वर्षाले ठूलो मानवीय र भौतिक क्षति



काठमाडौँ ।

असोज ८ गतेबाट सुरु भएको अविरल वर्षाका कारण देशभर ठूलो मानवीय र भौतिक क्षति हुन पुगेको छ । वर्षाजन्य विपद्मा परी पछिल्लो चार दिनमा देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्बाट चार दिनमा कम्तीमा पनि १५ जनाको मृत्यु भएको छ भने विद्युत् प्रणाली, सडक तथा पुलजस्ता भौतिक संरचनामा पनि ठूलो क्षति हुन पुगेको छ । क्षतिको विस्तृत विवरण सरकारले अझै सार्वजनिक गरेको छैन । यद्यपि सार्वजनिक भएका खबरहरूले अविरल वर्षाले मानवीय क्षतिसँगै भौतिक क्षति पनि ठूलै भएको देखाएका छन् भने विपद्को प्रभाव हिमालदेखि तराईमधेश सबै क्षेत्रमा परेको देखिएको छ ।

प्रहरीका अनुसार आइतबार साँझसम्म विपद्मा परी बागमती प्रदेशमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र मधेस प्रदेशमा एक जनाको मृत्यु भएको छ । तर, विपद्का घटनामा खोज तथा उद्धार कार्य जारी रहेकाले यो संख्या बढ्ने देखिन्छ । आइतबार मनाङको हिमलुङ हिमालमा हिमपहिरो जाँदा ठूलो मानवीय क्षति हुन पुगेको छ । उक्त हिमपहिरोमा परी कूल १६ जना बेपत्ता रहेकोमा आइतबार बेलुकीसम्म दुई जना मृत फेला परेको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले जनाएको छ । एसोसियसनले अझै १४ जना बेपत्ता रहेका पनि दाबी गरेको छ ।

एसोसिएसनका अनुसार हिमपहिरोका कारण १४ किचेन स्टाफ र २ पर्वतारोहण गाइड बेपत्ता भएका थिए । उनीहरू फरक–फरक कम्पनीबाट त्यहाँ पुगेको समेत एसोसिएसनले जनाएको छ । यसैगरी, आइतबारै बाग्लुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।घरमाथिबाट अकस्मात खसेको पहिरोले घर पुरिँदा ३९ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १२ वर्षका मनोज विक, ९ वर्षका मुकेश विक र ५ वर्षका निसन विक रहेको प्रहरीले जनाएको छ ।

मधेश प्रदेशको धनुषामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मिथिला नगरपालिका–११ स्थित आँपगाछी टोलका एक तले घरमाथि पहिरो खस्दा ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार परिवारका अन्य चार जना सदस्यले भने भागेर ज्यान बचाएका थिए । सुदूरपश्चिमको कञ्चनपुरको बेलौरी नगरपालिकाका एक जनाको नालामा डुबेर ज्यान गएको छ । ३९ वर्षीय महेश केसी भङ्गी नालामा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । गए रातिदेखि परिवारको सम्पर्कमा नरहेका केसी खोजीपछि भङ्गी नालामा मृत अवस्थामा फेला पारिएको थियो ।

अविरल वर्षाकै कारण पाल्पामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । शुक्रबार एक जना र शनिबार राति ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार रुब्दीकोट गाउँपालिकामा ५९ वर्षीय कृष्णकुमारी सारुको मृत्यु भएको थियो । यसैगरी, माथागढी गाउँपालिका–३ भसकटामा शनिबार राति पहिरोमा पुरिएका ३ जनाको मृत्यु भएको हो । एउटै घरमा पुरिएका ७५ वर्षीय लिल बहादुर घर्तिमगर, उनकै छोरी १९ वर्षीया दिना घर्तिमगर र सोही घरमा बस्न गएकी १५ वर्षीया झरना घर्तिको मृत्यु भएको हो ।

यसैगरी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा आइतबार पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । गिवाङकी ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५६ वर्षीया दोमाया गर्बुजाको ज्यान गएको हो । पछिल्लो वर्षाले सबैभन्दा बढी क्षति गण्डकी प्रदेशमा भएको छ । गण्डकीका बाग्लुङ, म्याग्दी, पर्वत, मुस्ताङ, स्याङ्जा र तनहुँ लगायतका जिल्लामा क्षति बढी भएको पाइएको छ । मुस्ताङदेखि नै कटान गर्न सुरु गरेको कालीगण्डकी नदीले म्याग्दी र पर्वतमा ठूलो क्षति पु¥याएको जनाइएको छ । पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीले बस्ती नै बगाएको छ ।

पर्वतका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार फर्सेमा ६७ वटा घर बगेका छन् भने २३ वटा घर उच्च जोखिममा परेका छन् । लगातारको वर्षापछि मनाङमा पनि बाढीले केही घर, पुल र कज–वे बगाएको छ भने मनाङमा बिजुली र सन्चार सम्पर्क नै विच्छेद भएको छ । अविरल वर्षापछि विभिन्न खोलामा आएको बाढीले १० घरमा पूर्ण रूपमा क्षति पुगेको र घरहरू डुबानमा परेका प्रहरीले जनाएको छ । विपद्का कारण १७९ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने २८ वटा घरमा आंशिक क्षति पुगेको जनाइएको छ । प्रारम्भिक तथ्यांकअनुसार प्रदेशभरका पाँच सय १२ घरपरिवारका एक हजार ६ सय ८४ जना नागरिक विस्थापित तथा प्रभावित हुन पुगेका प्रहरीले जनाएको छ । देशभर भएको क्षतिको पूर्ण विवरण भने अझै सार्वजनिक भइसकेको छैन ।

१३ सय मेगावाट विद्युत् प्रणाली प्रभावित

देशका विभिन्न भूभागमा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले विद्युत् उत्पादन र प्रशारण प्रणालीमा पनि ठूलो असर परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्रसारण लाइन, उत्पादन केन्द्र तथा वितरण लोडमा धेरै असरका कारण देशैभर एक हजार तीन सय ३ मेगावाट बराबर विद्युत् प्रणाली प्रभावित भएको छ । जलविद्युत् आयोजनाका हेडवक्र्स र बाँधस्थलमा क्षति पुगेको र मुख्यतः कालिगण्डकी करिडोर तथा मस्र्याङ्दी करिडोरका प्रसारण लाइन, सबस्टेसन र आयोजनाहरूमा बाढीले असर गरेको मन्त्रालयले जनाएको छ ।

भदौ १० गते रसुवा र नुवाकोटमा भोटेकोशी नदीमा आएको भीषण बाढीले ४३० मेगावाट विद्युत् उत्पादन ठप्प पारेकोमा पछिल्लो वर्षाले पनि विद्युत्मै ठूलो असर गरेको छ । लगातारको वर्षापछि आएको बाढी कालीगण्डकी करिडोरको २२० केभी प्रसारण लाइनमा क्षति पुगेको छ । म्याग्दी र पर्वतलाई जोड्ने दाना–कुश्मा खण्ड पहिरो र बाढीका कारण यस करिडोरमा जोडिएका १२ वटा जलविद्युत् आयोजनाबाट एकैपटक विद्युत् प्रवाह रोकिएको छ । तीन सय ५८ दशमलव २ मेगावाट बिजुली राष्ट्रिय ग्रिडबाट बाहिरिँदा पश्चिम नेपालको लोड सन्तुलनमा ठूलो धक्का पुगेको प्राधिकरणले जनाएको छ ।

यसैगरी गत बुधबार मात्रै राष्ट्रिय प्रणालीमा जोडिएको राहुघाट जलविद्युत् आयोजना व्यावसायिक उत्पादनको संघारमै बाढीको सिकार बनेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडद्वारा म्याग्दीमा निर्मित ४० मेगावाटको उक्त आयोजनामा बाढीले सिभिल तथा हाइड्रोमेकानिकल संरचनामा क्षति पु¥याएको छ । यस्तै मस्र्याङ्दी नदी बेसिनमा लमजुङ र मनाङ क्षेत्रमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाहरूमा बाढीले ठूलो क्षति पुगेको छ । उक्त करिडोरमा मस्र्याङ्दी नदिमा आएको बाढीले माटो, ढुङ्गा र गेग्रान बाढीसँगै बगेर आउँदा नदीमा लेदो जम्मा हुँदा टर्बाइनका ब्लेडहरू काट्ने र मेसिन नै ध्वस्त पार्ने उच्च जोखिम भएपछि लमजुङका दुई ठूला आयोजनाले उत्पादन पूर्ण रूपमा बन्द गरेका छन् ।

ऊर्जा मन्त्रालयका अनुसार पोखरा, बुटवल, हेटौँडा र काठमाडौँ उपत्यकाका मुख्य वितरण हबहरू बाढीको प्रत्यक्ष मारमा परेका छन् । पोखरा आसपासका जलविद्युत् आयोजनाहरूबाट मात्रै चार सय मेगावाटभन्दा बढी क्षमताको उत्पादन तथा आपूर्ति प्रभावित भएको छ । एक सय ४४ मेगावाटको कालीगण्डकी ‘ए’ , अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी र मोदीलगायत आयोजनाहरू बाढी, नदीको सतह वृद्धि र प्रसारण लाइनमा आएको फाल्टका कारण प्रभावित भएका छन् ।

बाढीका कारण मुख्य प्रसारण लाइनहरू आउट भएपछि प्रणालीको सन्तुलन कायम राख्न प्राधिकरणले विभिन्न सबस्टेसनहरूमा बाध्यतावश लोड कटौती गरिरहेको जनाएको छ । यसबाट तराइका मुख्य औद्योगिक कोरिडोरहरू अमलेखगञ्ज, परवानीपुर तथा वीरगन्ज क्षेत्रका उद्योगहरूमा करिब ८० मेगावाट लोड कटौती गरिएको छ भने सुनवल–मैनिया र बुटवल क्षेत्रका उद्योगमा ५० मेगावाट कटौती गरिएको छ । यसैगरी, सिमरा सबस्टेसनमा २० मेगावाट, काभ्रे सबस्टेसनमा २५ मेगावाट, कावासोती सबस्टेसनमा २० मेगावाट र हरदी सबस्टेसनमा २५ मेगावाट लोड कटौती भएको प्राधिकरणले जनाएको छ ।

यसैगरी, प्राकृतिक विपत्तिले पारेको क्षतिको सामना गर्न नेपाल विद्युत् प्राधिकरणले उच्च सतर्कता अपनाएको पनि जनाएको छ । प्राधिकरणले क्षति पुगेका मुख्य २२० केभी तथा १३२ केभी प्रसारण लाइनहरूमा वैकल्पिक सर्किट चार्ज गर्ने प्रयास गरिरहेको जनाएको छ भने नदीको बहाव घट्नासाथ मध्य–मस्र्याङ्दी, माथिल्लो मस्र्याङ्दी र पोखरा क्षेत्रका बन्द युनिटहरू पुनः सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १२ गते सोमबार