मृत्यु जितेर फर्केकाहरू भन्छन्ः ‘बाँचेकोमा हर्ष छैन्, देश रोएको देख्दा’



भदौ १० मा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा आएको विनाशकारी बाढीले देश स्तब्ध छ । क्षणभरमै आएको पानी, हिलो, ढुंगा र अन्य भग्नावशेषको विनाशकारी भेलले बस्ती, सडक, पुल तथा अन्य संरचनामा ठूलो क्षति पुगेको छ । धेरै मानिसले आफ्ना घर, सम्पत्ति, जीविकोपार्जनका साधन तथा आफ्ना प्रियजन गुमाएका छन् । कैयौँ व्यक्ति आफ्ना हराइरहेका परिवारका सदस्यहरूको शुभ खबरको प्रतीक्षामा छन् । अप्रत्यासित रूपमा आएको प्रलयकारी बाढीमा परेर धेरै मानिस ज्यान जोगाउन सफल भए ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

भोटेकोशीमा आएको बाढीमा धेरैका जीवन बगे । कैयौँ अझै सम्पर्कविहीन छन् । बेपत्ताहरूको सङ्ख्या यकिन छैन् । त्यही अप्रत्यासित बाढीले धेरै नेपालीलाई कहिल्यै नभेटिने घाउ छोड्यो । भदौ १० को विनाशकारी बाढीमा परेका थिए, बर्दियाको बारबर्दिया–१ जोधिपुरका रामप्रसाद थारू । भाग्यवस उनी बाढीबाट जोगिए । उनी बाढीको चपेटामा परेका थिए । गम्भीर घाइते अवस्थामा उनको उद्धार गरियो । उद्धारपछि उनको शरीरभरी हिलो र चोटैचोट । हिलोले भरिएको थियो उनको पूरै शरीर । हिलोले पूरै अनुहार पोतिएको थियो । चोटका कारण रगताम्य थियो अनुहार । चिन्न नसकिने अवस्थामा भेटिएका उनलाई कसैले सोध्यो परिचय । उनी मसिनो स्वरमा भन्दै थिए, ‘मेरो नाम रामप्रसाद थारू । घर बर्दिया ।’

काम गर्ने ठाउँभन्दा १ किलोमिटर तल भेटिएका उनलाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । हाल रामप्रसादको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चीनको पावर चाइना प्रोजेक्टमा काम गर्थे उनी । त्यहाँ उनी एक्लो थिएनन् । रामप्रसादसँगै उनका पाँचजना सहोदर भाइहरूसमेत थिए । कृष्ण, नरबहादुर, दयाराम, बुद्धिराम र राजकुमार थारू । बाढी आएको समयमा रामप्रसादबाहेक पाँचैजना भाइ ड्युटीमा थिए । रामप्रसाद भने नाइट ड्युटी सकेर क्याम्पमा आराम गरिरहेका थिए ।

त्यहीबेला आएको विनाशकारी बाढीले उनलाई क्याम्पबाटै बगाएर लगेको थियो । उनका भाई कृष्ण थारू भन्छन्, ‘पाँच जनाको डे ड्युटी र दाइको नाइट ड्युटी थियो । दाइलाई बगायो । गम्भीर घाइते छन् । हामी बाँच्न सफल भयौँ ।’ अहिले ६ जना दाजुभाइ काठमाडौँमा छन् । रामप्रसादको भने शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पाँचभाइ भने सकुशल घर फर्किँदै छन् । रामप्रसादको भने उपचार भइरहेको छ । बर्दियाका प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारूका अनुसार रामप्रसादको स्वास्थ्य अवस्था सुधारउन्मुख छ । उनी छिट्टै स्वास्थ्य लाभ गरेर घर फर्किने सांसद थारू बताउँछन् ।

हाँकूबेसीबाट भागेर ज्यान बचाएकी जानदेवी

बाँकेको कोहलपुर–५ की जानदेवी उपाध्यायले सधैँ झैँ बिरामी जाँच गरिरहेकी थिइन् । भदौ १० गते पनि उनी सोही काममा थिइन् । रसुवामा अपार त्रिशूली २१६ मेगावाट आयोजना हाँकूबेसीमा स्वास्थ्यकर्मीका रूपमा कार्यरत थिइन् उनी । उक्त दिन पनि सधैँ झैँ सामान्य अवस्थामै सुरु भएको थियो उनको दैनिकी । करिब ९ बजेतिरको समय हो, बिरामीको जाँच गरिरहेकै अवस्थामा ठूलो आवाज सुनियो । उनी सुनाउँछिन्, ‘उक्त क्षेत्रमा पहिला पनि ब्लाष्टिङ हुँदाखेरी सिठी बजाइन्थ्यो । ठूलो साउण्ड आउँथ्यो । ठूलो साउण्ड आउनेबित्तिकै सबै सुरक्षित स्थानतर्फ भाग्थ्यौँ ।’

त्यसदिन पनि एकदमै ठूलो आवाज आएको थियो । सुरुमा त उनलाई ब्लाष्टिङ नै गरेको होला जस्तो लाग्यो । त्यस क्षेत्रमा रुघाखोकीको प्रकोप भएकाले बिरामीको सङ्ख्या धेरै थियो । उनी डर मान्दामान्दै बिरामी जाँचेर बाहिर निस्किइन् । बाहिर निस्किँदा झन् ठूलो आवाज आएको उनले बताइन् । उनका अनुसार बाहिर निस्कँदा मोबाइलसमेत ल्याएकी थिइनन् । बाहिर निस्कँदा बाढी नजिकै आइसकेको देखेपछि आत्तिइन् र भागिन् सुरक्षित स्थानतर्फ ।

९ः१५ तिरको समयमा हाँकूबेसीबाट भागेकी उनको दिउँसो १ बजे धुन्चे पुग्दा खुट्टामा चप्पलसमेत थिएन । त्यहाँको कहाली लाग्दो अवस्था सुनाउँदै जानदेवी भन्छिन्, ‘म अलि अगाडि भएर बँचे । मेरोभन्दा पछाडि रहेका धेरै जनालाई बाढीले बगायो । भाग्दाखेरी अन्य धेरै मान्छे थियौँ । एक जनालाई त त्यहाँको स्थानीय मान्छेले तानेरै बचाउनुभयो । जंगलैजंगल र चट्टानैचट्टान छिचोलेर बाँच्न सफल भइयो । भाग्दाखेरी मेरो खुट्टामा चप्पलसमेत थिएन । शरीरका धेरै भागमा चोट लागेको थियो । खुट्टा पनि काटिएको थियो । धुन्चेमा प्राथमिक उपचार गरियो ।’ आफ्ना जेठाजुको छोराले चप्पल किनिदिएको उनी सुनाउँछिन् ।

भदौ ११ गते उनीहरूलाई धुन्चेबाट हेलिकप्टरबाट काठमाडौँ ल्याइयो । आवश्यक सरकारी प्रक्रिया पूरा गरेपछि काठमाडौँबाट सवारीमा उनी सोमबार कोहलपुर पुगिन् । उनका अनुसार त्यतिबेलाको त्यहाँ अवस्था सम्झिँदा अहिले पनि शरीरमा काँडा उठ्छ । मन आत्तिन्छ । आफूसँगै रहेका कैयौँको ज्यान गयो । आफू धन्न भाग्यले बाँचिएछ जस्तो लाग्छ, जानदेवीलाई । बाढी आउँदा आफूहरूलाई बचाउनका लागि कराएका र टनेलभित्र रहेका धेरै जना भित्रै रहेको हुन सक्ने उनी बताउँछिन् । निर्माणधीन टनेलभित्र त्यसदिन ढलान भइरहेको थियो ।

नेपालबाट चीनतर्फ गएर ज्यान जोगाएका हरिराम

बर्दियाको बारबर्दिया–१ जमुनीका हरिराम चौधरी रसुवाको मैलुङस्थित एक चाइनिज सुरुङमा काम गर्थे । विनाशकारी बाढीमा परेर उनले भाग्यले ज्यान बचाए । उनी भन्छन्, ‘काम गरिरहेका थियौँ । अचानक टनेलभित्र पानी र हावा आयो । पछि ढुंगो खस्यो । हामीले त केही भयो सोच्यौँ । हामीसँगै भएको एकजनाले ब्लाष्ट भएको हुन सक्ने बताए । हामीले पनि विश्वास ग¥यौँ ।’ अलिपछि आफूहरूले काम गरिरहेकै सुरुङभित्र ठूलो पानी आउन थालेपछि ठूलै विनाश भएको हुन सक्ने आकलन गरिएको उनले बताए । त्यति नै बेला एक जना गाडीको ड्राइभर आत्तिँदै उनीहरू भएको तिर आए ।हरिरामहरूलाई उनले भने, ‘ए,भागौँ, भागौँ ।’

‘ती ड्राइभरको बोली सुन्न नपाउँदै सबै जना आत्तिँदै उठे । बाहिर निस्केर हेर्दाको अवस्था भयानक थियो । सबै कुरा बगर बनेको थियो,’ उनी भन्छन् । नेपाल र चीनको नाका नजिकै भएकोले आफूहरू चाइनाको क्याम्पतिर गएको उनले बताए । आफूसहित दर्जनौँ साथीहरू रातिको ७ बजेतिर सुरक्षित स्थानसम्म पुगेको हरिरामको भनाइ छ । ‘निकै ठूलो संघर्ष गरेर पुगेका थियौँ, अर्को क्याम्पमा । त्यहाँ जाँदा चाइनाले सबै व्यवस्था गरेको थियो । खाना पनि खायौँ ।’

ज्यान जोगाउन भागेका उनीहरूको शरीरमा लगाउने एकसरो कपडासमेत थिएन, चाइनिज क्याम्पमा पुग्दा । न त मोबाइल, झोला, अन्य कुनै पनि सामग्री थियो । अहिले आफूहरूले लगाएको कपडा चाइनाले दिएको उनले बताए । दुई दिनपछि त्यहाँबाट नेपाल सरकारले हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ ल्यायो । काठमाडौँ आएपछि मात्रै परिवारसँग सम्पर्क भएको हरिरामले बताए । केही दिनमा उनी बर्दिया फर्किँदैछन् ।

‘दश सेकेण्ड ढिलो गरेको भए म बाँच्ने थिइनँ’

नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय विद्यार्थी हुन्, युनिशा अमात्य । जसले स्कुलमा पढिरहेको बेला बाढी आएपछि भागेर ज्यान जोगाइन् । बाढीको सूचनासँगै उक्त विद्यालयका ९ सय जनालाई सुरक्षित स्थानमा सारिएको थियो । तीमध्येकी एक थिइन्, उनिशा । उनी सुनाउँछिन्, ‘साथी र म सँगै थियौँ । एक्कापस बाढी आयो । कता जानु के गर्नु केही पनि थाहा थिएन ।’ आफूले कक्षाकोठाबाट बाहिर निस्किन दश सेकेण्डले मात्रै ढिलो गरेको भए जे पनि हुन सक्ने उनले बताइन् । अकस्मातको विपद्को समयमा दश सेकेण्डले मात्रै आफू बाँच्न सफल भएको उनको भनाइ छ । उनीसँगै भएका दुई जना साथीलाई केही समय ढिलो गर्दा बाढीले बगायो ।

उनी अहिले पछुत्तो मान्दै भन्छिन्, ‘मलाई अहिले एकदमै नराम्रो लागिरहेको छ । आफूसँगै भएका साथीलाई बाढीले लग्यो । म त बाँचे । तर साथीहरूलाई बचाउँन सकिएन ।’ करिब आधा घण्टाको कठोर समयपछि मात्रै उनीहरू सुरक्षित स्थानतर्फ पुगेका थिए । सुरक्षित स्थानमा पुगेपछि युनिशाले सबैभन्दा पहिला घरमा आफ्नो आमा बाबालाई फोन गरिन् । दुई दिनपछि मात्रै उनको आमा बुवाहरूसँग भेट भएको थियो । यता, युनिशाका आमाबुवा भने छोरी घरमा नपुग्दासम्म निकै पिरोलिएका थिए ।

युनिशाकी आमा सविना श्रेष्ठ अमात्य भन्छिन्, ‘गाह्रो भएर आयो । के गर्ने, के गर्ने । बाबालाई पनि फोन लाग्दैन । छोरीलाई पनि लाग्दैन । भगवानको नाम लिएर मेरो छोरीलाई के नहोस् भनेँ ।’ फोनमा कुरा भएपछि मात्रै आफूले हल्का सन्तोषको श्वास फेरेको उनको भनाइ छ । युनिशाका बुवा युवराज अमात्य त्रिशूलीको त्यतिबेलाको अवस्था हेर्दा शब्दले वर्णन नै गर्न नसकिने बताउँछन् । त्रिशूली पूरै डुबेको देखेपछि आफूले छोरीको समेत आश मारेको उनी बताउँछन् । ‘त्यहाँ अवस्था देख्दा छोरी छैन् भन्ने सोचेको थिएँ । म आत्तिएँ, रोएँ, चिच्चाएँ, कराएँ । स्कुलमा खोजेँ तर कतै भेटिनँ । एक छिनपछि फोन लागेपछि त मनै थाम्न सकिनँ । छोरीले फोन उठायो । फोन उठ्नेबित्तिकै भक्कानिएर रोएँ ।’ सरकारी उद्धारपछि युनिशा घर पुगेपछि तीनजना अंगालो हालेर रोए ।

जब मदनलाई लाग्यो– ‘म अब जसरी पनि भाग्नुपर्छ’

रसुवाको बाढीमा मृत्युको मुखबाट जोगिएका मदन सुवेदी चार दिनपछि परिवारको बीचमा फर्किएका छन् । बाढी आउँदा बेडबाट उठेर ज्यान जोगाउन उनले केसम्म गरेनन् ? त्यो भागदौड, त्यो अत्यास। त्यो सन्नाटा । भयानक यथार्थ भोगेका उनको अनुभव सुनाउँदा अहिले पनि स्वर काँप्छ मदनको । चितवनका उनी नुवाकोटको त्रिशुली आयोजनामा कार्यरत थिए वातावरणविद्का रूपमा । भदौ १० गते उनी अफिसबाट भर्खरै क्वाटरमा फर्किएका थिए । क्वाटरमा पुग्नेबित्तिकै बाहिरबाट ठूलो आवाज आयो । सुरुमा त बेवास्ता गरे । पछि झन्झन् ठूलो आवाज आउन थाल्यो । के भएको रहेछ भनेर हेर्दा जाँदा अफिस अगाडिको हाइटेन्सन लाइनको टावर बेस्सरी हल्लिरहेका र तारहरू चुट्टिएको देखे ।

अचानक के भयो भन्दै आत्तिए मदन । अघि अगाडि हेर्दा बाढीको एकदमै ठूलो मुस्लो सुनामी झैँ क्याम्पतिर आउँदै थियो । उनी भन्छन्, ‘साथीहरूलाई पनि जोगाउन पाइनँ । मेरो ज्यानको सुरक्षाको लागि यो छोड्नुपर्छ भन्नेबाहेक मेरो दिमागमा केही पनि आएन ।’ उनले अफिसको कम्पाउण्ड छिचोले । पहाडको ढिस्कोमा पुगे । रुखको जरा समातेर अलि सुरक्षित स्थानमा झरेर बाँच्न सफल भए । उनीसँग नजिकैको क्लिनिकमा काम गर्ने साथीसमेत थिए । उनीहरूभन्दा पछाडि दुईजना महिला थिए ।

उनी सुनाउँछन्, ‘मलाई मात्र सुरक्षित हुनु थियो । म भागेँ । अरु मैले केही पनि सोचिनँ । सोच्ने अवस्था पनि थिएन ।’ आफू २० देखि २५ मिटरभन्दा माथि पुगेपछि मात्रै तलतिर हेरेको उनको भनाइ छ । बाढी धेरै नजिक आइसकेको र त्यसको आवाज निकै डरलाग्दो अवस्था रहेको थियो । त्यहाँको अवस्था हेर्दा बाढी अझै माथि आउन सक्ने डरले झन्झन् माथि चढेको समेत उनले बताए ।

मानिसहरूले खेतीपाती गरिरहेको बारीमा पुगेपछि बल्ल सुरक्षित भएको र अब बाँचिन्छ भन्ने महशुस भएको थियो मदनलाई । त्यहाँ पुगेपछि साथीसँग भएको नम्बर मागेर घरमा फोन गरे । त्यहाँ उनले साथीको मोबाइलमै सानो भ्लगसमेत बनाए । भ्लगमा उनले भनेका छन्, ‘ल है हामी यसरी भागेका छौँ । जंगलको बीचमा छौँ । कति साथी हामीले गुमाइसकेका छौँ, सायद ।’ अझै माथिल्लो गाउँमा पुग्दा भाग्न सफल भएकाहरू जम्मा भएका थिए । त्यहाँ करिब ३० जना जति थिए । गाउँमा पूरै रुवावासी थियो । तर त्यो गाउँमै बसे उनीहरू । जनप्रतिनिधिहरूले आफूलाई निकै ठूलो सहयोग गरेको बताए । उनी नुवाकोट, धादिङ, गोरखा हुँदै पोखरा भएर चितवन पुगे ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार