शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
हिजोआज सामाजिक सञ्जालका ‘रिल्स’ र ‘भिडिओ’हरूमा एउटा सुन्दर स्थान खुबै छाएको छ– जताततै हरियाली वातावरण । मनै लोभ्याउने स–साना फाँट र थुम्काहरू। चारैतिर मनोरम दृष्य । त्यहाँको दृष्य निकै मनमोहक देखिन्छ । मनै लोभ्याउने हरियालीले सबैको हृदय छुन्छ । जहाँ दैनिक मानिसहरूको ओइरो नै लाग्ने गरेको छ । त्यहाँ कोही फोटो र भिडिओ खिचिरहेका देखिन्छन् । कोही नाचिरहेका हुन्छन् । बालबालिका, युवायुुवती र वृद्धावृद्धा नै किन नहोस् । यो न कुनै काल्पनिक कथा हो ।
कुनै चलचित्रको काल्पनिक दृष्य पनि होइन, बाँकेको बैजनाथ–२, स्थित पितमारी हो । जो पछिल्ला केही सातादेखि भाइरल गन्तव्यका रूपमा निकै चर्चामा छ ।पितमारीको क्षेत्र मुख्यगरी बैजनाथ–२ र केही भू–भाग बैजनाथ–३ मा पनि पर्छ । पछिल्लो समय भाइरल भएको पितमारी क्षेत्र नौवस्ता औद्योगिक क्षेत्र अन्तर्गत पर्दछ । उक्त क्षेत्र बैजनाथ गाउँपालिकाको उत्तरमा रत्न राजमार्ग, दक्षिणमा डिगिया डाँडा, पूर्वमा गाभर र पश्चिममा पितमारीको चार किल्लाभित्र रहेको छ ।
त्यहाँ हाल नौवस्ता क्षेत्रीय कारागार, बाल सुधार गृह र शसस्त्र प्रहरी बल जवान शिक्षालय नौवस्ता रहेका छन् । अहिले भाइरल बनेको पितमारी औद्योगिक क्षेत्रको संरचना निर्माणका लागि छुट्याइएको खाली जग्गा हो । जहाँको भूगोल साउन पहिलो सातायता निकै भाइरल बनेको छ । औद्योगिक क्षेत्रको पश्चिमतर्फ अवस्थित रमणीय खाली क्षेत्र रहेको पितमारी भाइरल बनेको हो । जहाँ पुग्न रत्न राजमार्गको कोहलपुर–सुर्खेत सडकखण्ड अन्तर्गत कोहलपुरको चौराहादेखि ८ किलोमिटर दुरी रहेको छ ।
जहाँ पहिलेदेखि गाईभैसी, भेडाबाख्राहरूको चरण क्षेत्र थियो । आसपासका बालबालिकाहरूले खेल्थे । स्थानीय युवाहरूले छुट्टीको समयमा भलिबल खेल्न गर्थे । तर, पछिल्लो समय पितमारी आन्तरिक पर्यटकहरूको प्रमुख रोजाईको केन्द्र बन्न पुगेको छ । प्रविधिको तीव्र विकास र सामाजिक सञ्जालको उच्च पहुँच रहेको जमानामा पितमारी एकाएक सामाजिक सञ्जालबाटै भाइल बन्न पुगेको हो ।
सुरुमा सोही क्षेत्रकै केही व्यक्तिहरूले साउन महिनाको हरियालीमा निकै मनमोहक देखिएका दृष्यहरू सामाजिक सञ्जाल टिकटकमा अपलोड गरिएका थिए । पछि इन्फ्लुएन्सर, कन्टेन्ट क्रिएटर र मिडियाले कभरेज गरेपछि पितमारी भाइरल बन्न पुगेको हो । सामाजिक सञ्जालमा पितमारीका तस्बिर तथा भिडिओहरू भाइरल बनेपछि पर्यटकको चहलपहल अनपेक्षित रूपमा बढेको छ । विभिन्न प्रजातिका फूलले ढाकिएको विशाल क्षेत्र, नीलो आकाश तथा उत्तरतर्फ देखिने पहाडी भू–भागले पितमारीलाई विशेष आकर्षक बनाएको छ ।
यस्तै पितमारी पुगेका पर्यटकहरूले यहाँको प्राकृतिक सौन्दर्य अविस्मरणीय रहेको प्रतिक्रिया दिएका छन् । बाँकेको कोहलपुरकी आरोही सुनार पछिल्लो समय भाइरल बनेको पितमारीमा पुग्दा आफूलाई मन्त्रमुग्ध बनाएको बताइन् । सामाजिक सञ्जालमा भिडिओ हेरेपछि पितमारी पुगेको र प्रत्यक्ष दृश्य झनै आकर्षक लागेको उनको भनाइ छ । बुटवलबाट पितमारी पुगेकी सुहाना मगरले सामाजिक सञ्जाल टिकटकमा भिडिओ अपलोड गर्दैै टिकटकमै भिडिओे देखेर शनिबार घुमघामका लागि साथीहरूसँग आएको बताइन् । उनका अनुसार लामो सवारी यात्रा गरेर पितमारी पुग्दा यात्राको थकान नै कम भयो । पितमारी मै भेटिएका दाङका महेश रोका मगरले अझै व्यवस्थित गर्न सके पितमारीलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सम्भावना देखेको बताए ।
बैजनाथ गाउँपालिका–२ का वडाध्यक्ष राजु रुचालका अनुसार साउन पहिलो सातादेखि हरेक दिन सरदर ५ सय जना भन्दा बढी आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन् । विशेषगरी प्रत्येक हप्ताको शनिबार र आइतबारका दिन सार्वजनिक बिदा हुने भएका कारण हजाराँै नागरिकहरूको आगमन हुने गरेको उनले बताए । ‘पछिल्लो समयमा पितमारी निकै भाइरल भएको छ । सामाजिक सञ्जालमा एकाएक भाइरल भएपछि यहाँ आउनेहरूको सङ्ख्या बढेको हो ।
पितमारीमा साउनको पहिलो सातादेखि आउन थालेका हुन्,’ उनले भने । दैनिक रूपमा सरदर ५ सय जना त्यहाँ पुग्ने गरेका छन् । शनिबार र आइतबारका दिन अत्याधिक मात्रामा पितमारीमा आउने गरेको वडाध्यक्ष रुचाल बताउँछन् । साउन अन्तिम साताको शनिबार र आइतबारमा मात्रै प्रत्येक दिन सरदर १० हजार जना मानिसहरू पितमारी आएको उनले बताए । त्यहाँ आउने नागरिक परिवार, सामूहिक र संस्था र विद्यालयका विद्यार्थीहरू घुम्नको लागि पितमारीमा आउने गरेका हुन् ।
सुरक्षा र फोहोर व्यवस्थापन चुनौती
पितमारीमा दैनिक हजारौँ आन्तरिक जान थालेपछि त्यहाँ सुरक्षा चुनौती बढिरहेको छ । यस्तै त्यहाँ पुग्ने पर्यटकहरूले जथाभावी फालेका सामग्रीले गर्दा फोहोर व्यवस्थापन मुख्य चुनौती बनेको हो । एक्कासी भाइरल बनेको पितमारीमा शौचालय, खानेपानी र सुरक्षा र फोहोर व्यवस्थापन जस्ता आधारभूत आवश्यकता नहुँदा आन्तरिक पर्यटकहरूलाई निकै सकस हुने गरेको छ ।
विशेषगरी शनिबार र आइतबार धेरै पर्यटकहरू आउने भएको उनीहरूको व्यवस्थापन प्रमुख चुनौती बनेको वडाध्यक्ष रुचालको भनाइ छ । पितमारी क्षेत्रको सरसफाई, नागरिक र सुरक्षाको लागि स्थानीय सरकारको अनुमतिमा वडा नम्बर २ स्थित बौद्ध युवा क्लबलाई व्यवस्थापनको जिम्मा दिइएको छ । जिल्ला प्रशासन कार्यालय बाँके र बैजनाथ गाउँपालिकाको अनुमतिमा क्लबले व्यवस्थापन गरिरहेको वडा कार्यालयले जनाएको छ ।
बौद्ध युवा क्लबका अध्यक्ष वीर बहादुर बस्नेतले पार्किङ व्यवस्थापन, फोहोर व्यवस्थापन र अन्य व्यवस्थापन गरिरहेको बताए । उनका अनुसार सरोकारवाला निकायको अनुमतिमा क्लबले सम्पूर्ण व्यवस्थापनको जिम्मा लिएको छ । उनले सुरुमा पितमारीमा आन्तरिक पर्यटकहरूको सङ्ख्या बढ्न थालेपछि सुरक्षा व्यवस्था कायम गर्न गाउँ प्रहरी खटाउन माग गरिएको उनले बताए । तर, स्थानीय सरकारले आफूहरूलाई व्यवस्थापनको जिम्मा दिएको र आफूहरूले क्लबमार्फत १० जना स्वयम्सेवक खटाएको अध्यक्ष बस्नेतले बताए ।
‘शनिबार र आइतबार त धेरै मानिसहरूले आउने भएका कारण बाटो नै बन्द हुने अवस्था छ । हामीले सिडिओ साबलाई चिठी नै लेख्नु परेको थियो । उहाँहरूले पनि आवश्यक सुरक्षा दिन तयार भएको बताउनु भएको छ । स्थानीय सरकारले पनि गम्भीर भएर हामीलाई जिम्मा दिएको छ । अहिले हामीले हेरिरहेका छौँ,’ उनले भने । अहिले त्यहाँ पार्किङ व्यवस्थापनको लागि छुट्टै स्थान तोकिएको छ । अहिले क्लबले मोटरसाइकलको १०, अटोको २० र पसल गर्नेहरूबाट दैनिक ५० रूपैयाँँ लिने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्