महंगीको चपेटामा विपन्न वर्ग



नेपालगन्ज ।

बाँके नेपालगन्जको रामलीला मैदान बत्तीहरूको सजावटले झिलीमिली थियो । दसैँको अवसरमा मञ्चन हुने रामलीला हेर्न आएका मानिसहरूको चहलपहलबीच झिलिमिली नियालीरहेका थिए नेपालगन्जका सगनु नाग र सुकै तमोलीको दम्पती । सुकैले मिसन संवाददातासँगको कुराकानीका क्रममा भने, ‘बाहिर झिलिमिली छ । हाम्रो अनुहारमा पनि हाँसो देख्नुहुन्छ । तर भित्र त उज्यालो छैन ।’
चार छोरी र एक छोरासहित पाँच सन्तानका बुवा सुकैले भने, ‘दसैँ आउँदा खुसी हुन त पर्छ नै । तर, मनमा भने डर लाग्छ, अब खर्च कहाँबाट जुटाउने भनेर । कमाइधमाइ केही भइरहेको छैन । दसैँ आयो भने खर्च त भइ नै हाल्छ । बजारमा महंगी बढेर झनै समस्या भएको छ ।’

सुकै दम्पतीले भारतबाट पान ल्याएर घरबाटै बेचेर गुजारा गर्दै आएको र पछिल्लो समय व्यापार खस्किरहेको उनले बताए । त्यसैमाथि करिब आठ वर्ष लगातार आमालाई प्यारालाइसिसको उपचार गर्नुपरेपछि आर्थिक स्थिति निकै नाजुक अवस्थामा पुगेको उनीहरूको भनाइ छ । सगनुले आर्थिक अवस्था कमजोर भएकाहरूका लागि दसैँजस्ता चाडबाडहरूमा हुने महंगीले झनै पीडा दिने बताइन् । ‘यस वर्ष बजारमा जे किन्न गए पनि महंगो नै भएको छ । आम्दानी घटिरहेको छ, महंगी बढिरहेको छ ।

कसरी पेट पाल्ने हो, कसरी बालबच्चा पाल्ने भन्ने चिन्ता लागिरहन्छ,’ उनले भनिन् । उनीहरूका सन्तानहरूमध्ये जेठी छोरी १० कक्षामा अध्ययन गरिरहको र घरको स्थिति देखेर काम गर्छु भन्ने गरेको सगुनले बताइन् । ‘उसलाई सेनाको जागिर खाने मन छ । तर, उसले अहिले घरको अवस्था देखेर कतै गएर काम गर्छु भन्छ । हामीले १० कक्षा त जसरी पनि पढाउने भनेका छौँ । अरु छोराछोरीलाई पनि पढाउन मुस्किल छ,’ उनले भनिन् ।

रामलीला मैदानमै भेटिए नेपालगन्ज वडा नम्बर ९ गोसाइँ गाउँका ४२ वर्षीय रामकुमार भुजुवा । उनी रामलीलाको रमाइलो हेर्न त्यहाँ पुगेका थिएनन् । बरु ठेलागाडामा मुमफली भुटेर बेच्नका लागि त्यहाँ पुगेका थिए । दुई छोरा र एक छोरीका पिता उनी दसैँको बेला पनि राति १२ बजेसम्म घर नजाने गरेको बताइरहेका थिए । ‘दिनभरी जति डुलाए पनि बिक्री हुँदैन । बजारमा ठेला डुलाएको देखे नगर प्रहरीले समातेर लैजान्छ । गाउँ–गाउँतिर मात्रै डुलाउनु भन्छ । गाउँमा किनिदिने मान्छे नै हुँदैन । यहाँ अलि–अलि कमाइ हुन्छ कि भनेर राति १२ बजे मात्रै घर जान्छु,’ भुजुवाले भने ।

उनले हातमा बनाएको भगवानको आकृति भएको ट्याटु देखाउँदै भने, ‘हामी हिन्दुहरूको ठूलो चाड हो दसैँ । तर, बजारमा महंगी बढेर धेरै गाह्रो भएको छ । एक सय रूपैयाँँको सामान चाहिने छ भने ५० रूपैयाँँको मात्रै किन्नुपर्ने भएको छ,’ भुजुवाले भने । भुजुवा मुटुका बिरामी रहेछन् । करिब १५ वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका भुजुवा मलेसियामै छँदा मुटुको समस्याको सिकार भएका रहेछन् । त्यसपछि कम्पनीले पूरा उपचार नगरी ज्यान मात्रै बचाएर नेपाल पठाइदिएको रहेछ । नेपाल आएपछि उपचारमा करिब तीन लाख रूपैयाँँ खर्च भएको उनले बताए ।

‘मलेसियाको कमाइले किनेको एक कट्ठा जग्गा बेचेर उपचार गरेँ । काठमाडौँको गंगालालमा उपचार भएको हो । मुटुको अपरेसन भएर टालेको छ,’ उनले भने । अहिले उनलाई आफूसँग भएको कमाइखाने भाँडो ठेलागाडा पनि कुनबेला नगरप्रहरीले जफत गर्छ भन्ने चिन्ता लागिरहने रहेछ । ठेलागाडामा नगर प्रहरीले रातो रंगले गरेको संकेत देखाउँदै भने, ‘अब समातिएमा फिर्ता हुन्न भनेको छ । एकपटक समातेर १८ दिनसम्म राखेपछि जरिबाना तिरेर फिर्ता ल्याएको हुँ । नगर प्रहरी देख्यो कि डर लाग्छ । उनीहरू आए भने दौडिएर ठेला भगाउन पनि सक्दिन । मुटुमा जोर पर्ने काम गर्न मिल्दैन,’ भुजुवाले भने ।

चार जना भाइ रहेका भुजुवाले एउटै घरलाई चार भाग लगाएर चार भाइहरू बसिरहेको बताए । घरले ओगेटको बाहेक अन्त जग्गाजमिन पनि नरहेको उनको भनाइ छ । दसैँ तिहार मनाउने भन्दा पनि ठूलो चिन्ता छोरछोरीको भविष्यको लाग्ने उनले बताए । ‘आफू बिरामी छु । मजदुरी पनि गर्न सक्दिन । गर्न सक्ने यस्तै काम मात्रै हो । यही पनि गयो भने छोराछोरी कसरी पाल्ने ? चिन्ता लाग्छ । डाक्टरले पनि धेरै चिन्ता गरेर मुटुमा समस्या आएको भनेका थिए,’ उनले भने ।

दसैँको उल्लासका बीच सबैको भोगाइ भने उल्लासले नै भरिएको छैन । जसरी, योगेश्वर अमात्यको गीतले भने भन्छ, ‘दसैँ नै हो कि यो मेरो दशा फर्किआएको ।’ दसैँ पर्व आफैँमा खर्चिलो चाड हो । मिठो मसिनो खाएर र राम्रो तथा नयाँ कपडा लगाएर मनाइने मान्यता रहेको यो चाड महंगी बढेकोले झनै खर्चिलो भएको छ । जसले कमजोर आर्थिक स्रोत भएका विपन्न नागरिकहरूलाई सकस भइरहेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो उपभोक्ता मुद्रास्फीतिको तथ्यांकले अघिल्लो वर्षभन्दा यस वर्ष महंगी बढेको देखाएको छ ।

चालू आर्थिक वर्षको भदौमा महंगी दर ६ दशमलव ३४ प्रतिशत कायम भएको छ । जबकी गत आर्थिक वर्षको भदौ महिनामा महंगी एक दशमलव ८७ प्रतिशत मात्रै रहेको थियो । सबैभन्दा बढी मूल्यवृद्धि पनि दसैँमा बढी उपभोग हुने खाद्य तथा पेय पदार्थ समूहमै रहेको छ । उक्त समूको मूल्यवृद्धि साता दशमलव ५४ प्रतिशत हुँदा गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि पाँच दशमलव ६९ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि १.३४ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.७० प्रतिशत थियो । चालू आर्थिक वर्षको भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल मूल्य सूचकाङ्क १६ दशमलव ६८ प्रतिशत, फलफूलको १५ दशमलव ९९ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १२ दशमलव १४ प्रतिशत, माछा तथा मासुको ७ दशमलव ३४ प्रतिशत, तरकारीको ७ दशमलव ०७ प्रतिशत र मरमसलाको ६ दशमलव ७१ प्रतिशतले बढेको पाइएको छ ।

यसैगरी गैरखाद्य तथा सेवा समूहतर्फ यातायातमा १२ दशमलव, कपडा तथा जुत्ताचप्पलको सात दशमलव ०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६ दशमलव ०१ प्रतिशत र सुर्तीजन्य पदार्थको पाँच लशमलव ४५ प्रतिशतले बढेको छ । यस्तै ग्रामीण क्षेत्रमा ६ दशमलव १९ प्रतिशतले महंगी बढेको छ भने प्रदेशमध्ये सबैभन्दा मधेश प्रदेशमा सात दशमलव ४८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा पाँच दशमलव १६ प्रतिशतले बढेको छ । तराईमा ६ दशलमव ८९ प्रतिशत, पहाडमा ६ दशमलव ४१ प्रतिशत र हिमालमा ६ दशमलव ६९ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक २ गते आइतबार