टिकापुर (कैलाली) ।
रसुवा र नुवाकोटमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा काम गर्न पुगेका टीकापुरका २७ जना अझै सम्पर्कविहीन भएपछि कैलालीको टीकापुरका प्रभावित बस्तीमा सन्नाटा छाएको छ । रोजगारीका लागि घरबाट टाढा पुगेका आफन्तहरू बाढीमा परेपछि परिवारजन उनीहरूको अवस्था पत्ता लाग्ने आशामा दिनरात पर्खिरहेका छन् । टीकापुर नगरपालिका–१ का विभिन्न बस्तीबाट मात्रै ठूलो सङ्ख्यामा कामदार सम्पर्कविहीन भएका छन् ।
वडा नं. १ का वडाध्यक्ष मोहनबहादुर विकका अनुसार समितिपुरका नौ जना, मुक्तकमैयाँ बस्तीका छ जना र एकतापुरका तीन जना बेपत्ता छन् । त्यस्तै शक्तिनगर, बेलपुर, विपतपुर, ब्लक नम्बर १३ र ब्लक नम्बर १४ बाट एक–एक जना सम्पर्कविहीन रहेका छन् । यसैगरी टीकापुर नगरपालिका–५ का पनि पाँच जना अझै सम्पर्कमा आउन सकेका छैनन् । उनीहरू सबै रोजगारीका लागि रसुवा र नुवाकोट क्षेत्रमा रहेका विभिन्न आयोजनामा पुगेका थिए ।
वडाध्यक्ष विकका अनुसार वडा नं. १ बाट मात्रै २५ जना अपर त्रिशुली–१ जलविद्युत् आयोजनामा काम गर्न गएका थिए । तीमध्ये हालसम्म तीन जना मात्रै सम्पर्कमा आएका छन् । बाँकी कामदारको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त हुन नसक्दा परिवारमा चिन्ता बढेको छ । बाढी आएयता गाउँका अधिकांश घरमा उत्साह छैन । आफन्तको फोन आउने आशामा परिवारका सदस्यहरू मोबाइल हातमै लिएर बसिरहेका छन् । कतिपय परिवारले आफन्तको अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायसँग निरन्तर आग्रह गरिरहेका छन् । तर घटनास्थल दुर्गम क्षेत्रमा हुनुका साथै बाढी र पहिरोका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको छ ।
वडाध्यक्ष विकले आफू निरन्तर प्रभावित बस्तीमा पुगेर परिवारजनसँग भेट गरिरहेको बताए । उनका अनुसार आफन्तको अवस्था थाहा नपाउँदा स्थानीयवासी निकै आत्तिएका छन् । ‘गाउँमा सन्नाटा छ,’ वडाध्यक्ष विकले भने, ‘म निरन्तर ती बस्तीहरूमा पुगिरहेको छु । उहाँहरूले छिटो उद्धार गरिदिन माग गरिरहनुभएको छ । हामीले गाउँबाटै खोजी तथा उद्धारका लागि छ जना घटनास्थलतर्फ पठाएका छौँ ।’ स्थानीय तह र परिवारजनको आफ्नै प्रयासले पनि बेपत्ता भएकाहरूको खोजी भइरहेको छ । घटनास्थलमा रहेका सुरक्षाकर्मी र उद्धार टोलीसँग समन्वय गरी उनीहरूको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।
बाढी आएको समयमा घटनास्थलमै रहेका केही व्यक्तिले भने भागेर ज्यान जोगाउन सफल भएका छन् । टीकापुर–१, शक्तिनगरका रमेशकुमार चौधरी, समितिपुरका दिलबहादुर चौधरी र आयोजनाका लागि टीकापुरबाट कामदार लैजाने ठेकेदार तुलाराम चौधरी बाढीबाट बच्न सफल भएका हुन् । रमेशकुमार चौधरी उक्त आयोजनाको बेस क्याम्पमा भान्सेका रूपमा काम गर्दै आएका थिए । सुरुङमा काम गर्ने क्रममा आफू पनि जोखिममा पर्न सक्ने भए पनि पछि भान्साको काममा खटाइएकाले भागेर ज्यान जोगाउन सफल भएको उनले बताए ।
‘मैले काम गर्न आएको २५ दिन मात्रै भएको थियो,’ रमेशले भने, ‘सुरुको पाँच दिन मैले पनि सुरुङमा काम गर्न गएँ । पछि मान्छे धेरै हुँदा भान्सामा काम गर्ने दुई जना चाहिने भयो । कोही पनि भान्सामा काम गर्न रुचि देखाएनन् । त्यसपछि मलाई भान्सामा हेल्पर राखिएको थियो। मैले २० दिनजति भान्सामा काम गरेको थिएँ ।’ उनका अनुसार आफू सुरुङभित्र काम गर्न नगएका कारण बाढी आउँदा भागेर सुरक्षित स्थानमा पुग्न सफल भए । तर, सुरुङभित्र काम गर्न गएका साथीहरू भने सम्पर्कविहीन भएपछि उनी अहिले मानसिक रूपमा निकै तनावमा छन् ।
रमेशका अनुसार समितिपुरका दिलबहादुर चौधरी पनि आयोजनामा भान्साको काम गर्दै आएका थिए । त्यस्तै टीकापुरबाट आयोजनाका लागि कामदार लैजाने ठेकेदार तुलाराम चौधरी पनि बाढीबाट भागेर ज्यान जोगाउन सफल भएका हुन् । रमेशका अनुसार बाढी अचानक आएको थियो । सुरुङभित्र काम गरिरहेका कामदारहरूले सुरक्षित स्थानमा पुग्ने पर्याप्त समयसमेत नपाएको हुन सक्ने उनको आशंका छ । ‘सुरुङभित्र काम गर्न गएका कोही पनि सम्पर्कमा छैनन्,’ रमेशले भने, ‘बाढी आफ्नै अगाडि आइसकेपछि थाहा भयो । बल्लबल्ल पहाड उक्लिएर ज्यान जोगायौं । दुई घण्टा हिँडिसकेपछि आर्मी क्याम्पमा पुगेर सुरुङभित्र रहेका साथीहरू सुरुङमै फसेको जानकारी गरायौँ ।’
घटनापछि सुरक्षाकर्मीको क्याम्पमा पुगेका उनीहरूलाई दुई दिनसम्म त्यहीँ राखिएको थियो । त्यसपछि सरकारले ज्यान जोगाउन सफल भएकाहरूलाई काठमाडौँ ल्याएर राखेको थियो । घटनास्थलबाट सुरक्षित स्थानसम्म आइपुग्दा पनि उनीहरूले आफ्ना साथीहरूको अवस्था थाहा पाउन सकेका थिएनन् । सरकारले उद्धार गरी काठमाडौँ ल्याएपछि प्रभावितमध्ये केहीलाई घर फर्काउन यातायातको व्यवस्था गरेको थियो । सरकारले बसको टिकट उपलब्ध गराएपछि समितिपुरका दिलबहादुर चौधरी घर फर्किएका छन् ।
तर रमेशकुमार चौधरी भने घर फर्कन मानेका छैनन् । आफूले ज्यान जोगाए पनि सँगै काम गर्न गएका साथीहरू र आफन्तको अवस्था थाहा नभएसम्म घर फर्किन मन नलागेको उनले बताए । सोही सुरुङमा काम गर्न गएका शक्तिनगरका दिलबहादुर चौधरी रमेशका जेठानसमेत हुन् । त्यसैले उनका लागि घटनामा बेपत्ता भएका साथीहरू मात्रै होइन, आफ्नै परिवारका सदस्यको अवस्थासमेत अज्ञात छ । ‘जेठान र साथीहरूको पत्ता नलागेसम्म घर फर्किन मन छैन,’ रमेशले भने, ‘सरकारले मलाई पनि घर जान टिकट दिएको थियो । तर मैले सरकारलाई मेरा जेठान र साथीहरूलाई नलिएर घर जान्न भनेको छु ।’
रमेशका लागि अहिले घर फर्किनुभन्दा घटनास्थलमा रहेका आफ्ना आफन्त र साथीहरूको अवस्था थाहा पाउनु ठूलो विषय बनेको छ । बाढीबाट ज्यान जोगाएर सुरक्षित स्थानसम्म आइपुगे पनि उनी आफूलाई भाग्यमानी ठान्न सकेका छैनन् । किनकि आफूसँगै रोजगारीका लागि गएका साथीहरू कहाँ छन्, कस्तो अवस्थामा छन् भन्ने जानकारी उनलाई छैन । टीकापुरमा रहेका परिवारजनको अवस्था पनि यस्तै छ । घरका सदस्य रोजगारीका लागि टाढा गएर विपत्तिमा परेपछि उनीहरूका परिवार अहिले एकैपटक आशा र पीडाबीच बाँचिरहेका छन् ।
फोन सम्पर्क स्थापित हुने, उद्धार टोलीले जीवितै फेला पार्ने वा कम्तीमा उनीहरूको अवस्थाबारे यकिन जानकारी आउने अपेक्षामा परिवारहरू प्रतीक्षारत छन् । स्थानीय जनप्रतिनिधिका अनुसार बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धारलाई तीव्र बनाउन आवश्यक छ । घटनास्थलमा रहेका सुरक्षाकर्मी र सम्बन्धित आयोजनासँग समन्वय गरेर वास्तविक अवस्था बाहिर ल्याउनुपर्ने स्थानीयवासीको माग छ । रोजगारीका लागि घर छाडेका व्यक्तिहरू विपत्तिमा परेपछि अहिले उनीहरूका परिवारले आफ्ना आफन्तको सकुशल उद्धारको माग गरिरहेका छन् । टीकापुरका ती बस्तीमा अहिले चाडपर्व वा दैनिक जीवनको सामान्य चहलपहलभन्दा पनि बेपत्ता आफन्तको खबर पाउने प्रतीक्षाले ठाउँ लिएको छ ।
बाढीले आयोजनास्थलमा पु¥याएको क्षतिको यकिन विवरणसँगै सुरुङभित्र र आसपास कार्यरत कामदारहरूको वास्तविक अवस्थाबारे स्पष्ट जानकारी आउन नसक्दा परिवारजनको बेचैनी झन् बढेको छ । स्थानीय तहले पनि खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ । २७ जना अझै सम्पर्कविहीन रहेको खबरले टीकापुरका विभिन्न बस्तीमा अहिले एउटै प्रश्न छ—‘हाम्रा आफन्त कहाँ छन ?’ यही प्रश्नको जवाफ पर्खिरहेका परिवारका लागि प्रत्येक बितेको घडी झनै भारी बन्दै गएको छ ।









प्रतिक्रिया दिनुहोस्