काठमाडौँ।
नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पूँजी बजारलाई थप पारदर्शी र लगानीकर्तामैत्री बनाउन प्रतिबद्धता गरेका छन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले भेटवार्ताका क्रममा उनले नेपालको पूँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।
नेपाल सरकारको बजेट तथा नीति–कार्यक्रमले तय गरेका उद्देश्य र प्राथमिकताअनुरूप पूँजी बजारको विकास, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक सबै पहल गर्ने उनको भनाइ छ । पूँजी बजारको दिगो विकासका लागि नियामक निकाय, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्ता तथा अन्य सरोकारवालाबीच आपसी समन्वय र सहकार्यलाई थप सुदृढ गराउने भट्टले बताए ।
बजारको पारदर्शिता, सुशासन, लगानीकर्ताको हित संरक्षण तथा आधुनिक प्रविधिको प्रयोगमार्फत नेपालको पूँजी बजारलाई नयाँ उचाइमा पु¥याउने दिशामा बोर्ड सक्रियतापूर्वक अघि बढ्ने उनको भनाइ थियो । एसोसिएसन अध्यक्ष सागर ढकालले पूँजी बजारको दिगो विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि, बजार विस्तार तथा आवश्यक नीतिगत एवम् संरचनागत सुधारका लागि एसोसिएसनले सदैव रचनात्मक सहयोग गर्ने प्रतिक्रिया दिए ।
नेपाल सरकारको बजेटले पूँजी बजारको विकासका लागि तय गरेका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, बजार सुधार, नयाँ वित्तीय उपकरणको विकास गर्न उनको सुझाव छ । लगानीकर्ता शिक्षा, प्रविधिमैत्री सेवा विस्तार तथा समग्र पूँजी बजारको संस्थागत सुदृढीकरणका विषयमा काम गर्ने विषयमा पनि छलफल भएको एसोसियसनले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्