गर्मी बिदामा पनि पढाइ रोकिएन, शिक्षक पुगे विद्यार्थीको घरदैलोमा



हेटाैँडा ।

गर्मीका कारण नेपाल पुलिस स्कुल शान्तिपुर चितवन बन्द भएको छ । बढ्दो गर्मीका कारण पुलिस स्कुल शान्तिपुरमा बिदा दिइएको हो । अत्यधिक गर्मी बढेसँगै दैनिक पठनपाठन सञ्चालन गर्न कठिनाइ भएर विद्यालयले गर्मी बिदा दिएको हो । शनिबार र आइतबारको छुट्टी समेत गरी गर्मी बिदामा विद्यार्थीहरू ९ दिन बिदा दिइएको हो ।

विद्यालय बिदा भएपछि विद्यार्थी आ–आफ्नो घरमा बसेर गृहकार्य तथा अध्ययन कार्य गरिरहेका छन् । विद्यार्थीहरूको अध्यापन कार्यालय सघाउन पुलिस स्कुल शान्तिपुरले शिक्षकहरू विद्यार्थीहरूको घर घरमा निगरानीका लागि पठाएको छ। विद्यार्थीहरूको घरघरमा पुगेर दैनिक गतिविधि, गृहकार्य, आचरण व्यवहार, अध्ययनको  वातावरण लगायतका विषयमा जानकारी दिने गरेको छ ।

विद्यार्थीहरू घरमा बस्ने भएकाले शिक्षकहरूलाई विद्यार्थीहरूको घरघरमै पठाएर अध्ययन एवं गृहकार्यमा सहजीकरण गर्ने गरी स्कुले शिक्षक–शिक्षिकाहरूलाई परिचालन गरेको पुलिस स्कुल शान्तिपुरका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए । उनका अनुसार कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई बिदाको समयमा समेत अध्ययन गतिविधिमा संलग्न गराई राख्न स्कुलले विद्यार्थीहरूलाई विभिन्न गृहकार्य, कार्यपत्र तयार गर्ने, व्यवहारिक अभ्यास गर्ने जस्ता गतिविधिमा सक्रिय गराएको छ ।

स्कुलले दिएको कार्य गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाई राख्न तथा सहजीकरण गर्न विद्यार्थीको घर घरमा शिक्षकहरू परिचालन गरिएको उनले बताए । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई उसको अध्ययनको अवस्था, विद्यार्थीका अभिभावकले विद्यालयसँग गर्ने गरेको गुनासो, विद्यार्थीको पढाई प्रतिको अभिरुचि लगायतका कारण विद्यार्थीहरूको समूह विभाजन सहित शिक्षक कर्मचारीहरूलाई होम भिजिटमा परिचालन गरिएको प्रहरी निरीक्षक थापाको भनाई  छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार