सल्यान ।
जिल्लाको दार्मा गाउँपालिका स्क्रबटाइफस संक्रमणको कहरमा छ । संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि संघ र प्रदेश सरकारले परीक्षण, उपचार र रोकथामका लागि स्रोतसाधन परिचालन गरेका छन्। गाउँपालिकामा मात्रै स्क्रबटाइफसका कारण सात जनाको मृत्यु भइसकेको छ भने दुई सयभन्दा बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमण बढ्दै गए पनि लामो समय परीक्षण किटको अभाव झेल्दै आएको दार्मामा बल्ल संघ र प्रदेश सरकारबाट ठूलो परिमाणमा परीक्षण किट तथा औषधि पठाउन थालिएको हो ।
काठमाडौँस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मात्रै दार्माका लागि एक हजार थान स्क्रबटाइफस ¥यापिड टेस्ट किट पठाएको जनाएको छ । यस्तै कर्णाली प्रदेश सरकारले पनि थप परीक्षण किट, औषधि र स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा परिचालन गरेको छ । दार्मामा संक्रमणको अवस्था गम्भीर बनेपछि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रभावित क्षेत्रमा तत्काल आवश्यक स्रोतसाधन परिचालन गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री शाहीले स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई थप परीक्षण किट, आवश्यक औषधि तथा चिकित्सकसहितको स्वास्थ्य जनशक्ति प्रभावित क्षेत्रमा पठाउन निर्देशन दिएका हुन् । प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो स्वास्थ्य शिविर सञ्चालन गरी परीक्षण, उपचार र रोकथामका कार्यक्रम प्रभावकारी बनाउन कर्णाली सरकार लागि परेको हो । साथै उपलब्ध स्रोतसाधन परिचालन गरेर संक्रमण नियन्त्रणमा लिन सम्बन्धित निकायलाई पनि आग्रह गरिएको छ ।
मुख्यमन्त्रीको निर्देशनपछि स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालसहित चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको हो । उक्त टोलीले स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै दार्मा–१ मा स्थानीयको रगत परीक्षणसमेत थालेको छ । संक्रमण देखिएपछि परीक्षण किटको अभाव हुँदा दार्मामा रोग पहिचान नै चुनौती बनेको थियो । यसअघि कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट दुई सय र स्वास्थ्य सेवा कार्यालय सल्यानबाट दुई सय ५० गरी चार सय ५० थान परीक्षण किट दार्मा पठाइएको थियो । तर संक्रमितको सङ्ख्या बढ्दै गएपछि उक्त किट पर्याप्त हुन सकेन ।
दार्माको स्वास्थ्य शाखाले तत्काल कम्तीमा एक हजार थप परीक्षण किट आवश्यक रहेको जानकारी गराएपछि संघ र प्रदेश सरकारसँग थप सहयोग मागिएको थियो । त्यसपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक हजार थान ¥यापिड टेस्ट किट दार्माका लागि पठाएको हो । प्रदेश सरकारले समेत थप पाँच सय थान परीक्षण किट तथा आवश्यक औषधि प्रभावित क्षेत्रमा पठाइसकेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिए ।
स्वास्थ्य सेवा कार्यालयले यसअघि स्क्रबटाइफससँगै डेङ्गु परीक्षण किट र आवश्यक औषधि उपलब्ध गराउन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई पत्राचार गरेको थियो । त्यही माग र मुख्यमन्त्रीको निर्देशनका आधारमा औषधि तथा परीक्षण सामग्री सल्यान पठाइएको डा. खड्काले बताए । दार्मामा संक्रमणको अवस्था बुझ्न गरिएको पछिल्लो परीक्षणले प्रकोपको गम्भीरता देखाएको छ । सोमबार मात्रै १९१ जनाको परीक्षण गर्दा ६० जनामा स्क्रबटाइफस पुष्टि भएको थियो । स्वास्थ्य शाखाका अनुसार साउनको दोस्रो सातादेखि दार्मामा संक्रमण देखिन थालेको हो । त्यसयता संक्रमण क्रमशः विभिन्न बस्तीमा फैलिएको छ ।
सामान्य अवस्थामा दैनिक १५ देखि २० जना बिरामी आउने स्वास्थ्य संस्थामा अहिले दैनिक ३० जनासम्म बिरामी पुग्ने गरेको स्वास्थ्यकर्मी टेकराज बोहराले बताए । उनका अनुसार यसअघि दार्मा–१ का ६९ वर्षीय तोताराम सुनार र ६१ वर्षीय नरेन्द्र रोकायको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । यस्तै दार्मा–५ लयटा ढाँकाडामका ६९ वर्षीय तुलबहादुर खड्गा, वडा नं. ६ मलिवाङका ८२ वर्षीय बलबहादुर थापा र नरबहादुर बुढाथोकी तथा वडा नं. २ सिलिङ्गेका १२ वर्षीय नरेश ओलीको मृत्यु भएको हो ।
स्वास्थ्य शाखाका अनुसार मृतकमध्ये वडा नं. १ का तीन जना छन् । गत वर्ष पनि दार्मामा स्क्रबटाइफसका कारण चार जनाको मृत्यु भएको थियो । जनस्वास्थ्य निरीक्षक यज्ञबहादुर बस्नेतका अनुसार मेडिकल सञ्चालकलाई समेत परीक्षण गरेर मात्र औषधि दिन सचेत गराइएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी प्रतीक भट्टका अनुसार जिल्ला अस्पताल सल्यानको प्रयोगशालाबाट ३५ जना र बागचौर नगरपालिकामा ६२ जनामा स्क्रबटाइफस पुष्टि भएको छ भने कालीमाटी र कुमाख गाउँपालिकामा पनि संक्रमण देखिएपछि दुवै पालिकाले परीक्षण किट माग गरेका छन् ।
‘संघ र प्रदेश सरकारले किट तथा औषधि पठाएसँगै दार्मामा तत्कालको परीक्षणसम्बन्धी समस्या केही सहज हुने अपेक्षा गरिएको छ,’ उनले भने, ‘तर संक्रमण नियन्त्रणका लागि किट उपलब्ध गराउनु मात्र पर्याप्त छैन । संक्रमितको पहिचानसँगै उनीहरूको उपचार, सम्पर्कमा आएका तथा लक्षण देखिएका व्यक्तिको निगरानी, जोखिमयुक्त बस्तीमा नियमित परीक्षण र समुदायमा सचेतना आवश्यक छ।’









प्रतिक्रिया दिनुहोस्