काठमाडौँ ।
सहआयोजक क्यानडाले दक्षिण अफ्रिकालाई रोमाञ्चक खेलमा पराजित गर्दै पहिलो पटक विश्वकपको अन्तिम १६ मा पुगेर इतिहास रचेको छ । खेलको इन्जुरी समयको दोस्रो मिनेटमा स्टेफन इस्टाकियोले गरेको निर्णायक गोलले क्यानडालाई १–० को ऐतिहासिक जित दिलायो । धेरै गोल गर्ने अवसरहरू नबनेको यस प्रतिष्पर्धात्मक खेलमा अतिरिक्त समयतर्फ धकेलिने संकेत देखिएको थियो ।
तर, खेलको अन्त्यतिर इस्टाकियोले पेनाल्टी एरियाको छेउबाट प्रहार गरेको उत्कृष्ट ‘लो स्ट्राइक’ गोलमा परिणत भएपछि क्यानडाले जित हासिल ग¥यो । यसअघिका विश्वकपमा खेलिएका सबै ६ खेल हारेको क्यानडाका लागि यो प्रतियोगिता निकै सुखद साबित भएको छ । यसअघि जुन १८ मा कतारलाई ६–० ले हराएर विश्वकपमा पहिलो जित दर्ता गरेको क्यानडा, यस जितसँगै अन्तिम १६ मा पुग्ने पहिलो राष्ट्र बनेको छ ।
अब उनीहरूले जुलाई ४ मा ह्युस्टनमा नेदरल्यान्ड्स वा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछन् । जितपछि मैदानमा खेलाडीहरूलाई घेरेर प्रशिक्षक जेसी मार्सले उनीहरूको हौसला बढाए । उनले भने, ‘तिमीहरू क्यानडाका नायक हौ । यो देशमा फुटबलको भविष्य तिमीहरूकै कारणले उज्ज्वल छ । तिमीहरूले आफ्नो चरित्र देखाएका छौ र मलाई तिमीहरूमाथि गर्व छ ।’
क्यानडाका लागि अर्को खुसीको कुरा बायर्न म्युनिखका स्टार विङ्गर अल्फोन्सो डेभिसको पुनरागमन रह्यो । ह्यामस्ट्रिङ चोटका कारण समूह चरणका खेलहरू गुमाएका डेभिसले मैदान छिर्नेबित्तिकै खेलमा प्रभाव जमाएका थिए । समूह ‘ए’मा दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाले भने यस खेलमा सोचेजस्तो प्रदर्शन गर्न सकेन । पूरै खेल अवधिभर उनीहरूले ‘टार्गेट’मा एउटा मात्र प्रहार गर्न सके र खेल अतिरिक्त समयसम्म तान्ने रणनीतिमा मात्र केन्द्रित देखिए ।









प्रतिक्रिया दिनुहोस्