घर फर्किए गोरखामा अलपत्र परेका बर्दियाका ४० युवा



कोहलपुर (बाँके) ।

गोरखामा अलपत्र परेका बर्दियाका ४० जना युवा घर फर्किएका छन् । चिनियाँ नान्टोङ कम्पनीमा कार्यरत युवा र कम्पनीका म्यानजेरबीचको विवादपछि तीन दिनसम्म अलपत्र गरेका युवाहरू एकसातापछि घर फर्किएका हुन् । रोजगारीको सिलसिलामा गोरखा पुगेका ४० जना युवाहरू अलपत्र अवस्थामा परेको र उद्धारका लागि आग्रह गर्दै बर्दियाका सांसद ठाकुरसिंह थारूले प्रतिनिधिसभामा माग गरेका थिए ।

आफूले त्यहाँको स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्दासमेत सुनुवाइ हुन नसकेको भन्दै उनले गृह मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । लगत्तै गृह मन्त्रालयको निर्देशन र सम्बन्धित स्थानीय तहको पहलमा ४० जना स्थलमार्ग हुँदै बर्दिया पुगेका हुन् । गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ४ मा अलपत्र परेका कामदार र चिनियाँ कम्पनी नान्टोङका प्रतिनिधिबीचको सहमतिपश्चात् उनीहरू बर्दिया फर्किएका हुन् ।
सहिद लखन गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष यमबहादुर थापाका अनुसार ताकलुङस्थित निर्माणाधीन सिन्जाली माध्यमिक विद्यालय निर्माण गरिरहेका नान्टोङ कम्पनीमा कार्यरत सुपरभाइजर र कामदारहरूबीच भदौ ६ गते आपसी विवाद भएको थियो ।

आपसी विवादका कारणले कामदारहरूले कार्यरत कम्पनीबाट काम छोड्नुपर्ने परिस्थिति सिर्जना भएको भएको उनले बताए । दुवै पक्षको विवादका कारण ४० जना कामदार भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएपछि सरोकारवालाहरूको समन्वयमा दुवै पक्षबीच सहमति गरेर घर पठाइएको उनको भनाइ छ । कामदारहरूको समूहलाई कम्पनीबाट जनही गाडी भाडास्वरूप पेस्की रकम ८ हजारका दरले प्रदान गरिएको र गाडीमा घर पठाइएको उनले बताए । दुवै पक्षबीच हाजिरी कार्ड साथै ज्याला हेरी निजहरूले पाउने ज्यालावापतको रकमबाट पेस्की वापतको रकम कटाइ बाँकी रहेको रकम दिने सहमति भएको छ ।

यस्तै कम्पनीमा काम गरिरहेका चन्द्रप्रसाद चौधरी, अनुकल थारू, दिनेश चौधरी, निरेनधन थारू र अविनाश थारूलाई कम्पनीले दिनुपर्ने रकम २०८३ भदौ २३ गतेसम्म सम्बन्धित व्यक्तिको खातामा हाल्ने सहमति गरिएको थियो । कम्पनीका प्रतिनिधि र सम्बन्धित कामदारहरू वडाध्यक्ष थापाको रोहबरमा वडा कार्यालयमा छलफल भई सहमति गरिएको र पारिश्रमिक भुक्तानी र पेस्की रकम कटाइ बैंक खातामा जम्मा गर्ने सहमति गरिएको थियो ।

बर्दिया फर्किएपछि मुख्य पीडित अनुकल थारूले काम गर्ने क्रममा चाइनिजले आफूलाई हातपात गरेको बताएका छन् । हातपात गरेपछि आफ्नो हातमा चोट लागेको र उपचार गर्न रकमसमेत नदिएको उनले बताए । उनीहरूले आफूहरूलाई पीडित हुँदा सरकारले चासो नदिएको गुनासो गरेका छन् । आफूहरू अलपत्र पर्दा केही दिनसम्म बेवारिसे भएको र त्यसपछि सम्बन्धित निकायहरूको सहयोगमा आफूहरू घर फर्किएको बताएका हुन् । अलपत्र परेका बढैयाताल गाउँपालिका, गुलरिया र बारबर्दिया नगरपालिकाका ४० युवाहरू सकुशल घर फर्किएको बर्दियाका प्रतिनिधिसभा सदस्य ठाकुरसिंह ठाकुरले जानकारी दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १२ गते शुक्रबार