शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
आकाशमा हल्का बादल मडारिएको छ । छिनमा घाम लाग्छ । छिनमा बादलले घाम छेक्क । आकाश खुल्दा घामसँगै खुल्छ मन । बादल मडारिँदा भने ठिक उल्टो । साँधुरो, अध्याँरो र निरस । आइतबार ठ्याक्कै दिउँसो २ बजेतिर कोहलपुर–११ लोकनगरस्थित एक घर पुग्दा बेग्लै सन्नाटा थियो । भदौ १० को बाढीका कारण सिंगो लोक (देश) रोइरहेको बेला कोहलपुरस्थित लोकनगरसमेत अछुतो रहेन । बाढीमै परी मजदुरी गर्न गएका लोकनगर बस्तीका दुई तन्नेरीले ज्यान गुमाए । तीमध्येका एक थिए, २३ वर्षीय कबीरलाल चौधरी । अब उनी कहिल्यै फर्किएर आउने छैनन्, आफू जन्मेको घर । जन्मदिने आमालाई भेट्न । दाजुभाई, दिदीबहिनी, साथी, आफन्त र गाउँलेलाई भेट्न । तर, जुनीभर पर्खिएर रहनेछ, उनको झुपडीले ।
जीवनको अन्तिम श्वास फेर्दासम्म कुरिरहनेछिन्, ६५ वर्षीया आमा तस्नी थारूले । लोकनगरस्थित उनको झुपडीमा पुग्दा घरको गेटमा पुर्पुरोमा हात लगाएर बसिरहेकी थिइन् तस्नी । हिलाम्मे आँगन । टिनले छाएको एकतले माटोको घर । त्यही घरमा आमा र तीन दाजुभाईसँगै बस्थे कबीरलाल । अब त कबीरलाल छैनन् । उनीहरूसँग छ त केवल सम्झना । घर र परिवारका सदस्यहरूको अवस्था हेर्दा त्यहाँ कबीरलालको अभाव प्रष्टै झल्किन्थ्यो । दुईदिन मात्रै भयो रसुवा बाढीमा परेर निधन भएका कबीरलालको अन्तिम दाहसंस्कार गरेको ।
उनका जेठा दाई सुग्रिप थारू किरिया बसेका छन् । सानो घरको साँधुरो गल्लीको कुनामा भाईको किरिया बसेका सुग्रिपको अनुहार निन्याउरो थियो । थारू संस्कृतिअनुसार मृत्युपछि गर्ने किरियाकर्ममा आवश्यक पर्ने सम्पूर्ण सामान अघि राखिएको थियो । भुइँमा बिछ्याइएको मेटमा थ्याच्चै बसेका थिए सुग्रिप । भाईको मृत्युमा नुन बारेका उनी हेर्दा पनि शिथिल देखिन्थे । उनी भदौ १० गतेअघि र पछिको कबीरलालको अवस्थामा बेलिविस्तार लगाउँदै थिए । साँधुरो गल्लीमा आइपुगे, बर्दियाको बढैयाताल–४ घर आएका उनका भिनाजु मोने थारू ।
जोसँग भदौ ९ गते राति भिडिओ कलमा आधा घण्टा कुराकानी गरेका थिए । मोने भन्छन्, ‘अघिल्लो दिन भिनाजु म अब छिट्टै घर आउँछु भन्थे । भोलिपल्ट दिउँसोदेखि उनी सम्पर्कविहीन भएका थिए । लास भए पनि भेट्यौँ । हामी निकै दुःखी छौँ ।’ त्यसो त भदौ १० गते बिहान ६–८ बजेसम्म भिडिओ कलमा कान्छा भाई रामलाल थारूसँग कुराकानी भएको थियो । रामलालका अनुसार उनीसँग पनि भिडिओ कलमा कबीरलालले आफू छिट्टै घर आउने बताएका थिए । दाजुभाईबीच व्यक्तिगत तथा घरायसी विषयमा धेरै कुराकानी भएको बताउँछन्, रामलाल । उनी भन्छन्, ‘दुई घण्टा कुरा गरेको हो । अन्तिममा खाना खाएर काममा जाने बेला भयो । फेरि कुरा गरौँला भन्दै फोन काटेको हो । त्यो नै अन्तिम बोली भयो ।’
कबीरलालको भाई रामलालसँग कुरा भएको एक घण्टापछि उनी काम गर्ने रसुवामा बाढी आएको खबर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा डढेलो झैँ फैलियो । उक्त खबर सबैभन्दा पहिला थाहा पाएका थिए, कबीललालका माइला दाई रामचरण थारूले । उनी फेसबुक स्क्रल गर्दै थिए, रसुवामा बाढी आएको कुरा देखे । देख्नेबित्तिकै उनले आत्तिँदै भाईलाई फोन गर्न भने । बाढी आएको सुरुवाततिर फोन गर्दा फोन लागेन । उनीहरूले लगातार फोन गरिरहे । तर फोन लागेन । पछि कबीरलाललाई रसुवामा काम गर्न लैजाने मेटलाई फोन गरे । उनले पनि कसैसँग सम्पर्क हुन नसकेको बताए । उक्त कुरा घरमै बिरामी भएर स्वास्थ्य लाभ गरिरहेकी आमा तस्नीसम्म पनि पुग्यो । एक कान हुँदै मैदानसम्म पुग्यो, कबीललाल हराएको सूचना ।
जेठा दाई सुग्रिप थारू भन्छन्, ‘बाढीले ठूलै विनाश गरेको थाहा पाएपछि परिवारमा सल्लाह गरेर रसुवा जाने निर्णय भयो । भदौ ११ गते भाई खोज्न हिँडे । १२ गते चितवनमा भाईको शव भेटियो । अनि गाडीमा हालेर ल्यायौँ ।’ एम्बुलेन्समा शव कोहलपुर ल्याएर उनको अन्तिम दाहसंस्कार भइसकेको छ । भाईलाई जिउँदो भेटाउने आशमा रसुवा हिँडे पनि चितवन पुग्दा त्यहाँबाट अगाडि बढ्न सक्ने अवस्था नै नरहेको सुग्रिपले बताए । रसुवा बाढीका कारण बगाएर धेरै मानिसका लास चितवनमै भेटिएका आफू त्यहाँभन्दा बढी नबढेको उनले बताए ।
चितवनस्थित शव राखिएको ठाउँबारे वर्णन गदै उनी भन्छन्, ‘बाढीमा मरेकाहरूको एलइडीमा फोटो देखाउँथ्यो । मैले मेरो भाईको अनुहार चिनेँ । भित्र गएर प्रहरीलाई भनेर एकछिन रोक्न भने । सर, मेरो भाईको फोटो देखिएको छ । उक्त फोटो आफन्तहरूलाई पनि पठाएँ । सबैले हो भने । आवश्यक प्रक्रिया पूरा गरेर शव ल्याइयो ।’ बाढीमा परेर निधन भएका कबीरलालको फोटो हेर्ने नसकिने अवस्थामा छ ।
‘बिँडी खान पैसा पठाऊ भन्थ्यो, हजार रूपैयाँ पठाउन पाइनँ’
कबीरलालकी आमा तस्नी छोरासँग अन्तिमपटक कुराकानी भएको सुनाउँदै भन्छिन्, ‘छोरा भन्थ्यो, आमा चिन्ता नलिनु । म यो महिनाको लास्टतिर आउँछु ।’ २२ वर्षअघि श्रीमान् गुमाएकी तस्नीको हेरचाह र लालनपालन सबै कबीरलालले नै गर्थे । तीन छोरा छुट्टै बस्छन् । अविवाहित कबीरलालसँगै बस्थिन् उनी । दुई जनाबीच अन्तिमपटक भदौ ९ गते कुराकानी भएको थियो । त्यसो त बिरामी आमाको हालखबर बुझ्न एक÷दुई दिन बिराएर फोन गरिरहन्थे उनी ।
तस्नीका अनुसार पछिल्लोपटक कुराकानी हुँदा कबीरलाले बिँडीका लागि एक हजार रूपैयाँ पठाइदिन भनेका थिए । ‘एक हजार रूपैयाँ मलाई चाहिएको थियो । ठ्याक्कै मैले पठाउन लागेथेँ, चुरोट, बिँडी खाने पैसा छैन रे । यस्तो भइदियो । भोलि बिहान पठाइदिउँला भनेको थिएँ । भोलिपल्ट त्यस्तो घटना देखेँ । फोन लागेन । मन आत्तियो । जेठो छोरालाई पठाएँ,’ यसो भन्दै गर्दा भक्कानिन् उनी ।कुराकानीकै क्रममा केही महिनादेखि आफूले तलब नपाएको बताएका थिए ।
उनीहरूलाई काममा लगाउने मेटले पैसा दिएका थिएनन् । मेटलाई फोन गर्दा आउँदैछ भनेपछि आलटाल गरिरहेका थिए । विगत एक वर्षदेखि रसुवाको विद्युत् आयोजनामा काम गरिरहेका कबीरलाल २०८२ चैत महिनामा घर आएका थिए । त्यतिबेला एक महिनासम्मै घरमा बसेका थिए । उनी पछिल्लोपटक वैशाख अन्तिम साता रसुवा गएका थिए । त्यसपछि भने फर्किएका थिएनन् । ‘दशैमा घर फर्किन्छु’ भनेका उनी अब कहिल्यै फर्किने छैनन् ।
आइतबार दिउँसो ३ बजेतिर कोहलपुर–११ स्थित लोकनगरमा पुग्दा घरमा चहलपहल थियो । घरमा रहेका सबै कुनै न कुनै काम गरिरहेका थिए । घरको आँगनमा दुईजना बुढी महिला गोभी काटिरहेका थिए । एकजना अधबैँसे महिला घरमा आउनेहरूलाई प्लाष्टिकको गिलासमा चिनीपानी दिइरहेकी थिइन् । थारू समुदायमा कुनै पनि मानिसको मृत्यु हुँदा भेट्न आउने प्रत्येक आफन्त÷गाउँलेहरूलाई अनिवार्य रूपमा चिनीपानी दिने चलन छ । घरको आँगनको अलि परको छेउमा दुईजना महिला आगो बालेर डिक्चीमा पानी हालिरहेका थिए ।
शौचालय नजिकै रहेको धारामा दुईजना महिला पानीले चामल धोइरहेका थिए । घरमा गाउँलेहरूको आउने क्रममा जारी थियो । हातमा सानो प्लाष्टिक बोकेका महिलाहरू २÷३ जनाको समूहमा आउँदै जाँदै गरिरहेका थिए । थारू समुदायको परम्पराअनुसार कुनै पनि कारणले मृत्यु भएका नागरिकको दाहसंस्कारपछि गरिने धार्मिक कार्य भइरहेको थियो त्यहाँ । थारू समुदायमा मानिसको मृत्यु हुँदा दाहसंस्कारमा उपस्थित भएका आफन्त र गाउँलेहरूलाई अनिवार्य रूपमा भोज खुवाउने चलन छ ।
सिंगो गाउँलेहरूलाई आवश्यक पर्ने भान्साको सामना खरिद गरेर त्यहीबेला बजारबाट घर आइपुगे, विश्राम थारू । आइतबार बिहान छोरा महेश थारूको अन्तिम दाहसंस्कार गरेर घर फर्किएका उनी थकित र निराश देखिन्थे । भदौ १० गते विश्रामका एकमात्र सन्तान २८ वर्षीय महेशको रसुवा बाढीमा परेर निधन भएको थियो । केही समयमा घरको आवश्यक चाँजोपाँजो मिलाएर मिसन टुडे दैनिकसँग कुराकानी गरेका उनलाई हामीले घरमा भइरहेको कामको बारेमा सोध्यौँ । उनले त्यहाँ भइरहेको सम्पूर्ण गतिविधि थारू समुदायमा प्रचलित चलन भएको बताए ।
छोराको जन्मदिनमा आउने छैनन् महेश
बुवा विश्राम थारू र आमा महारानी थारूका एक्लो सन्तान थिए,२८ वर्षीय महेश थारू । विवाहित उनी एक वर्षदेखि लोकनगरकै साथीहरूसँगै रसुवाको एक विद्युत् आयोजनामा काम गर्दै आएका थिए । उनी विवाहित हुन् । महेशका दुईजना छोरा छन्, जेठा छोरा सारांश थारू र कान्छो छोरा श्रीयांश । श्रीयांश तीन वर्षका भए । जेठा छोरा सारांश भदौ २८ गते सात वर्षका पुग्दैछन् । श्रीमती माया थारू भन्छिन्, ‘भदौ ९ गते साँझ छोराको जन्मदिन मनाउन आउने सल्लाह भएको थियो ।’ तर, अब महेश कहिल्यै फर्किने छैनन्, छोराहरूको जन्मदिन मनाउन ।
त्यसको लागि कहिल्यै पनि सल्लाह हुनेछैन्, मायाको महेशसँग । भदौ १० बाढीले महेशलाई चुँडेको छ । मायाको सिउँदो पुछिएको छ । नाबालक छोरा टुहुरा भएका छन् । वृद्ध हुँदै गएका विश्राम र महारानीपनि सन्तानविहीन हुन पुगेका छन् । विश्राम सम्झिन्छन्, भदौ ९ गते बिहान आफूलाई फोन गरेको । फोनमा महेशले बालाई बुहारीलाई २५ सय रूपैयाँ दिन भनेका थिए । उनले भने, ‘मेरो श्रीमती र आफ्नो श्रीमतीसँग नियमिन कुरा हुन्थ्यो । मसँग कहिलेकाहीँ मात्रै हो कुराकानी हुने । भदौ ९ गते फोन गरेको थियो ।’
समूहमा किस्ता तिर्नको लागि बुहारीलाई पैसा दिनुहोला भनेर छोराले फोन गरेको उनले बताए । महेश र विश्रामको त्यही कुराकानी नै अन्तिम हुन पुग्यो । भदौ १० गते रसुवामा बाढी गएको थाहा पाएपछि आफूहरूले निरन्तर फोन गरेको तर सम्पर्क हुन नसकेको उनले बताए । धेरैपटक सम्पर्क गर्दा फोन नलागेपछि आफू छोराको खोजीमा हिँडेको उनको भनाइ छ । एक्लो छोरा जिउँदो भेटिने आश बोकेर हिँडेका उनी घर फर्किँदा लास बोकेर आए ।
चितवनमा छोराको लास भेटेका उनले छोराको हातमा रहेको ट्याटु र भित्री वस्त्र पहिचान गरेर शव पत्ता लागेको मिसन टुडे दैनिकलाई बताए । महेशले बायाँ हातमा श्रीमतीको नामको ट्याटु खोपेका थिए, ‘माया’ । त्यही ट्याटुका कारण आफूले शव पहिचान गरेको विश्रामले बताए । प्रहरीले उनलाई चितवनस्थित नारायणीबाट शव ल्याउँदाको फोटोसमेत देखाएका थिए । त्यतिबेला महेशको अनुहार स्पष्ट अवस्थामा चिनिने अवस्थामा रहेको उनले जानकारी दिए । भदौ १२ गते छोराको शव फेला पारेका विश्रामले आइतबार बिहान आफ्नै हातले दागबत्ती दिदैँ अन्तिम बिदाइ गरे ।









प्रतिक्रिया दिनुहोस्