जेनेरेटर बिग्रिँदा कोहलपुर शवदाह गृहमा समस्या



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित कोहलपुर शवदाह गृहमा जेनेरेटर बिग्रिँदा अन्त्येष्टिमा समस्या भएको छ । कोहलपुर नगरपालिकाको स्वामित्वमा सञ्चालन भइरहेको जेनेरेटर बिग्रिँदा शवदाहमा समस्या भएको हो । २०८२ सालदेखि सञ्चालनमा आएको शवदाह गृहमा जडान गरिएको विद्युतीय जेनेरेटर बिग्रिएको महिनौँ बितिसकेको छ । गत असार महिनामा बिग्रिएको जेनेरेटर अझै मर्मत हुन नसकेको हो ।

शवदाह गृहमा दैनिक अधिकतम पाँच वटासम्म शवदाह हुने गरेका छन् । शवदाह गृहमा जडान गरिएको विद्युत् प्रणालीमा समस्या हुँदा त झन् कहिलेकाहीँ शव फर्काउनुपर्ने बाध्यता रहेको स्थानीयहरू बताउँछन् । त्यसमाथि बिग्रिएको जेनेरेटर मर्मत नहुँदा र त्यसको विकल्प नखोज्दा झन् समस्या उत्पन्न भएको हो । जेनेरेटर बिग्रिएको महिनौँ बित्दासमेत मर्मत नहुँदा स्थानीयस्तरबाटै नगरपालिकाविरुद्ध विरोध सुरु भएको छ । कोहलपुर नगरपालिकाले जेनेरेटर मर्मतमा ध्यान दिन नसकेको भन्दै विरोध सुरु भएको हो ।

शवदाह गृहमा जडान गरिएको विद्युत् प्रणाली अफ हुँदा र लामो समय लोडसेडिङ हुँदा राप्ती सोनारीस्थित अगैया जानुपर्ने बाध्यतामा सेवाग्राही रहेका छन् । यतिमात्रै नभएर कहिलेकाहीँ धेरै लास आउँदा झनै समस्या आउने गरेको छ । स्थानीय दुर्गाबहादुर रावलले जेनेरेटर बनाउन कोहलपुर नगरपालिका र लोडसेडिङ हुँदा विद्युत् प्राधिकरणले ध्यान दिन नसकेको बताए । उनका अनुसार सरोकारवाला निकायको यस्तो लापरबाहीले सेवाग्राही मर्कामा परेका छन् ।

उनले भने, ‘बिग्रेको जेनेरेटर बेलैमा बनाइदिनुप¥यो । शवदाह गृहमा व्यवस्थापन राम्रो नभएका कारण जनताले दुःख पाएका छन् ।’ शवदाह गृहमा मेसिन राखेर मात्रै नहुने भन्दै जनतालाई शुलभ सेवा दिनुपर्नेमा उनले जोड दिए । नगरपालिकाले जेनेरेटर केवल देखाउनका लागि मात्रै राखेको भन्दै अहिले नगरपालिकाको चर्को आलोचना भइरहेको छ । कोहलपुर शवदाह गृहमा स्थापनाकालदेखि नै शवदाह, रेखदेख तथा व्यवस्थापन गरिरहेका बेतालु थारूले गत असार महिनादेखि जेनेरेटर बिग्रिएको बताए । उनका अनुसार जेनेरेटर बिग्रिएकै दिन नगरपालिकालाई जानकारी गराइएको थियो ।

उनले भने, ‘जेनेरेटर बिग्रिएको धेरै भयो । यसले शवदाहमा समस्या भइरहेको छ । सधैँ त छैन तर लामो समय लोडसेडिङ हुँदा भने गाह्रो हुन्छ । हामीलाई सेवाग्राहीहरूले समेत गुनासो गर्नुहुन्छ । मैले व्यक्तिगत रूपमा केही पनि गर्न सक्दिनँ ।’ स्थापनाकालदेखि हालसम्म दैनिक अधिकतम पाँच वटासम्म शवदाह गरिएको उनको भनाइ छ । शवदाह गृहमा दैनिक अधिकतम चारदेखि न्यूनतम् दुई वटासम्म शवदाह हुने गरेको छ । थारूले शवदाह गृहमा अन्य समस्यासमेत रहेको सुनाए । पर्खाल र गार्ड रूमसमेत नहुँदा आफूहरूले समस्या भोगिरहेको थारूले बताए ।

यता, कोहलपुर नगरपालिकाले भने कुनै पनि समस्या नरहेको प्रष्टीकरण दिएको छ । बाहिरी क्षेत्रबाट कोहलपुरमा शवदाहका लागि आएका केही व्यक्तिहरूले अतिरञ्जित गरेको नगरपालिकाले जनाएको हो । कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापा शवदाह गृहमा कुनै पनि समस्या नहरेको दाबी गर्छन् । उनका अनुसार जेनेरेटर बिग्रिएको भनिएको छ, तर अहिलेसम्म शवदाहका लागि भनेर जेनेरेटर नै जडान गरिएको छैन । कोहलपुर नगरपालिकाले स्थापनाकालदेखि एउटै मेसिनमा दाउराले शवदाह गरिरहेको नगर प्रहरी प्रमुख थापाले बताए ।

उनले भने, ‘अहिले बिग्रेको भनिएको जेनेरेटर शवदाहका लागि होइन । बत्तीका लागि हो । अनावश्यक हल्ला गरियो । शवदाह गृहमा कुनै पनि समस्या छैन । त्यहाँ नगरपालिकाले राम्रो व्यवस्थापनसहित सञ्चालन गरिरहेको छ ।’ शवदाह गृहमा शवहरूको सङ्ख्या बढ्न थालेपछि अर्को मेसिन थप्ने तयारी गरिरहेको उनले बताए । शवदाहको प्रयोजनका लागि १५ केभी क्षमताको ठूलो जेनेरेटर जडानको प्रक्रिया सुरु गरिएको थापाको भनाइ छ ।

कोहलपुर शवदाह गृह २०८२ जेठ १७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको थियो । सुरुको ६ महिनासम्म शवहरू निःशुल्क दाह गरिएको थियो । सोही वर्षको मंसिर महिनादेखि भने नगरपालिकाले शुल्क निर्धारण गरेको थियो । अहिले कोहलपुर नगरपालिकाले प्रतिलासको २५ रूपैयाँँ शुल्क तोकेको छ । शव व्यवस्थापक थारू भन्छन्, ‘कोहलपुर नगरपालिकाभित्रका असहाय र पीडित तथा बाढीपीडितलाई निःशुल्क सेवा दिइरहेका छौँ । यस्तै वृद्धाश्रमका शवसमेत निःशुल्क दाह हुँदै आएको छ । बाहिरी जिल्लाका आर्थिक रूपमा विपन्न नागरिकहरूले समेत यस्तो सेवा पाइरहेका छन् । स्थापनाकालदेखि हालसम्म कूल २८६ वटाभन्दा बढी शवदाह भइसकेका छन् ।’

  • No tags available
प्रकाशित मिति : २०८३ असोज २० गते मंगलबार