आजदेखि एनपीएलको तेस्रो संस्करणः उद्घाटनमै गत संस्करणका फाइनलिस्टको भिडन्त



नन्दराम जैशी । सुर्खेत ।

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । नेपाली क्रिकेटको लोकप्रियता, व्यावसायिक सम्भावना र अन्तर्राष्ट्रिय पहिचानलाई थप उचाइ दिने अपेक्षासहित तेस्रो संस्करण सुुरु हुुन लागेको हो । प्रतियोगिताको उद्घाटन खेलमा अघिल्लो संस्करणका फाइनलिस्ट सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजेदेखि सुरु हुनेछ । यी दुई टोलीबीचको प्रतिस्पर्धाले प्रतियोगिताको सुरुवातलाई थप आकर्षक बनाएको छ ।

उद्घाटन खेल सामान्यतया प्रतियोगिताको माहोल निर्माण गर्ने अवसर पनि हो । तर, उपाधि प्रतिस्पर्धामा आफूलाई प्रमाणित गरिसकेका दुई टोली आमनेसामने हुँदा पहिलो खेलमै दर्शकले उच्चस्तरको प्रतिस्पर्धा अपेक्षा गरेका छन् । क्रिकेट प्रशिक्षक निश्चल रावतका अनुसार दुवै टोलीका लागि यो खेल जितको सुरुवात गर्ने अवसर मात्र नभई अघिल्लो संस्करणको प्रतिस्पर्धात्मक सम्बन्धलाई नयाँ अध्यायमा प्रवेश गराउने मौका पनि हो ।

‘सुदूरपश्चिम र लुम्बिनीबीचको खेलले अन्य टोलीका लागि समेत प्रारम्भिक सन्देश दिनेछ,’ उनले भने, ‘प्रतियोगिताको सुरुमै लय समात्ने टोलीले आगामी खेलमा मनोवैज्ञानिक लाभ लिन सक्ने भएकाले दुवै पक्षका लागि उद्घाटन खेलको महत्व बढी हुनेछ ।’ उनका अनुसार टी–२० क्रिकेटमा अघिल्लो प्रदर्शन मात्रै जितको आधार हुँदैन । खेलाडीको तत्कालीन फर्म, रणनीति, दबाब व्यवस्थापन र मैदानको अवस्थाले नतिजा निर्धारण गर्न सक्छन् । त्यसैले उद्घाटन खेललाई उपाधि यात्राको निर्णायक आधारभन्दा पनि प्रतिस्पर्धाको स्तर बुझ्ने पहिलो अवसरका रूपमा हेरिएको उनले बताए ।

उनले थपे, ‘यसपटक उपाधि प्रतिस्पर्धासँगै नेपाली क्रिकेटको बढ्दो व्यावसायिक महत्व र व्यवस्थापकीय क्षमताको समेत परीक्षण हुुदैछ ।’ तेस्रो संस्करणको सुरुवातमै देखिएको दर्शकको उत्साह र निर्णय समीक्षा प्रणाली (डीआरएस)को प्रयोगले खेललाई व्यापकता बनाएको छ भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट प्राप्त आधिकारिक मान्यता र व्यापक सुरक्षा व्यवस्थाले थप रोचक बनाएको छ । यसले एनपीएललाई यस वर्ष खेल प्रतियोगिताका रूपमा सीमित नराखी नेपाली क्रिकेटको संस्थागत विकाससँग जोडिएको आयोजनाका रूपमा स्थापित गरेको हो ।

तर, प्रतियोगिताको वास्तविक सफलता मैदानमा देखिने प्रतिस्पर्धासँगै दर्शकको अनुभव र नेपाली खेलाडीले प्राप्त गर्ने अवसरबाट मापन हुने क्रिकेट प्रशिक्षक रावत बताउँछन् । ठूलो संख्यामा दर्शक आकर्षित गर्ने अपेक्षा गरिएको एनपीएलका लागि सुरक्षा व्यवस्थालाई पनि प्राथमिकतामा राखिएको छ । प्रतियोगिताको सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन गर्ने तयारी छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले प्रतियोगितालाई लक्षित गर्दै सुरक्षा योजना बनाएर काम सुरु गरेको जनाएको छ ।

काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेका अनुसार सुरक्षा तयारीको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारीसहितको टोलीले कीर्तिपुरस्थित क्रिकेट मैदानको अवलोकन गरेको थियो ।
प्रहरीले सुरक्षा व्यवस्थालाई विभिन्न क्षेत्रमा विभाजन गरेको छ । खेलाडीको सुरक्षा, उनीहरू बस्ने आठवटा होटलको निगरानी, होटलदेखि मैदानसम्मको आवतजावत, ट्राफिक व्यवस्थापन, मैदानभित्रको सुरक्षा र दर्शकको व्यवस्थापनलाई योजनामा समेटिएको छ ।

उद्घाटन तथा समापन समारोहमा विशिष्ट र अति विशिष्ट व्यक्तिको आवागमन हुने भएकाले त्यसलाई लक्षित गरी थप सुरक्षा व्यवस्था मिलाइने जनाइएको छ । सादा पोशाकका प्रहरी, सीसीटीभी निगरानी, ड्रोनमार्फत अवलोकन तथा विस्फोटक पदार्थ पहिचानका लागि तालिमप्राप्त कुकुरको प्रयोगसमेत गरिनेछ । बाह्य सुरक्षामा सशस्त्र प्रहरी बल पनि परिचालन हुने बताइएको छ । खेल हेर्न आउने दर्शकले लामो समयसम्म अनावश्यक भीडमा बस्नुपर्ने अवस्था नआओस्, ट्राफिक जाम कम होस् र आपत्कालीन अवस्थामा छिटो उद्धार गर्न सकियोस् भन्ने विषयमा आयोजक तथा सुरक्षा निकायले विशेष ध्यान दिएका हुुन् ।

यसैबीच, नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै एनपीएलको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने घोषणा गरेको छ । पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले प्रतियोगिताको पुरस्कार राशिबारे जानकारी गराएका हुन् । घोषित पुरस्कारअनुसार एनपीएलको विजेताले एक करोड ५० लाख रुपैयाँ, उपविजेताले ८० लाख रुपैयाँ र तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

३० मिनेटमै टिकट बिक्री, डीआरएस जडान

एनपीएलको तेस्रो संस्करण सुरु नहुँदै दर्शकको चासो टिकट बिक्रीमा देखिएको छ । उद्घाटन खेलका लागि इसेवामार्फत टिकट बुकिङ खुला भएको करिब ३० मिनेटमै सम्पूर्ण टिकट बिक्री भएको आयोजकसम्बद्ध विवरणले जनाएको छ । बुकिङ खुल्नेबित्तिकै हजारौँ दर्शक एकैपटक प्रणालीमा जोडिएका थिए । यसले नेपाली क्रिकेटप्रति दर्शकको आकर्षण बढिरहेको देखाउँछ । घरेलु मैदानमा हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिताले मनोरञ्जन, खेल पर्यटन, प्रायोजन र खेलसम्बन्धी व्यावसायिक गतिविधिलाई विस्तार गर्न सक्ने सम्भावनासमेत देखाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले लिग चरणका खेलका लागि साधारणतर्फ ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ निर्धारण गरेको छ । इलिमिनेटर र फाइनलका लागि भने साधारण टिकटको मूल्य एक हजार तथा प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ तोकिएको छ । तेस्रो संस्करणको अर्को महत्वपूर्ण विशेषता निर्णय समीक्षा प्रणाली (डीआरएस)को प्रयोग हो । क्यानले यसपटक एनपीएलमा डीआरएस प्रयोग हुने जानकारी दिएको छ ।

यसअघि क्यानका सचिव पारस खड्काले प्रणाली भित्र्याउने तयारी भइरहेको जनाएका थिए । त्यस क्रममा दुई कम्पनीका प्रविधिको परीक्षण गरिएको थियो । क्रिकेटमा अम्पायरको निर्णयलाई प्रविधिको सहायताले पुनरावलोकन गर्न सकिने व्यवस्था नै डीआरएस हो । यसले गलत निर्णयका कारण खेलको नतिजामा पर्न सक्ने प्रभाव कम गर्न सहयोग पु¥याउँछ । विशेषगरी दबाबपूर्ण अवस्थामा हुने एलबीडब्लु, रनआउट र स्टम्पिङजस्ता निर्णयमा यसको भूमिका महत्वपूर्ण हुन्छ ।

क्यानका अनुसार एनपीएलमा एलबीडब्लुको समीक्षा गर्न पूर्ण थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग हुनेछ । रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णयको पुनरावलोकन पनि उपलब्ध हुनेछ । त्यसैगरी कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित ब्याटमा बल लागेको किनारा पहिचान गर्ने प्रविधि, हाइटका आधारमा वाइडको विश्लेषण, छक्काको दूरी र उचाइ मापन तथा अन्य बलिङ विश्लेषणका सुविधा पनि समावेश गरिनेछन् ।

यो परिवर्तनलाई नेपाली क्रिकेटमा प्रविधिको प्रयोग विस्तार गर्ने प्रयासका रूपमा लिन सकिन्छ । डीआरएसले अम्पायरको निर्णयप्रतिको विवाद घटाउन र खेलको विश्वसनीयता बढाउन सहयोग गर्नेछ । साथै, खेलाडी र दर्शकले खेलको प्राविधिक पक्ष बुझ्ने अवसरसमेत पाउनेछन् ।

आईसीसीको मान्यता र स्टार खेलाडीमा होड

एनपीएलको तेस्रो संस्करण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट लिस्ट ए टी–२० को आधिकारिक मान्यता प्राप्त गरेसँगै फ्रेन्चाइज टोलीहरू विश्व क्रिकेटका चर्चित खेलाडी भित्र्याउने प्रतिस्पर्धामा जुटेका थिए । अन्तर्राष्ट्रिय मान्यता र स्टार खेलाडीको आकर्षणले एनपीएललाई नेपाली क्रिकेटको प्रमुख व्यावसायिक प्रतियोगिताका रूपमा स्थापित गर्ने अवसर दिएको हो । क्यानका अनुसार सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने तेस्रो संस्करणका सबै खेलले आईसीसीको आधिकारिक मान्यता पाएका हुन् ।

यससँगै एनपीएलको प्रतिस्पर्धात्मक हैसियत, खेलाडीको प्रदर्शनको अभिलेखीकरण र अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतियोगिताको पहिचान थप व्यवस्थित हुने अपेक्षा गरिएको क्यानका सदस्यसचिव पारस खड्काले बताए । उनका अनुसार आईसीसीको मान्यतासँगै प्रतियोगितामा विदेशी खेलाडीको आकर्षण पनि बढेको छ । जसले गर्दा विभिन्न देशका अनुभवी तथा आक्रामक खेलाडीलाई अनुबन्ध गर्न फ्रेन्चाइज टोलीहरूले सक्रियता बढाएका थिए ।

अस्ट्रेलिया, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र वेस्ट इन्डिजका खेलाडीको सहभागिताले तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय स्वरूप दिने अपेक्षा गरिएको उनको भनाइ छ । काठमाडौँ गोर्खाजले अस्ट्रेलियाका पूर्वस्टार ब्याटर डेविड वार्नर र आक्रामक बायाँहाते ब्याटर साम हिजलेट लगाएत विदेश खेलाडीलाई अनुबन्ध गर्दै चर्चा बटुलेको छ । वार्नरको अन्तर्राष्ट्रिय अनुभव र आक्रामक ब्याटिङले प्रतियोगिताप्रति दर्शकको चासो बढाउने अपेक्षा गरिएको छ ।

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णालीले दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेविड मिलर र पाकिस्तानका अलराउन्डर हुसेन तलत लगाएत विदेशी खेलाडीलाई पनि टोलीमा भित्र्याएको छ । फरहान, मिलर र तलतको सहभागिताले टोलीको ब्याटिङ तथा अलराउन्ड क्षमतालाई बलियो बनाउने अपेक्षा गरिएको छ । श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजलगायत दक्ष विदेशी खेलाडीहरु पनि विराटनगर किङ्सबाट मैदान उत्रिने भएका छन् । पोखरा एभेन्जर्सले बंगलादेशका अलराउन्डर महेदी हसन र मोहम्मद सैफुद्दिनलगायत विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ ।

त्यस्तै, बंगलादेशका ब्याटिङ अलराउन्डर शमिम हुसेनलगायत विदेशी खेलाडी लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । पाकिस्तानका तीव्र गतिका बलर हुसेन शाहलगायत विदेशी खेलाडीहरु जनकपुर बोल्ट्समा आबद्ध भएका छन् । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन र शेरफन रदरफोर्डलगायत राम्रा विदेशी खेलाडी सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने तयारीमा छन् । विभिन्न क्रिकेटिङ पृष्ठभूमिका खेलाडीको आगमनले टोलीहरूबीचको प्रतिस्पर्धा थप रोचक बन्ने अपेक्षा गरिएको छ भने अनुभवी विदेशी खेलाडीसँग एउटै टोलीमा खेल्दा नेपाली ब्याटरले दबाबमा ब्याटिङ गर्ने तरिका, बलरले रणनीतिक योजना बनाउने शैली र युवा खेलाडीले व्यावसायिक अनुशासनबारे सिक्ने अपेक्षा छ ।

स्टार खेलाडीको सहभागिता र आईसीसीको मान्यताले एनपीएललाई लगानी तथा व्यावसायिक विस्तारका नयाँ अवसर प्रदान गरेका छन् । प्रतियोगिताले प्रायोजन, विज्ञापन, प्रसारण अधिकार, खेल सामग्री, पर्यटन तथा आतिथ्य क्षेत्रमा आर्थिक गतिविधि बढाएको छ । तर, व्यावसायिक सफलता टिकट बिक्री, प्रायोजन रकम र दर्शकको भीडमा मात्रै सीमित हुँदैन । दर्शकले पाउने अनुभव, प्रसारणको गुणस्तर, प्रतियोगिताको व्यवस्थापन, खेलाडीको पारिश्रमिक र आम्दानीको पारदर्शी उपयोग पनि उत्तिकै महत्वपूर्ण छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १० गते सोमबार