भुटान राष्ट्रिय क्रिकेट टोलीले पोखरामा टी–२० विश्वकप छनोटको तयारी गर्ने



काठमाडौँ ।

भुटान राष्ट्रिय पुरुष क्रिकेट टोली पोखरा आउने भएको छ । आइसिसी टी–२० विश्वकप एसिया सब रिजनल छनोट तयारीका लागि भुटान पोखरा आउने भएको हो । सो क्रममा भुटानले नेपाल क्रिकेट संघ (क्यान)को सहयोग तथा गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा पोखरामा चारवटा अभ्यास खेल खेल्ने भएको छ । मलेसियामा ३ अक्टोबर २०२६ देखि सुरु हुने छनोटमा सहभागी हुनुअघि भुटान राष्ट्रिय टोलीले प्रतियोगिताको तयारीका लागि पोखरालाई आफ्नो अभ्यास गन्तव्यका रूपमा छनोट गरेको हो ।

अन्तर्राष्ट्रिय राष्ट्रिय क्रिकेट टोलीको पोखरा भ्रमण तथा यहाँ आयोजना हुने अभ्यास खेलले पोखराको क्रिकेट विकासमा योगदान पुन्याउनुका साथै खेल पर्यटन प्रवर्धन र पोखरालाई अन्तर्राष्ट्रिय खेलकुद गन्तव्यका रूपमा स्थापित गर्न थप आधार तयार गर्ने अपेक्षा गरिएको छ । भुटान राष्ट्रिय टोलीले पोखरामा गण्डकी प्रदेश क्रिकेट टोलीसँग दुई तथा क्यान ११ सँग दुई गरी कूल चारवटा अभ्यास खेल खेल्नेछ ।

सबै अभ्यास खेलहरू पोखरा क्रिकेट मैदानमा आयोजना हुनेछन् । २७ सेप्टेम्बर अर्थात् विश्व पर्यटन दिवसकै दिन पोखरा क्रिकेट मैदानमा भुटान राष्ट्रिय टोली र गण्डकी प्रदेश क्रिकेट टोलीबीच पहिलो अभ्यास खेल आयोजना हुनु आफैँमा विशेष महत्व बोकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ७ गते बुधबार