कोहलपुर प्रहरीको तीनसय मिटरमै अनलाइन जुवाको ¥याकेट, महिनौंसम्म प्रहरी बेखबर



वीरेन्द्र जैसी ।

बाँकेको कोहलपुर नगरपालिकाको केन्द्रभागमा पर्ने एक चर्चित होटल–जो इलाका प्रहरी कार्यालय कोहलपुरबाट करिब तीन/चारसय मिटरको दूरीमा पर्छ, त्यही होटलमा भारतीय नागरिकहरूसमेतको संलग्नतामा अनलाइन जुवा र सट्टेबाजी हुँदै आएको खुलासा भएको छ । जिल्ला प्रहरी बाँकेले उक्त होटलमा छापा मारी ठूलो सङ्ख्यामा भारतीय नागरिकहरू र केही नेपाली नागरिकहरू पक्राउ गरेपछि उक्त खुलासा भएको हो ।

स्रोतका अनुसार उक्त होटलमा कम्तीमा पनि चार महिनादेखि शंकास्पद गतिविधिहरू भइरहेका थिए । तर, करिब तीन/चारसय मिटर नजिकै रहेको र डीएसपीको नेतृत्वमा रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले यसबारेमा कुनै सुइँको पाएन । बरु जिल्ला प्रहरी कार्यालय बाँकेमा उक्त विषयमा सूचना आएको र जिल्ला प्रहरी कार्यालयबाटै खटिएको टोलीले होटलमा छापा मार्दा सट्टेबाजीमा संलग्न रहेको आरोपमा ४८ जना पक्राउ गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ । पक्राउ परेकामध्ये ४६ जना भारतीय नागरिक छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का मनोज केसीले २०७४ सालबाट सञ्चालनमा ल्याएको उक्त होटल म्याक्स सुरुवातमा निकै चर्चा कमाएको होटल थियो । तर, मिसन टुडेलाई प्राप्त कागजातअनुसार २०८३ जेठ ८ गते केसीले उक्त होटल बर्दियाका एक व्यक्तिलाई बहालमा दिइएको देखिएको छ ।

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ७ बस्ने जाकिर अलि जोलाहाले उक्त होटल भाडामा लिएर आफ्नै नाममा ‘द एजी रोयल्स’ नामको होटल सञ्चालन गर्ने भनेर दर्ता गरेका पाइएको छ । २०८३ जेठ १२ गते नाम फेरेर दर्ता गरिएको उक्त नयाँ होटलमा भने होटलका गतिविधिभन्दा बढी भारतीय नागरिकहरू र केही नेपाली नागरिकहरू अनलाइन जुवा र सट्टेबाजीमा संलग्न रहँदै आएका पाइएको प्रहरीले जनाएको छ ।

उक्त होटलको नाम फेरेर दर्ता गरिए पनि हालसम्म पनि बोर्डमा भने होटल म्याक्स नाममै सञ्चालन भइरहेको थियो । प्रहरीले पनि आफ्नो विज्ञप्तिमा उक्त होटललाई होटल म्याक्स नामबाटै सम्बोधन गरेको छ ।

सहरको शान्तिसुरक्षाको लागि सक्रियतापूर्वक लागेको दाबी गर्ने कोहलपुर प्रहरीले जिल्लाबाट खटिएको प्रहरीको विशेष टोलीले छापा मार्नुअघिसम्म उक्त होटलमा भइरहेको अवैध क्रियाकलापबारे कुनै जानकारीसमेत नपाएको स्वीकार गरेको छ । कोहलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर डमरपालले मिसन टुडेसँग कुरा गर्दै उक्त होटलमा भइरहेको क्रियाकलापबारे इलाका प्रहरी कोहलपुरले कुनै सूचना नपाएको र जिल्ला प्रहरी कार्यालय बाँकेबाट टोली खटिएपछि मात्रै आफूहरूले सहयोग गरेको बताए ।

उक्त होटल कुनै गुमनाम वा प्रहरीको आँखामा नपरेको होटल भनेर पत्याउने आधार भने देखिन्न । उक्त होटलमा पुग्नेहरू होटल भनिए पनि बेवारिसेजस्तै देखिने र शंकास्पद व्यक्तिहरूको जमघट भने भइरहने गरेको बताउँछन् । कोहलपुर प्रहरीले घुमुवा प्रहरीदेखि अनेक सुरक्षा रणनीतिहरू प्रयोग गरी यस्ता गतिविधिको निगरानी पनि गरिरहेको दाबी गर्छ । सूचना संकलनका लागि भनेर कोहलपुर प्रहरी आधा दर्जनभन्दा बढी प्रहरीलाई साधा पोशाकमा (घुमुवा प्रहरी) परिचालन गरेको बताइन्छ ।

कोहलपुरका साना होटल व्यवसायीहरू भने प्रहरीहरूले आफूहरूमाथि अनावश्यक निगरानी राखेर हैरान पार्ने गरेको आरोप लगाउँछन् । तर, पर्यटन उद्योगको नाम बेचेर जुवा खेलाइरहेको र नाम चर्चामा रहेको उक्त होटलबारे नजिकको जिम्मेवार प्रहरी निकाय बेखबर भएको भनेर पत्याउने आधार देखिन्न । हिरासतमा राखेर अनुसन्धानसमेत गर्ने अख्तियारी प्राप्त र आफ्नो सहरको चर्चित होटलमा भइरहेको अवैध गतिविधिबारे थाहा नपाएको इलाका प्रहरी कार्यालय कोहलपुरमाथि यस घटनाले प्रश्न उठाउने आधार तयार गरिदिएको छ ।

बाँके प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतितसिंह राठौरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ परेका व्यक्तिहरू साथबाट २८ थान ल्यापटप, ८१ थान मोबाइल र १६ थान नोटबुकहरू बरामद गरिएका छन् । उनीहरूको कसुरबारे थप गहिराइमा गएर अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

छापापछि होटललाई शिल गरिएको र होटलका सञ्चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । अवैध गतिविधिमा होटल सञ्चालकको भूमिका सम्बन्धमा अहिले पनि अनुसन्धान भइरहेको र पक्राउ परेकाहरूमाथि पनि विस्तृत अनुसन्धान भइरहेकोले अहिले नै सबै जानकारी दिन नसकिने डीएसपी राठौरले बताएका छन् ।

मिसन टुडेलाई प्राप्त होटल बहाल सम्झौतापत्रमा आफैँले प्रमाणित गरेको कोहलपुर नगरपालिका वडा नम्बर ११ की अध्यक्ष कल्पना शर्माले बताएकी छन् । उक्त सम्झौता २०८३ जेठ १६ गतेदेखि दुई वर्षसम्म लागू हुनेगरी मासिक नौ लाख ५० हजारका दरले भाडा तिर्ने र हरेक ५ महिनामा उक्त दर १० प्रतिशतले वृद्धि हुने पनि सम्झौतापत्रमा उल्लेख गरिएको छ । यस सम्बन्धमा सम्झौतामा नाम उल्लेख भएका केसी र जोलाहाको मोबाइल नम्बरमा सम्पर्क गर्दा मोबाइल स्वीच अफ थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ८ गते बिहीबार