विद्युत् प्राधिकरणको नाफामा ४३ प्रतिशतले गिरावट



काठमाडौँ ।

नेपाल विद्युत् प्राधिकरणको नाफामा थप गिरावट आएको छ । आर्थिक वर्ष २०८२–०८३ मा प्राधिकरणको खुद नाफा पाँच अर्ब चार करोड रूपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको आठ अर्ब ९१ करोड रूपैयाँको तुलनामा यो तीन अर्ब ८७ करोडले कम हो । प्राधिकरणको नाफा एक वर्षमा करिब ४३ प्रतिशतले घटेको हो ।

विद्युत् बिक्री तथा अरू आम्दानी बढे पनि खर्चको दबाब वृद्धि हुँदा नाफामा निरन्तर संकुचन देखिएको छ । आर्थिक वर्ष २०८१–०८२ मा प्राधिकरणको वित्तीय विवरण सार्वजनिक गर्दा करअघिको नाफा नौ अर्ब ६ करोड ७० लाख रूपैयाँ रहेको जनाइएको थियो । उक्त रकम आर्थिक वर्ष २०८०–०८१ को १४ अर्ब ४७ करोड रूपैयाँको तुलनामा ३७.३२ प्रतिशतले कम थियो ।

२०८१–०८२ मा प्राधिकरणले विद्युत् बिक्रीबाट एक खर्ब २५ अर्ब २७ करोड ७० लाख रूपैयाँ आम्दानी गरेको थियो । निर्यातबाट मात्र १७ अर्ब ४७ करोड १० लाख रूपैयाँ आम्दानी भएको थियो । अरू स्रोत समेत जोड्दा कूल आम्दानी एक खर्ब ३८ अर्ब ८७ करोड रूपैयाँ पुगेको थियो । सोही अवधिमा कूल खर्च एक खर्ब २९ अर्ब ८१ करोड रूपैयाँ रहेको प्राधिकरणले जनाएको थियो ।

प्राधिकरणका अनुसार, २०८१–०८२ मा सञ्चालन खर्च अघिल्लो वर्षको तुलनामा १०.१५ प्रतिशतले बढेर ९७ अर्ब ७८ करोड ७० लाख रूपैयाँ पुगेको थियो । विद्युत् खरिदमा मात्र ७७ अर्ब १० करोड रूपैयाँ खर्च भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा त्यो ११.७३ प्रतिशतले बढी हो ।

यसरी हेर्दा प्राधिकरणको वित्तीय अवस्थामा नाफा निरन्तर दबाबमा परेको देखिन्छ । एकातर्फ विद्युत् खरिद, सञ्चालन, ब्याज तथा अरू खर्च बढ्दै गएको छ भने अर्कोतिर बिजुली बिक्रीबाट हुने आम्दानीमा अपेक्षित अनुपातमा वृद्धि हुन नसक्दा नाफा खुम्चँदै गएको प्राधिकरणले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ २ गते मंगलबार