नन्दराम जैशी । सुर्खेत ।
जाजरकोटको भेरी नगरपालिका–१ का ४० वर्षीय सेरबहादुर वलीको घर हाल सम्झना मात्रै छ । केही समयअघिसम्म परिवारको आश्रय बनेको घर, अन्न उब्जाउने खेतबारी, गोठका पशुचौपाया र वर्षौँदेखि जोगाएर राखेका कागजात पहिरोले पुरिएका हुुन् । हाल रिसाङमा रहेको अस्थायी सेल्टरको बास, त्रासदीको सम्झना र भोलिको अनिश्चितता मात्रै उनीसँग बाँकी छ । वली १० जनाको संयुक्त परिवारका अभिभावक हुन् ।
पहिरो आएको दिन उनी बारीमा काम गरिरहेका थिए । छोराछोरी आँगनमा खेलिरहेका थिए भने उनकी आमा घरभित्र आगो बालेर दूध तताउने तयारीमा थिइन् । सुरुमा घरमाथिबाट सामान्य हिलो मिसिएको पानीसहितको पहिरो आयो । खतरा त्यति ठूलो होला भन्ने उनले अनुमान गरेका थिएनन् । ‘म बारीमा काम गरिरहेको थिएँ । छोराछोरी आँगनमा खेल्दै थिए । आमा घरभित्र आगो बालेर दूध तताउन लाग्नुभएको थियो । पहिले घरमाथिबाट सामान्य हिलोसहितको पानी भएको पहिरो आयो,’ उनले त्यो भयावह क्षण सम्झिँदै भने, ‘छोराछोरीलाई उता नजान भन्दै थिएँ, एक्कासि ठूलो पहिरो आउन सुरु भयो ।’
पहिरो एकाएक तीव्र बनेपछि उनले छोराछोरीलाई तानेर सुरक्षित स्थानतर्फ भगाए । घर हल्लिन थालेपछि भित्र रहेकी आमालाई समेत बाहिर निकाल्ने प्रयास गरे । तर उनीहरू घरको आँगन छाड्नै लाग्दा पहिरोले पूरै घरलाई स्वाट्टै बगाएर लग्यो । त्यो केही सेकेन्डको घटनाले वली परिवारको वर्षौँको जीवन एकैपटक उजाड बनायो ।घरसँगै गोठमा बाँधिएको राँगो, खोरमा रहेका कुखुरा र आँगनमा चरिरहेका परेवा पनि पहिरोमा पुरिए ।
घरभित्र रहेका सुनका गहना, नगद, अन्न, भाँडाकुँडा, लत्ताकपडा र महत्वपूर्ण कागजातसमेत केही बाँकी रहेन । वलीका अनुसार श्रीमती, बुहारी र आमाका गरी करिब चार तोला सुनका गहना घरमै थिए । विपद्को क्षणमा ज्यान जोगाउन दौडिनुपर्दा सम्पत्तिसँगै जीवनभरका प्रमाण र सम्झनासमेत पहिरोमा पुरिए । वली परिवारका लागि यो पहिलो ठूलो विपत्ति भने होइन । २०८० सालको भूकम्पले घर भत्किएपछि परिवारले ज्यालादारी मजदुरी गरेर कमाएको रकम र केही ऋण जुटाएर गत वर्ष मात्रै नयाँ घर बनाएको थियो ।
घर निर्माणका लागि वर्षौँको मेहनत, पसिना र ऋणको बोझ बेहोरेका उनीहरूले अब भने फेरि शून्यबाट जीवन सुरु गर्नुपर्ने अवस्था आएको छ । भूकम्पपछि बनाएको घर एक वर्ष नबित्दै पहिरोले बगाएपछि परिवारको आर्थिक अवस्था झन् कमजोर बनेको छ । घर मात्रै होइन, उनीहरूको खेतबारीसमेत पहिरोले बगर बनाएको छ ।आम्दानीको मुख्य आधार नै गुमेपछि अब परिवारलाई दैनिक गुजारा चलाउनसमेत कठिन हुने अवस्था छ ।
हाल वली परिवार अस्थायी सेल्टरमा बस्दै आएको छ । तर अस्थायी त्रिपालले उनीहरूको पीडा छोप्न सकेको छैन । सुरक्षित स्थानमा स्थायी बसोबासको व्यवस्था नहुँदासम्म पहिरोको त्रासबाट मुक्त हुन नसकिने उनीहरूको भनाइ छ । वली शारीरिकभन्दा बढी मानसिक पीडामा छन् । हरेक दिनजसो उनी पहिरोले बगाएको आफ्नो घर भएको ठाउँमा पुग्छन् । कुनै समय परिवारको जीवन चलेको ठाउँ अहिले बगरमा परिणत भएको देख्दा उनी भावविह्वल हुन्छन् ।
‘अहिले रुँदारुँदा आँसु पनि सकिए । तर बोल्न पनि शब्द आउँदैनन्,’ वलीले पीडा सुनाए, ‘राति निद्रा पनि लाग्दैन । कतिबेला त हृदयघात नै होला जस्तो हुन्छ । तर सन्तान र घरपरिवार सम्झेर मन सम्हाल्छु ।’ उनको आवाजमा घर गुमाउनुको पीडा मात्रै छैन, परिवारको भविष्यप्रतिको गहिरो चिन्ता पनि छ । आफ्नै जमिनमा फर्केर बस्ने अवस्था नरहेपछि अब कहाँ बस्ने, कसरी घर बनाउने र परिवारको जीविका कसरी चलाउने भन्ने प्रश्नले उनलाई दिनरात सताइरहेको छ ।
वली एक प्रतिनिधि पात्र मात्रै हुन्, तर उनीजस्तै पहिरोबाट प्रभावित परिवारहरूका लागि तत्काल राहतसँगै दीर्घकालीन पुनस्र्थापना आवश्यक देखिएको छ । अस्थायी टहरा, खाद्यान्न र केही राहत सामग्रीले तत्कालको संकट टार्न सकिए पनि सुरक्षित आवास र जीविकोपार्जनको आधार नबनाएसम्म उनीहरूको चिन्ता र छटपटिको पीडा अन्त्य हुने अवस्था छैन् ।
सुरक्षित स्थानमा घर, जग्गाको माग
पहिरोको जोखिम कायमै रहेको स्थानमा पुनः घर बनाएर बस्नुभन्दा सरकारले सुरक्षित स्थान पहिचान गरी घर र जग्गाको व्यवस्था गर्नुपर्ने पीडित गोपाल कामीले माग गरे। ‘जहाँ पहिले घर थियो, त्यहाँ अब बस्ने अवस्था छैन । सरकारले सुरक्षित ठाउँमा घर बनाउन जग्गासहितको व्यवस्था गरिदिए हुन्थ्यो,’ उनले भने, ‘भूकम्पपछि घर बनाउँदा लागेको ऋण तिर्न नपाउँदै फेरि घरविहीन बनेका छौँ । यही घर बनाउन कै लागि श्रीमती विदेशमा पठाएको छु, तर यहाँ घर र जग्गा पहिरोले नष्ट गरिदियो ।’
उनको परिवारका लागि विपद् एउटा प्राकृतिक घटना मात्रै रहेन । यसले उनीहरूको आर्थिक आधार, सम्पत्ति र मानसिक शान्ति सबै खोसेको छ । पीडित परिवारका लागि अहिले सबैभन्दा ठूलो आवश्यकता सुरक्षित वासस्थान रहेको पीडित झुपलाल खड्काले बताए । सुरक्षित वासस्थानपछि मात्रै गुमेको जीविकोपार्जन पुनःस्थापित गर्ने बाटो खोज्न सकिने उनको अपेक्षा छ । सात जनाको परिवारसहित अस्थायी सेल्टरमा बस्दै आएका पीडित कर्णबहादुर ओलीले पुुरानो घर भएको स्थानमा अब बसोबास सम्भव नरहेको बताए ।
सरकारले अन्य सुुरक्षित स्थानमा जग्गा उपलब्ध गराउनपर्ने उनको माग छ । पहिरोको पीडासँगै दीर्घरोगको समस्याले थला पर्दै गएको महसुस हुुन थालेको पीडित ६८ वर्षकी ढोल्यानी पुनले बताइन् । उनले भनिन्, ‘म त डाडाँमाथिको घाम हुँ, तर छोरा नातिहरूलाई सुुरक्षित गराई दे सरकार ।’ सात जना परिवारसहित अस्थायी सेल्टरमा बस्दै आएकी वर्ष २० कि सुुत्केरी दिपा थापाले छोटो समयमै सेल्टरको बास कष्टकर बनेको भन्दै आफ्नै घरमा बस्ने सपना विपद्ले तुुहाइदिएको बताइन् ।
‘गर्भवतिपछि सुुत्केरी हुदाँको भन्दा सेल्टरमा दूधे बच्चासहित बस्नुुको पीडा भनिसाध्य छैन,’ उनले भनिन्, ‘भूकम्पपछि पहिरोले पनि थप पीडा थपिदियो । भुूकम्पले चर्काएको घरजग्गा पहिरोले लगिदियो । अब कहाँ र कसरी घर बनाउने ? कल्पना गर्दा पनि मानसिक पीडा बढ्छ ।’ ३८ वर्षकी पीडित शिला घर्तीको समेत पहिरोले चार रोपनी खेत बगरमा परिणत गरिदियो भने सात रोपनी पाखो चिराचिरा परेर जोखिममा छ । उनले भनिन्, ‘अब यो ठाउँमा बास हुुँदैन, फेरी पहिरो र भूकम्पको जोखिम उच्च छ, सरकारले हामीलाई सुुरक्षित स्थानमा घर, जग्गा उपलब्ध गराओस् ।’
दीर्घकालीन विकल्प खोजिँदै
भेरी नगरपालिका–२ रिसाङमा बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई राख्न मकैखेती मासेर अस्थायी सेल्टर निर्माण गरिएको छ । भेरी नगरपालिका–१, २, ३ र ४ का विभिन्न पहिरो प्रभावित क्षेत्रको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेपछि रिसाङलाई अस्थायी सेल्टरका लागि उपयुक्त ठहर गरेको हो ।
प्राविधिक टोलीले पहिरोको जोखिम, भू–बनोट, पानीको निकास, पहुँचमार्ग लगायतका विषय अध्ययन गरी प्रभावित परिवारलाई तत्कालका लागि सुरक्षित राख्न सकिने स्थान पहिचान गरेको थियो । तर यो नै दीर्घकालीन समस्या समाधान नभएको प्राधिकरणका उपसचिव तथा भूगर्भविद् सुुरेश आचार्यले बताए । ‘पहिरोले जमिनबाट घर मेटिदिएको छ । तर त्यससँगै मेटिएको जीवनको आधार पुनःनिर्माण गर्न राज्यको दीर्घकालीन पहल आवश्यक छ,’ उनले भने, ‘पीडित परिवार अहिले राहतको पर्खाइमा मात्रै छैनन्, सुरक्षित ठाउँमा नयाँ जीवन सुरु गर्ने अधिकार र अवसरको पर्खाइमा छन्, यसतर्फ प्राधिकरण र सरकार गम्भीर छ ।’
प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार तत्कालका लागि अस्थायी सेल्टर निर्माणका लागि आवश्यक जग्गा भाडामा लिने विषयमा जग्गाधनी र भेरी नगरपालिकाबीच सम्झौता भएको हो । तर दीर्घकालीन समाधानको विकल्प खोज्नुुपर्ने उनले बताए । ‘हाल अस्थायी सेल्टरको जग्गाको भाडा भेरी नगरपालिकाले बेहोर्नेछ । प्रभावित परिवारलाई तत्काल सुरक्षित ठाउँमा राख्नु अहिलेको प्राथमिकता हो,’ उनले भने, ‘अस्थायी सेल्टर निर्माणसँगै विस्थापित परिवारका लागि खानेपानी, शौचालय, विद्युत्, स्वास्थ्य सेवा, खाद्यान्न तथा सरसफाइको व्यवस्थापन गरिएको छ ।’
रिसाङमा साउन ३० गते गएको पहिरोका कारण ठूलो सङ्ख्यामा नागरिक विस्थापित भएका छन् । पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । पहिरोका कारण घरबास गुमाएका तथा जोखिममा परेका १६८ घरधुरीका ८९७ जनालाई तत्काल सुरक्षित रूपमा राखिएको थियो । तर हाल त्रिभुुवन आधारभूत विद्यालयका कक्षाकोठा र विद्यालयनजिकै मकैबारीमा निर्माण गरिएका १५ वटा अस्थायी टेन्टमा पीडित बस्दै आएका छन् ।
ती शिविरमा १०८ जना बालबालिका, छ जना सुत्केरी र पाँच जना गर्भवती महिला आश्रय लिएर बसिरहेका छन् । भूकम्पपछि निर्माण गरिएका १३ वटा अस्थायी टहरा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १२ वटा आंशिक क्षति भएका छन् । थप १९३ वटा अस्थायी टहरा तथा घर जोखिममा रहेको विवरण छ । बाढीपहिरोले ३१ वटा गोठमा क्षति पु¥याएको छ भने ३१ वटा पशुचौपायाको मृत्यु भएको छ ।








प्रतिक्रिया दिनुहोस्