सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता



काठमाडौँ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ र हिमनदी तीव्र गतिमा पग्लिरहेका देख्दा प्रसिद्ध आरोही फुर्वा तेञ्जिङ शेर्पाका आँखा चिसिने गर्दछन् ।स्वदेशी तथा विदेशी आरोहीलाई सगरमाथाको शिखरमा पुर्‍याउँदै नाम र दाम कमाउने उनलाई यही गतिमा सगरमाथालगायत हिमालमा हिउँको तह घट्दै जाने हो भने भावी पुस्ताले हिमाल देख्नै नपाउने हुन् कि भन्ने चिन्ता पनि उनलाई छ ।

उनी भन्छन्, “पहिले आधार शिविरबाट पाँच मिनेट हिँड्दा हिउँको ढिक्का भेटिन्थ्यो तर अहिले डेढ घण्टा हिँड्दा पनि हिउँ भेट्न गाह्रो छ, यसलाई जलवायु परिवर्तनको प्रत्यक्ष असर मान्न सकिन्छ ।” आरोहणका लागि विश्वभरबाट आउने पर्वतारोहीले अहिले सगरमाथाको बद्लिँदो स्वरूप प्रत्यक्ष रूपमा अनुभव गरिरहेको उनको भनाइ छ ।उनी भन्छन्, “विश्वको सर्वोच्च शिखर सगरमाथा केवल हिमाल मात्र होइन, साहस, चुनौती र प्राकृतिक सौन्दर्यको प्रतीक पनि भएकाले यसको संरक्षणमा जुट्नु सबैको सरोकारको विषय हो ।”

पृथ्वीको औसत तापक्रम बढ्दै जाँदा हिमाली क्षेत्रमा हिमनदीहरू पग्लिने गति बढ्नु, हिउँ पर्ने समय र मात्रा परिवर्तन हुनु तथा वर्षाको ढाँचा बद्लिनेक्रम तीव्र रूपमा देखिएको आरोहीहरुको भनाइ छ । हिमालय क्षेत्रलाई जलवायु परिवर्तनप्रति अत्यन्त संवेदनशील क्षेत्रका रूपमा लिने गरिन्छ । हिउँले ढाकिएको मार्गमा अहिले धेरै स्थानमा नाङ्गा चट्टान पार गर्नुपर्ने अवस्था आएको उनी सुनाउछन्। एक समय बाक्लो हिउँले ढाकिएका क्षेत्रमा अहिले चट्टान र बरफका पुराना तहहरू देखिन थालेपछि कतिपय पर्वतारोही आगामी दिनमा नेपालमा आउने सम्भावना कम हुने हो कि भन्ने चिन्तामा फुर्वा देखिनुहुन्छ ।

दोलखाको रोल्वालिङमा सन् १९८८ मा जन्मिएका अनुभवी पर्वतारोही फुर्वा तेञ्जिङ शेर्पा १८ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा चुचुरोमा पाइला राखेका छन् । १४ वर्षको उमेरमा भरियाको कामबाट हिमाल जान थालेका शेर्पा सन् २००७ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका थिए। उनले यसअघि मनास्लु, आबादब्लम लगायतका हिमालमा पाइला राखिसकेका छन् । सगरमाथा क्षेत्रमा हिउँको कमी हुनु दृश्य परिवर्तनको विषय मात्र होइन; यसले आरोहणको जोखिम, हिमाली पारिस्थितिकी प्रणाली, जलस्रोत तथा स्थानीय समुदायको जीवनमा प्रभाव पार्न थालेको प्रत्यक्ष अनुभूति हुन थालेको छ ।

यही कारणले पछिल्ला वर्षमा हिउँबिनाको सगरमाथा हुने हो कि भन्ने चिन्ता बढेको छ ।केही दशकअघिसम्म मौसम अपेक्षाकृत स्थिर रहँदै आएकामा अहिले भने मौसममा तीव्र उतारचढाव आउने गरेको छ । बिहान सामान्य देखिएको मौसम केही घण्टामै खराब हुने गर्दछ । उनी भन्छन्, “सगरमाथाको मार्ग पहिलेभन्दा धेरै परिवर्तन भएको छ । विगतमा हिउँले ढाकिएका भाग अहिले खुला चट्टानमा परिणत हुँदै गएका छन् । यसले आरोहणलाई झन् कठिन र जोखिमपूर्ण बनाएको छ ।”

विशेषगरी खुम्बु आइसफल क्षेत्रमा बरफको संरचना अस्थिर बन्दै गएकाले भविष्यमा आरोहणमा थप चुनौती थपिनसक्ने देखिन्छ । हिउँको कमीका कारण बरफ छिटो पग्लिने र चिरा तथा दरार थप खुल्ने समस्या देखिएको उनको भनाइ छ ।

जलवायु परिवर्तनबाट सिर्जित विश्वव्यापी समस्या छँदैछ, त्योभन्दा पनि फोहर व्यवस्थापनको समस्या झन् जटिल बन्दै गएको उनी बताउछन् । फुर्वा सगरमाथाको क्याम्प २ सम्म फोहर व्यवस्थापन केही हदसम्म प्रभावकारी देखिए पनि क्याम्प ३ र क्याम्प ४ मा अवस्था अझै चिन्ताजनक रहेको बताउछन् । “क्याम्प ४ बाट फोहर तल झार्न निकै गाह्रो छ । आरोहीहरु आफ्नो ज्यान जोगाउनु कि फोहार बोक्नु भन्ने अवस्थामा पुग्छन्”, उनी भन्छन् ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले फोहर व्यवस्थापनका लागि प्रयास गरिरहेको भए पनि माथिल्लो क्षेत्रमा थुप्रिएका पुराना पाल, अक्सिजन सिलिन्डर र अन्य फोहर हटाउन अझै ठूलो चुनौती रहेको शेर्पा बताउछन् । गत मे २० मा एक चिनियाँ नागरिकलाई लिएर सगरमाथाको सफल आरोहण गरेर फर्किएका शेर्पा हरेक वर्ष यो समस्या थपिँदै गएको बताउछन्।

यसपटक सगरमाथामा विश्वका ५६ देशका ४९५ आरोहीले अनुमति लिएका थिए भने एक हजारभन्दा बढीले सगरमाथा आरोहण गरेका थिए । हिमालको प्राकृतिक सौन्दर्य र सुरक्षा कायम राख्न सरकार र सरोकारवाला निकायले समयमै ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको उनको सुझाव छ । यति मात्र होइन, दक्ष शेर्पाहरुको विदेश पलायन र आरोही कम्पनीहरुबीचको अस्वस्थ प्रतिस्पर्धाले पनि भविष्यमा आरोहीहरुको सङ्ख्यामा प्रभाव पर्नसक्ने सम्भावनालाई उनले नकार्न नसकिने बताउछन्।

अनुभवी र दक्ष शेर्पाहरू राम्रो अवसरको खोजीमा विदेश पलायन हुनेक्रम बढेको छ । हाल सङ्खुवासभाको मकालु, सोलुखुम्बु र दोलखाको रोल्वालिङ क्षेत्रका शेर्पा आरोहणमा सक्रिय भए पनि दक्ष जनशक्तिको अभाव खड्किएको उनको भनाइ छ । विश्वमै साहसी पथप्रदर्शकको परिचय बनाएका नेपाली शेर्पाहरुले असाधारण क्षमताका साथ कठिन चुनौती व्यहोर्दै आइरहेका छन् । पर्वतारोहणका सिलसिलामा ज्यानसमेत जानसक्ने जोखिमबारे जानकार हुँदाहुँदै पनि उनीहरुले विश्वका विभिन्न मुलुकका पर्वतारोहीले सपना पूरा गर्न नेतृत्वदायी भूमिका खेल्दै आइरहेका छन् ।

हिमाल चढ्ने काम खतराजनक भए पनि कीर्तिमानी आरोहीलाई नेपालमा खासै सम्मान तथा सुविधा नहुँदा उनीहरुको विदेश पलायन हुनेक्रम रोक्नका लागि सरकारले नै नीतिगत रुपमा निर्णय लिएर कीर्तिमानीहरुको सम्मानका लागि अग्रसरता लिनु जरुरी भएको पर्यटनमा कलम चलाउँदै आउनुभएका पत्रकार राजु सिलवाल बताउछन् ।

यस्तै, हिमाल आरोहण गराउने कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धाले गर्दा सेवाको गुणस्तर र सुरक्षामा प्रश्न उठेको छ । पहिले आरोहणका लागि ५० हजार डलरसम्म लाग्ने गरेकामा अहिले प्रतिस्पर्धाका कारण २०–२५ हजार डलरमै टोलीहरू लैजाने गरिएको उनी बताउछन्। यसले गर्दा अनुभवी शेर्पाको सट्टा कम अनुभवी व्यक्तिहरू परिचालन हुने जोखिम बढेको उनको भनाइ छ ।

हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरबारे विभिन्न अनुसन्धान संस्थाले सङ्कलन गरेका हिमनदीको अवस्था, हिउँको मात्रा तथा तापक्रम परिवर्तनसम्बन्धी तथ्याङ्कका आधारमा नेपाल सरकारले पनि अध्ययन र निगरानी बढाउनुपर्ने नेपाल पर्वतारोहण सङ्घका महासचिव राजेन्द्र लामा बताउछन् । यस्ता अध्ययनले भविष्यका जोखिम मूल्याङ्कन र नीतिगत योजना बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

जलवायु परिवर्तनको प्रभाव कम गर्न विश्वव्यापीस्तरमा हरितगृह ग्यास उत्सर्जन घटाउने प्रयाससँगै स्थानीयस्तरमा पनि हिमाली वातावरण संरक्षण, फोहर व्यवस्थापन तथा दिगो पर्यटनलाई प्राथमिकता दिनुपर्ने आवश्यकतामा लामाको जोड छ ।

सगरमाथामा आरोहण गर्न आउने अधिकांश विदेशी पर्वतारोहीले हिउँको कमीलाई प्रत्यक्ष देखेको अनुभव सुनाउने गरेका छन् । कतिपयले आधार शिविरदेखि माथिल्ला क्याम्पसम्म पुग्ने क्रममा अपेक्षाभन्दा कम हिउँ देखिएको भन्दै कतिपय आरोहीहरुले आफूसँग चासो देखाएको फुर्वा बताएछन् । केही स्थानमा दशकअघिको तुलनामा उल्लेखनीय परिवर्तन देखिएको उनको आफ्नै अनुभव पनि छ । सगरमाथाको भू–दृश्य नै बदलिँदै जाने गरी आएको परिवर्तनलाई सामान्य रुपमा लिन नहुने उनको भनाइ छ ।

सगरमाथालगायत नेपालमा रहेका हिमालमा आउने परिवर्तनले पर्वतारोहीको आगमनमा कमी ल्याउने मात्र होइन, यसले आर्थिक पक्षलाई नराम्ररी प्रभावित गर्दछ । नेपालको महत्वपूर्ण आयस्रोतका रुपमा रहेको हिमालमा पर्यटकमा आउने ह्रासले स्थानीयवासीको रोजीरोटीमा असर पार्नुका साथै मुलुककै अर्थतन्त्रमा समस्या आउनसक्छ ।

यसैवर्ष नेपालले सगरमाथाबाट रोयल्टीबापत रु एक अर्ब आठ करोड १० लाख ७२५ समेत गरी कुल ३१ हिमालबाट रु रु एक अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ प्राप्त गरेको थियो । यस वर्ष छ हजार ५०० मिटरभन्दा अग्ला हिमालको आरोहणका लागि ७९ देशका एक हजार १९५ आरोहीले अनुमति लिएका थिए ।

परिवार नै सगरमाथा शिखरमा

छिरिङ नोर्बु शेर्पा र किमजुङ शेर्पाका छोरा फुर्वा तेञ्जिङका छ दाजुभाई तथा दुई दिदीबहीनीले सगरमाथाको आरोहण गरेर ‘गिनिज वल्र्ड रेकर्ड’ बनाएका छन् । तेञ्जिङका जेठो दाजु पेम्बा ग्याल्जेन शेर्पा, माहिलो दाजु फुर्वा थुन्डु शेर्पा, साइँलो दाजु पेम्बा दोर्जी शेर्पा, काइँलो दाजु निमा ग्याल्जेन शेर्पा, कान्छो भाई फुर्वा खिले शेर्पा, दिदी दावा दिकी शेर्पा र बहिनी निमा ल्हामु शेर्पाले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

एउटै सिजनमा उनका परिवारका चार सदस्यले सगरमाथा आरोहण गरेर अर्को विश्व रेकर्डसमेत बनाएका छन् । हिमाल आरोहणकै क्रममा उनको माइलो दाजु फुर्वा थुन्डु शेर्पाको मृत्यु भयाे । सन् २००७ देखि अनवरत रुपमा हिमाल चढ्दै आउनुभएका फुर्वा तेञ्जिङले सन् २००८ र सन् २०१७ मा वर्षको दुईपटक सगरमाथा आरोहण गरे।

आरोहणसँगै फुर्वाले सामाजिक क्षेत्रमा पनि सक्रिय योगदान पुर्याउँदै आएका छन् । गोरखा भूकम्पपछि उनकै नेतृत्वमा सञ्चालित ‘वी विल राइज फाउन्डेसन’ले नेपालको पर्यटन प्रवद्र्धनमा पुर्याएको योगदान महत्वपूर्ण छ । सन् २०१५ को भूकम्पपछि स्थापना भएको यस फाउन्डेसनले ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगितामार्फत स्थानीय पर्यटनलाई उजागर गर्दै आएको छ । साथै हङ्कङ र बेलायतमा ‘हाइक फर नेपाल’जस्ता कार्यक्रम आयोजना गरी विश्वभर नेपालको पर्यटनको सन्देश फैलाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २७ गते बुधबार