बाँकेबाट जिल्लाबाहिर चाडपर्व मनाउन जानेहरूको घुइँचो



कोहलपुर (बाँके) ।

दसैँ, तिहार तथा छठजस्ता ठूला चाडपर्वहरू नजिकिएसँगै तराई र सहरी क्षेत्रबाट पहाडी जिल्लाहरूतर्फ फर्किने नागरिकहरूको सङ्ख्या ह्वात्तै बढेको छ । असोज २५ गतेबाट यस वर्षको बडादसैँ सुरु भएसँगै रोजगारी, अध्ययन वा व्यवसायका लागि आफ्नो जिल्लाबाहिर रहेका मानिसहरू चाडपर्वमा परिवारसँग खुसी साट्न घर फर्किनेहरूको सङ्ख्या ह्वात्तै बढ्न थालेको हो । चाडपर्वको समयमा गाउँघर जाने मानिसहरूको सङ्ख्या ह्वात्तै बढ्ने हुनाले यातायात क्षेत्रमा विशेष चहलपहल देखिएको छ ।

बाँकेबाट पहाडी तथा हिमाली जिल्लामा चाडपर्व मनाउने जानेहरूको घुइँचो देखिन्छ । बाँकेको नेपालगन्ज र कोहलपुर बसपार्कमा दैनिक हजारौँ यात्रुहरू ओहोरदोहोर गरिरहेका देखिन्छन् । बाँकेको नेपालगन्ज क्षेत्रमा विशेषगरी रोजगारीको सिलसिलामा भारतबाट फर्किनेहरूको घुइँचो देखिन्छ । बाँकेको कोहलपुरस्थित कोहलपुर बसपार्कमा छोटो तथा लामो दूरीको यात्रा गर्ने यात्रुहरूको निकै चहलपहल बढेको छ । कोहलपुर भएर देशको संघीय राजधानीसहितका देशका विभिन्न भू–भागबाट फर्किएका यात्रुहरू गन्तव्यतर्फ जाने गर्दछन् ।

विशेषगरी कोहलपुर बसपार्कबाट सार्वजनिक तथा निजी यातायातमार्फत कर्णालीका दशमध्ये आठ वटा जिल्लामा दैनिक दर्जनौँ सवारी छुट्ने गरेका छन् । कर्णालीका डोल्पा, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख र सल्यानसम्मका यात्रुहरू कोहलपुरबाट जाने गरेका हुन् । कर्णालीका जिल्लाहरूमा वागेश्वरी यातायात प्रालि, राधाकृष्ण यातायात प्रालिका साथै निजी सवारीसाधनसमेत दैनिक रूपमा जाने गरेका छन् । बाँकेबाट कर्णालीका पहाडी र हिमाली जिल्लाहरूमा सबैभन्दा धेरै राधाकृष्ण यातायात प्रालिका सवारीसधान छुट्ने गरेका छन् ।

राधाकृष्ण यातायात प्रालि बाँकेका इन्चार्ज ललित बडुवालका अनुसार दसैँतिहारको चहलपहल बढेसँगै यात्रुहरूको चाप बढेको छ । उनले नेपालगन्जबाट भारतबाट आएका र कोहलपुरबाट काठकाडौँसहितका जिल्लाहरूबाट आएका नागरिकहरू कर्णालीका जिल्लातिर जाने गरेको बताए । उनी भन्छन्, ‘यसपटकको दसैँको चहलपहल सुरु भएको छ । यात्रुको चाप हेरेर हामीले पनि गाडी बढाएका छौँ । तर, विगतको जस्तो धेरै चहलपहल भने छैन ।’ दसैँको चहलपहल सुरु हुनुपूर्व राधाकृष्ण यातायात प्रालिका कर्णालीका जिल्लामा दैनिक १० देखि १५ वटासम्म सवारी कोहलपुरबाट छुट्थे । केही दिनयता भने त्यो सङ्ख्या बढाएर दैनिक न्यूनतम २५ देखि अधिकतम ३० वटासम्म पु¥याइएको छ ।

बिहान र रातिको सिफ्टमा कर्णालीका जिल्लाका लागि गाडी छुट्ने गरेको उनी बताउँछन् । प्रालिले दैनिक हाइस र बसमार्फत नागरिकहरूलाई सेवा दिइरहेको छ । प्रतिहाइसको क्षमता चालकसहित १४ जना र बसको चालकसहित ३४ जनाको क्षमता रहेको छ । बडुवालका अनुसार सवारीमा क्षमताभन्दा बढी यात्रु हाल्ने गरिएको छैन । पहिले दैनिक हुम्लामा तीन वटा, मुगुमा तीन वटा र जुम्ला चार वटा बिहानीपख हाइस छुट्थे । अहिले ती जिल्लाहरूमा उक्त सङ्ख्या दोब्बर बनाइएको छ ।

दैनिक रूपमा केही दिनयता जुम्लामा ६ वटा र जाजरकोट र डोल्पामा बिहान ६ वटा हाइस र रातिको लागि बस तीन वटा छुट्दै आएका छन् । कोहलपुरदेखि हुम्लासम्म हाइस र बसको भाडा प्रतिव्यक्ति ५ हजार ५ सय रूपैयाँँदेखि ६ हजार रूपैयाँँसम्म तोकिएको छ । जुम्लाको सिंजासम्म पुग्नको लागि हाइसमा जाँदा प्रतिव्यक्ति २ हजार ५ सय रूपैयाँँ भाडा तिर्नुपर्छ । अहिले सबैभन्दा बढी विद्यार्थी र व्यापारीहरू बढी यात्रा गरिरहेको राधाकृष्णा यातायात प्रालिले जनाएको छ । यस्तै, बागेश्वरी यातायात प्रालिले समेत कोहलपुरदेखि दैलेखसम्म सेवा दिइरहेको छ ।

दसैँतिहारसहितका चाडपर्वहरूलाई लक्षित गरेर गाडीको सङ्ख्या बढाउने तयारी गरिरहेको अध्यक्ष मनप्रसाद आचार्य बताउँछन् । उनका अनुसार अब प्रालिले जुम्ला र हुम्लासम्म सेवा दिनेगरी कार्यक्षेत्र विस्तारको तयारी गरिरहेको छ । यतिमात्रै होइन निजीस्तरबाट नेपालगन्जदेखि जुम्लासहितका कर्णालीका जिल्लाहरूमा तिला कर्णाली यातायात र देउती यातायात प्रालि लगायतका गाडीसमेत नियमित रूपमा सञ्चालन भइरहेका छन् ।

चाडपर्व मनाउन जन्मथलो फर्किँदै मुग्लानी

जुम्लाको तातोपानी–२ जर्मी गाउँका छत्रबहादुर परियार पाँच वर्षपछि जन्मथलो फर्किँदैछन् । उनी भारतमा स–परिवार मजदुरी गर्छन् । आफू पाँच वर्षपछि दसैँतिहार मनाउन घर फर्किएको बताउँछन् । उनी छोराछोरी र श्रीमती भारतमै छोडेर आएका हुन् । बाँकेको कोहलपुरस्थित बसपार्कमा मंगलबार दिउँसो भेटिएका उनी घर जानको लागि गाडी खोजिरहेका थिए । उनका अनुसार बसपार्कमा घर फर्किनेहरूको निकै घुइँचो लागेकोले गाडी पाउन निकै मुस्किल परेको छ ।

करिब आधा घण्टाको पर्खाइपछि उनले बल्ल गाडी पाए । उनले भने, ‘हायसमा जान खोजेको पाइएन । अन्ततः बसमै जानुपर्ने भयो । सामान धेरै भएका कारण हायसमा जानै पाइएन ।’ हुन पनि धेरै वर्षपछि जन्मथलो फर्किएका उनले घरका सदस्य र छिमेकीहरूका लागि धेरै कोसेली ल्याएका छन् । चार दिनअघि भारतको हिमाञ्चलबाट हिँडेका उनी घर पुग्न आतुर छन् । मुगुको छायानाथ नगरपालिका वडा नम्बर ९ का रामकृष्ण भाम पनि बसपार्कमै भेटिए । उनी काठमाडौँमा लोकसेवा आयोगको तयारी गरिरहेका छन् । सोमबार मात्रै उनी कोहलपुर पुगेका हुन् ।

भामसँग ६ जना साथीको टोली छ । उक्त टोलीले सँगै मुगु जानका लागि गाडी खोजिरहेको थियो । आफूहरूले बिहान नै गाडीमा जान खोजेपछि साँझतिर मात्रै जाने बसमा टिकट पाइएको बताए । उनले भने, ‘म त दुई वर्षपछि फर्किँदैछु । यसपटक समय मिलेकोले छिट्टै हिँडेको हो । साथीहरूसँग रमाइलो गर्दै आइयो । अब ढिलोमा दुई दिनमा घर पुगिन्छ होला ।’ उनीसँगै भेटिएका सन्तबहादुर विश्वकर्माले पनि धेरै वर्षपछि आफू दसैँ मनाउन घर जान लागेको बताए । उनका अनुसार घरमा आमा बुबा मात्रै छन् ।

बुढेसकालका बाआमालाई कोसेली बोकेर जन्मथलो हिँडेका छन् उनी । कर्णाली राजमार्गको बाटो कष्टकर भएका कारण सुरक्षित यात्राको कामना गरिरहेको उनले बताए । उनीहरू त प्रतिनिधि पात्र मात्र हुन् । अहिले दैनिक रूपमा नेपालका विभिन्न जिल्लाका साथै भारत लगायतका क्षेत्रबाट बाँकेबाट हजारौँ नागरिक कर्णाली प्रदेशका पहाडी र हिमाली जिल्लामा जाने गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १ गते शनिबार