फिफा विश्वकप २०२६ मा अफ्रिकाको एक १० टापु मिलेर बनेको र ५ लाख जनसंख्या भएको केप भर्डेले सनसनी मच्चाएको छ । समूह चरणका तीन खेलमा बराबरी र राउण्ड अफ ३२ को खेलमा साविक विजेता अर्जेन्टिनासँग पराजित भएर बाहिरिए पनि केप भर्डेको विश्वभर चर्चा चुलिएको छ । खासगरी गोलकिपर भोजिन्हा र सम्पूर्ण टिमको खेल प्रदर्शन, विश्व विजेता टिमविरुद्ध देखाएको साहस र आत्मविश्वासले विश्व फुटबलमा स्थान बनाउन सफल भएको हो ।

Argentina’s Lionel Messi (10) controls the ball while defended by Cape Verde’s Deroy Duarte (14) during the World Cup round of 32 soccer match between Argentina and Cape Verde in Miami Gardens, Fla., Friday, July 3, 2026. (AP Photo/Chris Carlson)
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा सञ्चालन भइरहेको फिफा विश्वकप २०२६ जारी छ । विश्वकप इतिहासमै पहिलो पटक ४८ राष्ट्रले सहभागिता जनाएको प्रतियोगिताको राउण्ड अफ ३२ का खेल सम्पन्न भएका छन् । अब अन्तिम १६ का खेल सुरु हुँदैछन् । यस पटकको विश्वकपमा पहिलो पटक सहभागिता जनाएका टिमहरुले अविश्वसनीय खेल कौशल प्रदर्शन गरे । समूह चरणका खेलदेखि नै विश्वकप जितिसकेका टिमलाई नयाँ प्रवेशी टोलीले कडा टक्कर दिए ।
तीमध्ये विश्वकपको पहिलो सहभागितामै विश्व फुटबल इतिहासमा प्रेरणादायी कथा कोर्न सफल भएको देश हो, केप भर्डे । ५ लाख जनसंख्या भएको यो अफ्रिकी मुलुकले विश्व फुटबलको परिभाषा नै बदलिदिएको छ । समूह चरणदेखि नै सनसनी मच्चाउँदै आएको यो देशले राउण्ड अफ ३२ को खेलमा त झन् चमत्कार नै गरिदियो । समूह चरणमा अपराजित रहेर अघिल्लो चरण पुगेको केप भर्डेको प्रतिस्पर्धी थियो, विश्व वरीयतामा १ नम्बर रहेको २०२२ को फिफा विश्वकप विजेता अर्जेन्टिना ।
आधुनिक फुटबलका महानतम खेलाडीमध्येका एक लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाविरुद्ध केप भर्डे जुन जुझारुपन देखायो, त्यसको अहिले संसारभरी मुक्तकण्ठले प्रशंसा भइरहेको छ । केप भर्डेले खेल त हा¥यो । विश्वभर आफ्नो अविश्वसनीय छाप छोड्न सफल भयो । अफ्रिकाको १० वटा टापु मिलेर बनेको सानो देशले विश्व फुटबलको पावरहाउस टिमविरुद्ध सानदार खेल प्रदर्शन ग¥यो । केप भर्डे अर्जेन्टिनासँग पराजित भएर विश्वकपबाट बाहिरिए पनि विश्व फुटबलमा स्वर्णिम अक्षरले आफ्नो इतिहास बनायो ।
केप भर्डेले राउण्ड अफ ३२ मा उपाधि दाबेदार मानिएको विश्व विजेता अर्जेन्टिनालाई निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरीमा रोक्न सफल भयो । अतिरिक्त समयमा पनि अन्तिम समयसम्म २–२ गोलको बराबरी खेल्यो । अतिरिक्त समयको अन्तिमतिर आत्मघाती गोलको सिकार हुँदै केप भर्डे विश्वकपबाट बाहिरिन पुग्यो । जारी विश्वकपमा आफ्नो खेलको जादु नै देखाएका लियोनल मेस्सीको अर्जेन्टिनाको टिमविरुद्ध केप भर्डे जुनस्तरको साहस र आत्मविश्वास देखायो त्यसको शब्दले जति प्रशंसा गरे पनि कम हुन्छ ।
विश्वभरका फुटबल पण्डित, पूर्वखेलाडी, करोडौँको फुटबल समर्थकहरुले अहिले केप भर्डेको खुलेरै मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।
राउण्ड अफ ३२ को खेलमा पहिलो हाफको २९औँ मिनेटमा कप्तान लियोनल मेस्सीको सुन्दर गोलको सहायताले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफ १–० गोलमै सकियो । दोस्रो हाफको ५९औँ मिनेटमा केप भर्डेका डोरोय डुर्टेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पु¥याए । नियमित समयमा बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो ।
अतिरिक्त समयको पहिलो हाफमा खेलको ९२औँ मिनेटमा अर्जेन्टिनाका लिसान्ड्र्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई दोस्रो अग्रता दिलाए । निकै साहसिक खेल प्रदर्शन गरेको केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता ११ मिनेटमै तोडियो । खेलको १०३औँ मिनेटमा केप भर्डेका सिन्डी लोपेसले उत्कृट गोल गर्दै खेललाई फेरि २–२ गोलको बराबरीमै पु¥याए । अतिरिक्त समयको दोस्रो हाफको १११औँ मिनेटमा केप भर्डे अभागी ठहरियो । सानदार खेल प्रदर्शन गरिरहेको केप भर्डेको पोष्टमा आत्मघाती गोल हुन पुग्यो ।
खेलको निर्णायक क्षणमा लियोनल मेस्सीको कर्नरमा अर्जेन्टिनाका क्रिस्टियन रोमेरोको उत्कृष्ट हेडर बल केप भर्डेका डाइनी बोर्गेसलाई छोएर बल गोल पोष्ट भित्र छि¥यो । अन्तिममा अर्जेन्टिना ३–२ गोलले विजयी भयो । रेफ्रीको अन्तिम सिट्टी नबज्दासम्म पनि बहादुरीका साथ अर्जेन्टिनासँग भिडिरहेको केप भर्डेको सपना अमेरिकाको मियामी रंगशालामा हजारौँ समर्थकका बीच चकनाचुर भयो ।
जुन कुरा खेल सकिनाबित्तिकै केप भर्डेका खेलाडीहरुको आँखामा प्रष्टै देखिन्थ्यो । खेलाडीहरु मैदानमा ढले, आँसु खसाले । तर समर्थकहरुले उनीहरुको सम्मान उठेर ताली बजाए । किनकी विश्व विजेता टिमविरुद्ध उनीहरुले अतिरिक्त समयको अन्तिम सेकेण्डसम्म जसरी भिडे, त्यो केप भर्डेको लागि खेल जिते सरह थियो ।
तीन विश्व विजेताविरुद्ध साहस देखाएको केप भर्डे
विश्वकप इतिहासमा सबैभन्दा सानो राष्ट्रमध्ये एक केप भर्डे प्रतियोगितामा ठूलो छाप छोड्दै बिदा भएको छ । विश्वकपमा पहिलो पटक सहभागिता जनाएको केप भर्डेले कूल चार खेल खेल्यो । जसमा ३ खेलमा बराबरी र १ खेलमा हार बेहो¥यो । विपक्षी टिमविरुद्ध चार गोल गर्दा ५ गोल खायो । अर्जेन्टिनाविरुद्ध २ गोल गर्दा ३ गोल खायो । जारी विश्वकपमा केप भर्डे समूह ‘एच’मा परेको थियो ।
जसमा थिए, सन् २०१० को विश्वकप विजेता स्पेन र सन् १९३० र १९५० को विश्वकप विजेता उरुग्वे र पछिल्लो समय लगातार विश्वकप खेल्दै आएको साउदी अरेबिया । किनै कठिन समूहमा परेको केप भर्डेले समूह चरणमा सनसनी नै मच्चायो । केप भर्डेले विश्वकप इतिहासमै पहिलो पटक सन् २०१० को विश्वकप विजेता स्पेनसँग प्रतिस्पर्धा गरेको थियो । स्पेनसँग गोलरहित बराबरी खेल्यो ।
दोस्रो खेलमा दुई पटकको विश्व विजेता उरुग्वेलाई पनि केप भर्डेले उत्कृष्ट पुनरागमन गर्दै २–२ को बराबरीमा रोक्यो । दुई पटक पछि परेको अवस्थामा केप भर्डेले बराबरी गोल फर्काएर अंक खोसेको थियो । तेस्रो खेलमा साउदी अरेबियाविरुद्ध गोलरहित बराबरी खेलेपनि केप भर्डे समूहमा उरुग्वेभन्दा अघि रह्यो । स्पेन ७ अंक जोडेर समूह विजेता बन्दा ३ अंकसहित केप भर्डे उपविजेता बन्यो ।
अन्तिम खेलमा स्पेनसँग पराजित भएपछि उरुग्वे २ अंकसहित तेस्रो स्थानमा रह्यो । यो समूहबाट साउदी अरेबिया र उरुग्वे बाहिरिए । समूह चरणमा केप भर्डे तीनवटै खेलमा अपराजित रह्यो । समूह उपविजेता बनेपछि केप भर्डेले राउण्ड अफ ३२ र समूह ‘जे’को विजेता तथा साविक विजेता अर्जेन्टिनाको सामना गर्ने तय भयो । अर्जेन्टिनासँग स्तब्धपूर्ण हारसँगै केपभर्डे बाहिरिएको हो ।
विश्वकपमा केप भर्डेका नायक बनेका ‘भोजिन्हा’
समूह चरणमा दुई विश्वकप विजेता स्पेन र उरुग्वे र राउण्ड अफ ३२ मा साविक विजेता अर्जेन्टिनाबिरुद्ध केप भर्डेले जुनस्तरको खेल प्रर्दशन ग¥र्यो, त्यसका लागि नायक बने गोलकिपर ४० वर्षीय भोजिन्हा । स्पेनविरुद्धको खेलसम्म ४० वर्षीय भोजिन्हा विश्वकप फुटबलमा कुनै कहलिएको नाम थिएन । पोर्चुगलको दोस्रो डिभिजन क्लबबाट व्यवसायिक फुटबल खेल्ने भोजिन्हा पहिलो खेलबाटै विश्व फुटबलमा उदाए ।
समूह चरणको पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेल्दा भोजिन्हा नै नायक बनेका थिए । स्पेनविरुद्ध उनले उत्कृष्ट ७ वटा बचाउ गरेका थिए । खेल सकिएपछि उनी नै भावुक भएका थिए । आँखाबाट आँसु नै खसालेका थिए । त्यसपछि केप भर्डेको झण्डा दुई हातले टाउकोमाथि उठाएको तस्बिर भाइरल बनेको थियो । उनलाई सामाजिक सञ्जालमा लाखौँ मानिसले पछ्याए ।
उरुग्वे र साउदी अरेबियाविरुद्ध पनि उनले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । राउण्ड अफ ३२ को खेलमा अर्जेन्टिनाविरुद्ध पनि उनले उत्कृष्ट सात वटा बचाउ गरे । विश्वकपका चार खेलमा नायकी प्रदर्शनमा भोजिन्हाले कूल १८ बचाउ गरे । जुन जारी विश्वकपमा कुरासाओका इयान रुम ९२०० र पाराग्वेका अर्मान्डो गिल ९१९०पछि उनी सर्वाधिक बचाउने गर्ने गोलकिपरमा तेस्रो स्थान हो ।
भोजिन्हाको विश्वकपको रोमाञ्चक यात्रा सकिएको छ । पोर्चुगलको दोस्रो डिभिजनको क्लब चाभेससँग उनको सम्झौता पनि सकिएको छ । उनी अहिले क्लबविहीन छन् । अब उनले कुन क्लबबाट खेल्नेछन् त्यो चासोको विषय बनेको छ । सम्भवत कुनै ठूला क्लबले उनलाई अनुबन्ध गर्न सक्छन् । त्यो समयले नै बताउनेछ ।
केप भर्डेको बर्हिगमनपछि कसले के भने?
केप भर्डेका प्रशिक्षक बुबिस्ताले आफ्नो टोली सानो भए पनि उत्कृष्ट टोलीसँग प्रतिस्पर्धा गर्न सक्छ भनेर देखाएको र निकै गर्व लागेको बताए । बुबिस्ताले पनि गर्व व्यक्त गर्दै भने, ‘हामी सानो देश हौँ, तर विश्वकै उत्कृष्ट टोलीसँग खेल्न सक्छौँ भन्ने प्रमाणित ग¥यौँ ।’ यसैगरी अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले केप भर्डेले आफू एक उत्कृष्ट टोली भएको प्रमाणित गरेको बताएका छन् ।
उनले भने, ‘निकै कठिन खेल, तर तपाईँले सधै सकारात्मक पक्षहरुमा ध्यान दिनुपर्छ । यो टोलीले कहिल्यै हार मान्दैन । विपक्षी टोली कमजोर पनि हुँदैनन् । सबै खेलाडीको योगदानलाई म कदर गर्छु ।’ खेलमा म्यान अफ द म्याच घोषणा भएका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले केप भर्डेका खेलाडीले अधिकांश समय बल नियन्त्रणमा लिएको र आफूहरुलाई खोस्न कठिन परेको प्रतिक्रिया दिएका छन्।
स्कटल्यान्डका पूर्वखेलाडी जेम्स म्याकफ्याडेनले भनेका छन्, ‘केप भर्डेले हा¥यो, तर जित्यो । उनीहरुले साहस, एकता र विश्वास देखाए ।’ इङ्गल्यान्डका पूर्वडिफेन्डर ग्यारी नेभिलले यो प्रदर्शनलाई ‘अन्डरडग टोलीको सबैभन्दा महान प्रदर्शनमध्ये एक’ भनेका छन् । उनका अनुसार यो पल खेलाडीहरूका लागि जीवनमा फर्केर नआउने विशेष क्षण हो । विश्वभरका फुटबल पण्डितहरुदेखि फुटबल समर्थकहरु अनी पूर्वखेलाडीहरुले समेत केप भर्डेको खुलेर प्रशंसा गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्