बैंक ब्याजदर निरन्तर ओरालो



काठमाडौँ ।

नेपाली बैंकिङ प्रणालीमा पछिल्लो एक वर्षदेखि देखिएको अधिक तरलता र कमजोर कर्जा मागको प्रभाव ब्याजदरमा निरन्तर परिरहेको छ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीले पनि यही प्रवृत्तिलाई थप पुष्टि गरेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये असारका लागि सात बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने बाँकी १३ बैंकले पुरानै दर कायम राखेका छन् ।

केही बैंकले ब्याजदर स्थिर राखे पनि औसत दरमा भने पुनः गिरावट आएको छ । नेपालको बैंकिङ क्षेत्र केही वर्षअघि निक्षेप तान्न प्रतिस्पर्धामा थियो । किनकि त्यो बेला कर्जाको उच्च माग थियो । त्यसबेला बैंकहरूले १२ देखि १३ प्रतिशतसम्म मुद्दती निक्षेपमा ब्याज दिने गरेका थिए । तर अहिले अवस्था उल्टिएको छ । बैंकहरूसँग लगानी गर्न सकिने रकम पर्याप्त छ, तर कर्जा माग अपेक्षाकृत कम छ ।

उद्योग, व्यापार र निर्माण क्षेत्रको सुस्त गतिविधिले नयाँ ऋणको माग बढ्न सकेको छैन । फलस्वरूप बैंकहरूले निक्षेप संकलनका लागि उच्च ब्याजदर प्रस्ताव गर्नुपर्ने दबाब पनि महसुस गरिरहेका छैनन् । असार महिनाका लागि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ४.२६ प्रतिशत कायम गरेका छन् । यो जेठ महिनाको औसत ४.३४ प्रतिशतको तुलनामा ०.०७७ प्रतिशत बिन्दुले कम हो ।

यद्यपि यो गिरावट ठूलो नभए पनि लगातार घट्दो प्रवृत्तिले बचतकर्तालाई चिन्तित बनाएको छ ।  त्यस्तै बैंकमा थुप्रिएको रकम लगानी हुन नसक्नुको लक्षण देशको आर्थिक गतिविधि राम्रो भइरहेको छैन भन्ने हो । हुँदाहुँदा मुद्रास्फीतिको तुलनामा बचतकर्ताले वास्तविक रूपमा आम्दानी गर्न नसक्ने अवस्था आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख महिनाको वार्षिक मूल्यवृद्धि दर ५.०४ प्रतिशत रहेको छ ।

तर अधिकांश बैंकले मुद्दती निक्षेपमा ४ प्रतिशतदेखि ४.७५ प्रतिशतसम्म मात्र ब्याज दिइरहेका छन् । यसको अर्थ बैंकमा पैसा राख्ने व्यक्तिले प्राप्त गर्ने ब्याजभन्दा बजारमा बस्तु तथा सेवाको मूल्य वृद्धि बढी छ । आर्थिक भाषामा यसलाई ‘ऋणात्मक वास्तविक प्रतिफल’ भनिन्छ । उदाहरणका लागि यदि कुनै व्यक्तिले एक लाख रूपैयाँ मुद्दती निक्षेपमा राखेर वार्षिक ४.५ प्रतिशत ब्याज प्राप्त गरे भने एक वर्षपछि उसले ४ हजार ५ सय रूपैयाँ आम्दानी गर्छ ।

तर सोही अवधिमा मूल्यवृद्धि ५ प्रतिशतभन्दा माथि हुँदा उक्त रकमको वास्तविक क्रयशक्ति घट्छ । अर्थात् बैंकबाट ब्याज प्राप्त भए पनि जीवनयापनको लागत बढेकाले बचतकर्ताले वास्तविक लाभ अनुभव गर्न सक्दैनन् । असारका लागि ब्याजदर घटाउने बैंकहरूको सूचीमा कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक र एनएमबी बैंक रहेका छन् ।

यी बैंकहरूले जेठ महिनाको तुलनामा विभिन्न अनुपातमा ब्याजदर कटौती गरेका छन् । बाँकी बैंकहरूले भने पुरानै दरलाई निरन्तरता दिएका छन् । हाल व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंकले समान ४.७५ प्रतिशत दिएका छन् । प्रभु बैंक र नबिल बैंकले ४.५५ प्रतिशत, ग्लोबल आईएमई, माछापुच्छ्रे, सानिमा तथा इन्भेस्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशत ब्याजदर कायम गरेका छन् । केही बैंकको ब्याजदर भने ४ प्रतिशतको हाराहारीमा झरेको छ ।

बैंकहरूको ब्याजदर घट्नुको महत्वपूर्ण कारण वित्तीय प्रणालीमा रहेको उच्च तरलता हो । पछिल्ला महिनाहरूमा बैंकहरूमा निक्षेप बढिरहे पनि ऋण प्रवाह सोही अनुपातमा बढ्न सकेको छैन । उद्योग व्यवसायमा लगानी विस्तारको गति सुस्त छ भने निजी क्षेत्रले नयाँ परियोजनामा अपेक्षित उत्साह देखाएको छैन । यसले गर्दा बैंकहरूको कर्जा–निक्षेप अनुपात दबाबमा परेको छ ।

तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले पनि विभिन्न उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा, रिपो तथा अन्य मौद्रिक उपकरणमार्फत बैंकिङ प्रणालीबाट अतिरिक्त रकम खिच्ने काम गरिरहेको छ । हाल राष्ट्र बैंकले यस्ता निक्षेपमा अधिकतम २.७५ प्रतिशतसम्म ब्याज उपलब्ध गराउँदै आएको छ । यसले बैंकहरूलाई निष्क्रिय रूपमा रकम राख्दा पनि केही प्रतिफल दिन्छ, तर निक्षेपकर्तालाई उच्च ब्याज दिनुपर्ने आवश्यकता कम गराउँछ ।

ब्याजदर घट्दा त्यसको प्रभाव केवल मुद्दती निक्षेपमा सीमित रहँदैन । बचत खाताको ब्याजदर पनि घट्ने सम्भावना रहन्छ । साथै बैंकहरूको आधार दर घट्न गएपछि कर्जाको ब्याजदरमा पनि कमी आउँछ । यसले ऋणीहरूलाई राहत दिने अपेक्षा गरिन्छ । घरकर्जा, व्यवसायिक कर्जा तथा अन्य ऋण लिएका ग्राहकका लागि भने ब्याजदर घट्नु सकारात्मक पक्ष हो ।

तर बचतकर्ता र लगानीकर्ताका लागि भने परिस्थिति फरक छ । बैंकमा रकम राखेर उच्च प्रतिफल प्राप्त गर्ने अवसर क्रमशः खुम्चिँदै गएको छ । त्यसैले कतिपय लगानीकर्ताले सेयर बजार, म्युचुअल फन्ड, सरकारी बचतपत्र वा अन्य वैकल्पिक लगानीका साधनतर्फ ध्यान दिन थालेका छन् । यद्यपि त्यस्ता साधनमा जोखिमको मात्रा बैंक निक्षेपभन्दा बढी हुने भएकाले लगानी निर्णय गर्दा सावधानी आवश्यक हुन्छ ।

अर्थशास्त्रीहरूका अनुसार ब्याजदरको भावी दिशा मुख्यतः कर्जा माग, आर्थिक गतिविधिको विस्तार र राष्ट्र बैंकको मौद्रिक नीतिमा निर्भर रहनेछ । यदि निजी क्षेत्रको लगानी बढेर कर्जाको माग सुधार भयो भने ब्याजदर स्थिर हुन वा केही बढ्न पनि सक्छ । तर वर्तमान अवस्थामा बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र कमजोर कर्जा विस्तारले ब्याजदरलाई अझै तलतिर दबाब दिने संकेत देखिएको छ । यसरी असार महिनामा पनि बैंकहरूको निक्षेप ब्याजदर घट्दा बचतकर्ताले मुद्रास्फीतिलाई जित्न नसक्ने अवस्था कायम रहेको छ ।

बैंकमा पैसा सुरक्षित भए पनि त्यसबाट प्राप्त हुने प्रतिफल मूल्यवृद्धिभन्दा कम हुँदा वास्तविक आम्दानी भने घटिरहेको देखिन्छ । अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी देशमा नयाँ सरकार आएपछि पनि अर्थतन्त्र चलायमान हुन सकिरहेको छैन भन्ने उदाहरणको रूपमा कर्जाको माग बढ्न नसकेकोबाट पुष्टि हुने बताउँछन् । ‘एकातिर सरकारले आफैँ पूँजीगत बजेट खर्च गर्न सकेको छैन भने अर्कोतर्फ बैंकमा जग्मा भएको रकम पनि उपयोगविहीन हुनु अर्थतन्त्रमा सुखद हुन सक्दैन र सो सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृदिदरको लक्ष्य पूरा गर्नु त झन् परको कुरा भयो,’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १ गते सोमबार