
गम्भीर घाइतेलाई एम्बुलेन्समार्फत भारतको लखनउ लगिदैँ
राप्तीसोनारी (बाँके) ।
बाँकेको राप्तीसोनारी गाउँपालिका– ९ ढकेरी बजारमा एक व्यवसायीसहित दुई जनामाथि एक समूहले खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट एक व्यवसायीसहित दुईजना गम्भीर घाइते भएका छन् । ढकेरी प्रहरी बिटको छेउमै शुक्रबार साँझ करिब सात बजेको समयमा दुईजनामाथि खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट ढकेरी बजारमा व्यवसाय गर्ने स्थानीय राजकुमार खत्री र सेवाग्राही स्थानीय कमल ओली गम्भीर घाइते भएका छन् । स्कुटरमा आएका दुई जनाले उनीहरूमाथि खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते खत्री र ओलीको शिक्षण अस्पताल कोहलपुरमा प्रारम्भिक उपचारपछि शुक्रबार राति नै भारतको लखनउ रिफर गरिएको छ ।

गम्भीर घाइते कमल ओली
दुवै जनाको हाल लखनउमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्नेमध्ये एक जनालाई स्थानीयले पक्राउ गरेर इलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मा लगाएका छन् । घटनामा प्रयोग भएको एक थान स्कुटर र खुकुरीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी नियन्त्रणमा रहनेमा कोहलपुरका राजु बोहरा रहेका छन् । आरोपित बोहरा समेत स्थानीयको कुटपिटबाट सामान्य घाइते भएका छन् । उनी यसअघि पनि कोहलपुर क्षेत्रमा हुने गुण्डागर्दीमा संग्लन व्यक्ति हुन् । घटनामा संग्लन अन्य एक जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्