रोल्पा ।
रोल्पाको रुन्टीगढी गाउँपालिका–होलेरीस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा सेवाग्राहीले कर्मचारीको व्यवहार तथा सेवा प्रवाहलाई लिएर विभिन्न गुनासा गरेका छन्। बैंकमा सेवा लिन पुगेका केही सेवाग्राहीले प्रक्रिया बुझ्न खोज्दा स्पष्ट जानकारी पाउन कठिन भएको, कर्मचारीको बोली तथा व्यवहार सहज नभएको र कतिपय अवस्थामा सेवाग्राहीलाई हप्काउनेसमेत गरिएको गुनासो गरेका छन्।
सेवाग्राहीका अनुसार बैंकिङ कारोबार संवेदनशील विषय भएकाले नियम तथा प्रक्रिया पालना गर्नु आवश्यक भए पनि कागजात वा प्रक्रिया नपुगेको अवस्थामा त्यसबारे नम्र र स्पष्ट रूपमा जानकारी गराइनुपर्ने हुन्छ। कर्मचारी अभाव वा अन्य व्यवस्थापकीय समस्या भए त्यसको समाधान सम्बन्धित निकायमार्फत खोजिनुपर्ने उनीहरूको भनाइ छ।
पछिल्लो समय यस्ता गुनासा सामाजिक सञ्जालमा समेत सार्वजनिक हुन थालेपछि विषय रुन्टीगढी गाउँपालिकासम्म पुगेको हो। गुनासोपछि गाउँपालिकाले सम्बन्धित पक्षलाई बोलाएर सेवाग्राहीका समस्या र अनुभवबारे छलफल गरेको छ। छलफलमा सेवाग्राहीहरूले आफूले भोगेका समस्या तथा असहजताबारे आफ्नो धारणा राखेका थिए।
सेवाग्राहीका गुनासाबारे गाउँपालिकाले राष्ट्रिय वाणिज्य बैंक होलेरी शाखाका प्रबन्धकसँग समेत छलफल गरेको छ। छलफलका क्रममा शाखा प्रबन्धकको तर्फबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा त्यस्ता कमजोरी सुधार गर्दै सेवाग्राहीलाई थप सहज सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको बताइएको छ। गाउँपालिका अध्यक्षले पनि आगामी दिनमा यस्ता गुनासा दोहोरिन नदिन आवश्यक सुधारका लागि सम्बन्धित पक्षलाई सम्झाइबुझाइ गर्नुभएको छ। वाग्राहीले सहज र सम्मानजनक रूपमा सेवा पाउने वातावरण बनाउन ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभएको छ।
सार्वजनिक सेवासम्बन्धी गुनासा उठाउनु र कुनै व्यक्तिको व्यक्तिगत चरित्रमाथि प्रश्न उठाउनु फरक विषय भएकाले सेवाग्राहीका गुनासालाई निष्पक्ष रूपमा सुन्नुपर्ने स्थानीयको भनाइ छ। गुनासो सही भए सुधार गर्नुपर्ने र गलत भए सम्बन्धित पक्षले आफ्नो धारणा राख्न पाउने वातावरण हुनुपर्ने उनीहरूको धारणा छ। अब गाउँपालिका र बैंकबीच भएको छलफल तथा शाखा प्रबन्धकले व्यक्त गरेको प्रतिबद्धता व्यवहारमा कति कार्यान्वयन हुन्छ भन्ने विषय महत्वपूर्ण बनेको छ। आगामी दिनमा होलेरीस्थित राष्ट्रिय वाणिज्य बैंकमा सेवाग्राहीका गुनासा घट्छन् वा पुनः दोहोरिन्छन् भन्ने कुरा बैंकको सेवा प्रवाह र कर्मचारीको व्यवहारले देखाउनेछ।









प्रतिक्रिया दिनुहोस्