जाबसहित देशका विभिन्न स्थानबाट खेलाडीहरू सहभागी हुँदैछन् । नेपालगन्ज स्वीमिङ क्लबले नेपाल स्वीमिङ एसोसिएसनसँगको सहकार्यमा आयोजना गरेको प्रतियोगितामा दुई सय भन्दा बढी खेलाडी सहभागी हुने क्लबका अध्यक्ष केशव न्यौपानेले जानकारी दिएका छन् ।
न्यौपानेले यसअघिका दुई प्रतियोगितामा नेपाली खेलाडीको मात्रै सहभागिता रहेकोमा यस पटक भारतबाट करिब ५० जना खेलाडी सहभागी हुने भएकाले प्रतियोगिता अन्तर्राष्ट्रिय बनेको दाबी गरे ।
प्रतियोगितामा नेपालगन्जसहित देशका विभिन्न स्थानबाट एक सय ५० खेलाडी सहभागी हुने उनको भनाइ छ । प्रतियोगितामा आठ वर्षमुनिदेखि १७ वर्षसम्मका विभिन्न उमेर समूहका खेलाडी तथा १७ वर्षभन्दा माथिका खुला समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने न्यौपानेले जानकारी दिए ।
नेपालगन्ज रंगशालाको पौडी पोखरीमा आयोजना हुने प्रतियोगितामा फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत मेडले विधाका ८० वटा इभेन्ट सञ्चालन गरिने उनले बताएका छन् । प्रतियोगितामा सहभागी खेलाडीलाई आयोजकले नेपालगन्जका पौडी पोखरी भएका चारतारे स्तरका होटलमा निःशुल्क बसोबास तथा खानाको व्यवस्था गरेको र प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रूपैयाँँ खर्च हुने अनुमान गरिएको जनाएको छ । प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको सफलतापछि तेस्रो संस्करण यसपटक अन्तर्राष्ट्रिय सहभागितासहित प्रतियोगिता आयोजना गरिएको न्यौपानेले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्