कर्णाली करिडोर अन्तर्गत छारेभीरको पहिरो पन्छाउन सकस



काठमाण्डौ ।

कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ । दुई ठाउँबाट पहिरो खसेपछि झण्डै १०० मिटर सडकमा ठूला/ठूला ढुङ्गा थुप्रिएका छन् । सडकमा खसेका ढुङ्गा सामान्य ‘स्काभेटर’ले हटाउन नसकिने भएकाले विस्फोट गराएर फुटाल्नुपर्ने अवस्था आएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ड्रिल मेसिनको प्रयोग गरेर ब्लास्टिङको तयारी भैरहेको छ । सडक खुलाउन निरन्तर काम भैरहेको तर झण्डै एक हप्ता लाग्ने देखिएको आयोजना कार्यालयले जनाएको छ । नियमित आवतजावत गर्न नसकेपछि यात्रुहरू जोखिम मोलेर सडकको भीरतर्फ डोरी लगाएर भर्याङ बनाई वारपार गरिरहेका स्थानीयबासिन्दा कमल बुढाले बताउनुभएको छ ।

सडक अवरुद्ध हुँदा कर्णाली करिडोर हुँदै हुम्ला आवतजावत गर्ने यात्रु तथा गाडी प्रभावित भएका छन् । आयोजना प्रमुख नेपालीले जोखिमपूर्ण अवस्थामा यात्रुलाई भीरबाट आवतजावत नगर्न आग्रह गर्नुभएको छ । गएको शुक्रबार दिउँसो सडक अवरुद्ध भएपछि सिमकोट हुँदै सुर्खेत नेपालगञ्ज तथा नेपालगञ्ज हुँदै सिमकोट कैलाश मानसरोवर दर्शन गर्न जाने यात्रुहरु अलपत्र परेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ६ गते मंगलबार