काठमाडौँ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् । उक्त खेल कात्तिक ९ गते हुनेछ । जुन खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ ।
प्रतियोगितामा सहभागी आठ फ्रेन्चाइजले एक अर्कासँगै प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउने छन् । अंक तालिकाको शीर्ष दुई टोलीले पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन् ।यो खेल जित्ने टोलीले सिधै फाइनलमा स्थान बनाउने छ । पहिलो क्वालिफायरमा पराजित हुनेले दोेस्रो क्वालिफायरमा इलिमिनेटर जित्ने टोलीको सामना गर्नेछ । इलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो क्वालिफायर जित्ने टोली उपाधिका लागि पहिलो क्वालिफायरको विजेतासँग भिड्नेछ । कार्तिक २९ गतेसम्म लिग चरणका खेल हुनेछ । मंसिर १ गते पहिलो क्वालिफायर, २ गते इलिमिनेटर तथा ३ गते दोस्रो क्वालिफायर खेल हुनेछ । फाइनल मंसिर ५ गते हुनेछ ।एनपीएलका ३२ खेलमध्ये फाइनलसहित २० खेल फ्लडलाइटमा खेलाइनेछ । दोस्रो संस्करणको एनपीएलको उपाधि लुम्बिनी लायन्सले जितेको थियो ।









प्रतिक्रिया दिनुहोस्