कैलाली ।
सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमनबहादुर भण्डारीको सचिवालयमाथि योजना पारिदिने नाममा रकम असुलेको आरोप लागेको छ । मन्त्रीको सचिवालयमाथि आर्थिक अनियमितताको आरोप लगाउँदै मोहनबहादुर बोहराले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लगातार पोस्ट गर्दै रकम असुलिएको र सो रकम भए तत्काल फिर्ता गर्न माग गरेका छन् ।
रकम फिर्ता नगरिए रकम दिने र लिने दुवै पक्षको नाम सार्वजनिक गर्ने चेतावनीसमेत उनले दिएका छन् । यस विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला मन्त्रीको सचिवालयले भने आरोपको खण्डन गरेको छ । मन्त्रीको निजी सचिवालयले भदौ १७ गते जारी गरेको प्रेस विज्ञप्तिमा मन्त्रालय तथा सचिवालयका कर्मचारीले विभिन्न व्यक्तिसँग आर्थिक लेनदेन गरेको भन्ने विषयमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका सामग्री ‘भ्रामक, तथ्यहीन र कपोलकल्पित’ भएको दाबी गरिएको छ ।
प्रमुख स्वकीय सचिव ईश्वरबहादुर ड्यालद्वारा जारी विज्ञप्तिमा मन्त्रालय तथा सचिवालयका कुनै पनि कर्मचारी गैरकानुनी वा अनैतिक आर्थिक लेनदेनका गतिविधिमा संलग्न नरहेको स्पष्ट पारिएको छ ।
सचिवालयले तथ्यहीन र आधारविहीन अफवाहको पछि नलाग्न नागरिक, सञ्चारकर्मी तथा सरोकारवालालाई आग्रह गर्दै सुशासन, पारदर्शिता र शून्य सहनशीलताको नीतिप्रति आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ । यससँगै सचिवालयले मन्त्रालयको छविमा आँच पु¥याउने नियतले गरिने गलत प्रचारप्रति सजग रहनसमेत अपिल गरेको छ । हाल सामाजिक सञ्जालमा उठाइएको आरोप र सचिवालयको खण्डनबीच वास्तविकता के हो भन्ने विषयमा भने थप प्रमाण तथा सम्बन्धित पक्षबाट स्पष्ट जानकारी आवश्यक देखिएको छ ।








प्रतिक्रिया दिनुहोस्