विपत्तिले अन्योलतामा पर्यटन क्षेत्र



वीरेन्द्र जैसी । नेपालगन्ज ।

‘युवा पुस्ताले नेतृत्व गरेको सरकार आएको थियो । पाँच वर्ष ढुक्कले चल्न सक्ने सरकार भएपछि त्यसले संसारभरी सकारात्मक सन्देश गएको थियो । पर्यटन क्षेत्र पनि उत्साहित थियो । तर, पछिल्लो विपत्तिले अब कस्तो अवस्था आउँछ भन्ने अन्योलताको अवस्थामा पु¥याएको छ,’ यो भनाई होटल एसोसिएसन बर्दियाका अध्यक्ष मोहन चौधरीको हो । चौधरीले अहिले कोरोनापछि उकालो लाग्दै गरेको पर्यटन क्षेत्रलाई फेरि अर्काे विपत्तिले धक्का दिने अवस्था देखिएको उनले बताए ।

चौधरीकै जस्तो अनुभूति नेपालको पर्यटकीय नगरी भनेर चिनिने पोखराका पर्यटन व्यवसायीहरूले पनि गरिरहेका छन् । होटल एसोसिएसन गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैरेले अहिले पर्यटन क्षेत्रका बारेका यस्तै हुन्छ भन्न सकिने अवस्था नरहेको बताए । उनले पर्यटकीय सिजनका हिसाबले यो सिजन कम्तिमा पनि ८० देखि ९० प्रतिशत होटल रुम अकुपेन्सी हुने सिजन भएपनि अहिले १० प्रतिशत हाराहारी मात्रै अकुपेन्सी रहेको बताए । ‘अहिले धेरै बुकिङहरू रद्ध भएका छन् । अहिले हाम्रो १० प्रतिशत पनि अकुपेन्सी नभएको अवस्था छ । बाढी लगायतका विपत्तिको ठूलो प्रभाव अहिले पर्यटन क्षेत्रले भोगिरहेको छ । अझैपनि हामी यो कहाँसम्म जान्छ भन्ने भन्नसक्ने अवस्थामा छैनौँ,’ गैरेले भने ।

नेपालगन्ज पर्यटन परिषद्का अध्यक्ष केशव न्यौपाने पर्यटकहरूका लागि नेपालको कुन भुभागमा समस्या भएको भन्नेकुराले अर्थ नराखेर कुनै एक ठाउँमा समस्या हुँदा त्यसले समग्र देशकै पर्यटन प्रभावित हुने गरेको बताउँछन् । विभिन्न देशहरूले बाढीपछि एड्भाइजरी जारी गरेकोले पनि पर्यटकहरूलाई निर्णय लिन सोच्नुपर्ने अवस्था आएको हुनसक्ने न्यौपानेको भनाइ छ । ‘भारतबाट केही मिस्त्रीहरूलाई हाम्रो धनगढीको होटलमा बोलाउनुपर्ने थियो । तर उनीहरू बाढी पहिरोको समाचार सुनेकोले आउन डराए । त्यसपछि मलाई लाग्यो, यसको असर विदेशमा त झनै नकारात्मक परेको होला । पर्यटन दिवसकै दिन पारेर भारतबाट मानसरोवर जान आउने भनेका पर्यटकहरू पनि नआउने भएका छन्,’ न्यौपानेले भने ।

होटल एसोसिएसन भक्तपुरका अध्यक्ष कृतन अवालले पनि रसुवा बाढीको समाचारले पर्यटकहरूको आवागमन घटेको बताए । उनले सेप्टेम्बर महिनादेखि पर्यटक धेरै आउने सिजन सुरु हुने भएपनि त्यस्तो अवस्था नदेखिएको बताए । उनले बाढीपछि बुकिङ रद्ध हुने क्रम पनि बढेको बताए । ‘यो खासमा ओभर बुक हुने सिजन हो । तर यसपटक त्यस्तो प्रवृत्ति देखिएको छैन् । हाम्रो अलिकति संवेदनशील देश भएकोले र एक ठाउँमा केही हुँदा देशैभरी त्यसको असर पर्ने रहेछ । हिजो इन्द्रजात्रामा पनि पहिलेजस्तो पर्यटहरू देखिएन,’ अवालले भने ।

यद्धपि पछिल्लो वर्षा सुरु हुनुअघि केही बुकिङहरू आउने क्रममा रहेको र पर्यटकहरू बढेको जस्तो देखिएकोले मौसम सफा भएसँगै पर्यटकको आवागमनमा सुधार हुनसक्ने अपेक्षा गर्न सकिने अवालको भनाइ छ । बर्दियाका पर्यटन व्यवसायी चौधरी पनि नेपालसँग पर्यटकहरूलाई आकर्षित गर्ने धेरै थोक भएकोले निराशाजनक अवस्था नै नआउने अपेक्षा गर्छन् । बर्दियाको सन्दर्भमा बाघको सङ्ख्या दोब्बर भएको र पहिले आएका पर्यटकहरूको प्रतिक्रियाहरू मिडियामा सकारात्मक रहेकोले पर्यटकहरू बढ्ने उनको बुझाइ छ ।

स्थायी सरकारले स्थायी पर्यटकीय नीति बनाउन सकेमा र बिग्रेका पर्यटन पूर्वाधारको पुनर्निर्माण तथा देशको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिन प्रचार प्रसारमा सरकारी लगानी बढाउन सकिएमा पर्यटकहरूलाई आकर्षित गर्न सकिने पर्यटन व्यवसायीहरूको भनाइ छ । पछिल्ला विपत्ति, मौसमको खराबी लगायतका कारणले यस वर्ष विश्व पर्यटन दिवसको अवसर पारी आयोजना गरिएका कार्यक्रमहरू पनि प्रभावित हुने भएका छन् । पर्यटन दिवसमा कार्यक्रमहरू आयोजना गरेका संघसंस्थाका प्रतिनिधिहरूले कार्यक्रम हुने नहुने अन्यौलता रहेको बताएका छन् ।

पर्यटनका लागि उतारचढावपूर्ण दशक

नेपालको पर्यटनका लागि पछिल्लो दशक उतार चढावपूर्ण रह्यो । २०७३ सालदेखि ७६ सालसम्मको पर्यटक आवागमनको तथ्यांक उकालो लाग्दालाग्दै कोरोना महामारी आएपछि ओरोलो लागेको थियो । पुनः ७९ सालबाट पुनः उकालो लागेको नेपालको पर्यटन गत वर्षसम्म बढ्ने क्रममै रहेको थियो । यसवर्ष पुनः इतिहासकै ठूलो मानिएको हिमाली बाढीले पर्यटन क्षेत्रलाई पुनः हल्लाइदिएको छ । यसको असर कति लामो जान्छ भनेर अझै अनुमान गर्न नसकिने अवस्था रहेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

यद्धपि नेपालमा पर्यटकहरूका लागि अनेक विकल्पहरू रहेकोले धेरै ठूलो असर गर्ने अवस्था नरहने अपेक्षा गर्न भने सकिने उनीहरूको बुझाइ छ । गएको दशकमा ८३ लाख ८४ हजारभन्दा बढी पर्यटकहरू नेपाल आएका छन् भने वार्षिक पर्यटकको औसत आठ लाख ३८ हजार चार सय १९ रहेको छ । तर, २० ७७ र २०७८ सालमा कोरोना महामारीका बेला पर्यटकहरू घटेर तथ्यांक क्रमशः दुई लाख ३० हजार र एक लाख ५१ हजारमा झरेको थियो । गएको दशकमा नेपालमा आएका पर्यटकहरूमध्ये सबैभन्दा धेरै ६० दशमलव २ प्रतिशन पर्यटक मनोरन्जनका लागि आएका थिए भने १४ दशमलव ४ प्रतिशत पर्यटक तीर्थयात्रीको रुपमा र १४ दशमलव २ प्रतिशत पदयात्रा र पर्वतारोहणका लागि आएका थिए ।

हिमाली क्षेत्रमा आएको बाढीले विशेषगरी पदयात्रा र पर्वतारोहणका लागि आउने पर्यटकहरू सबैभन्दा बढी प्रभावित हुनसक्ने पर्यटन व्यवसायीहरूको अनुमान छ । नेपालमा आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारत, त्यसपछि अमेरिका र चीनका नागरिकहरू रहेका छन् । सन् २०२५ मा भारतबाट करिब दुई लाख ९३ हजार, अमेरिकाबाट एक लाख लाख १३ हजार, चीनबाट ९६ हजार, बेलायतबाट ५९ हजार, बङ्गलादेशबाट ५८ हजार, अष्ट्रेलियाबाट ५० हजार, श्रीलङ्काबाट ३८ हजार, थाइल्याण्डबाट ३० हजार, जर्मनीबाट ३० हजार, जापानबाट २५ हजार र अन्य मुलुकबाट तीन लाख ७१ हजार पर्यटक नेपाल आएका थिए ।

पर्यटकीय पूर्वाधारमा उल्लेखनीय सुधार 

नेपालमा पछिल्लो दशमा पर्यटकीय पूर्वाधारमा भने उल्लेखनीय सुधार भएको तथ्यांकले देखाउँछ । पर्यटन मन्त्रालयको तथ्यांकअनुसार पर्यटन क्षेत्रको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनदेखि होटेलसम्मको पूर्वाधारमा उल्लेखनीय वृद्धि भएको छ । २०७३ सालमा स्टार तथा पर्यटक स्ट्यान्डर्ड होटलहरूको सङ्ख्या ३८ हजार दुई सय ४२ रहेकोमा २०८२ सालसम्म आइपुग्दा उक्त सङ्ख्या ६४ हजार एक सय ३४ वटा पुगेको छ । यस्तै पर्यटक गाइडहरू एक दशकअघि दुई सय सात जना रहेकोमा गत वर्षसम्म चार सय ३७ भन्दा बढी पुगेको छ ।

यसैगरी दक्ष पर्यटन जनशक्ति उत्पादनमा उल्लेखनीय प्रगति भएको पाइएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबाट २०७३ सालमा दुई हजार सात सय ८४ जना जनशक्ति उत्पादन गरकोमा गतवर्षसम्म उक्त सङ्ख्या ३१ हजार तीन ३३ जना पुगिसकेको छ । त्यसैगरी, नेपाल पर्वतीय पर्यटन प्रतिष्ठानबाट पनि आठ हजार चार सय ७३ जना दक्ष जनशक्ति उत्पादन भइसकेका छन् । यसैगरी, पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सेवा प्रदायक संस्था तथा मानव संसाधनहरूको दर्ता सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ ।

यस अवधिसम्म ट्राभल एजेन्सी पाँच हजार ९९, ट्रेकिङ एजेन्सी तीन हजार तीन सय ३२ र न्याफ्टिङ एजेन्सी ९८ वटा दर्ता भई सञ्चालन भइरहेका मन्त्रालयको तथ्यांकमा देखिन्छ । यसैगरी पर्यटक यातायात सेवा प्रदायक एक सय ६३, टुर गाईड पाँच हजार चा सय ६६, ट्रेकिङ गाईड २७ हजार नौ सय ६२ र रिभर गाईड चार सय ३७ जना दर्ता भएका छन् । सन् २०२५ सम्म आइपुग्दा नेपालको हवाई यातायात क्षेत्र उल्लेखनीय रूपमा विस्तार भएको देखिन्छ । यस अवधिसम्म अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने वायुसेवा कम्पनीहरूको सङ्ख्या ३२ पुगेको छ, जसममध्ये पाँचवटा नेपाली र २७ विदेशी वायुसेवा कम्पनीहरू रहेका छन् ।

यससँगै नेपालले विभिन्न देशहरूसँग गरेको द्विपक्षीय हवाई सेवा सम्झौताहरूको सङ्ख्या पनि बढेर ४२ पुगेको वार्षिक दुइतर्फी हवाई सिट क्षमता ९१ लाख ९१ हजार सात २८ पुगेको छ । आन्तरिक उडान सेवामा पनि २० वायुसेवा कम्पनीहरू सञ्चालनमा रहेका छन् । देशभर ३५ वटा विमानस्थल सञ्चालनमा रहेका छन् । यी तथ्यांकहरूले नेपालको पर्यटन उद्योग र पर्यटकीय पूर्वाधारहरू क्रमशः विस्तार तथा विकसित हुँदै गएका देखाउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार